ब्लग

गरिबीले थिचोलेको 'जिन्दगी'

गरिबीले थिचोलिएका दिवानाथ र गोमा। तस्बिर:गणेश/नागरिक

नेपालगन्ज–कोहलपुर सडक खण्ड अन्तर्गत गोच्छानेर सडक छेउमा एउटा सानो टहरा छ।

जुन टहरा, चार वटा बाँसका खम्बाले अडेस लागेको छ भने जस्तापाता (टिन) ले ढाकिएको छ। भित्ता बनाइएको छैन। हावा आउँदा न हावा छेक्छ न त वर्षामा पानी नै छेकिन्छ। मात्र सूर्यको किरण थोरै भए पनि छेक्छ। टहरालाई अडेस दिएको एउटा बाँसको खम्बामा सुरक्षाका लागि कुकुर बाँधिएको छ। त्यसमा ६९ वर्षीय दिवानाथ सिग्देल, श्रीमती गोमा र दुई छोराले आश्रय लिएका छन्।

समय हिँडिरहन्छ। समय हिँडेपछि तपाईँ बस्नुहुन्न। हिँडेपछि गन्तव्य पुग्न पनि सकिन्छ, नपुग्न पनि। पुग्नु वा नपुग्नुले मान्छेमा आशा र निराशाको भाव बोकाइदिन्छ। आशा तपाईँमा भयो भने खुसी बोकेर जिन्दगीमा तपाईँ हिँड्नुहुन्छ। निराश बोक्नुभयो भने तपाईँ कतै हराउनुहुन्छ, जिन्दगीबाट ठगिएको महसुस गर्दै विश्राम लिन सक्नुहुन्छ! दिवानाथको जीवन पनि यही सेरोफेरोमा रुमलिएको छ। 

उनको कठिनाइपूर्ण यात्राले गरिबीको चित्र रेखा लिपिबद्ध गर्छ। गरिबीको मुक्तिका लागि दिवानाथले कयौँ सङ्घर्ष गरे। भारतीय भूमिमा रगत पसिना बगाए। तर, पनि गरिबीबाट उनले छुटकारा पाएनन्। तनहुँ किउकाबाट २०४६ सालमा उनका बुवा नन्दलाल बसाइँ सराइ गरी कैलाली पुगे। जहाँ रोजगारी पाइने र छोराछोरीको पालनमा टेवा पुग्ने नन्दलालको आशा थियो। तर, कैलाली झरेको ६ महिनामै नन्दलालको दुःखद निधन भयो। त्यसपछि परिवारको अभिभावकत्व दिवानाथको काँधमा सर्‍यो। धनगढीबाट टिकापुर आउने हुलाकी राजमार्गमा पर्ने फूलबारीमा एउटा घर थियो। 

राजमार्ग निर्माण गर्दा उक्त घर सबै राजमार्गमा पर्‍यो। भएको एउटा सानो घरजग्गा पनि सडकमा परेपछि दिवानाथको परिवार भूमिहीन भए।

‘घरमा सानो पसल थियो। त्यो पसलबाट दिन गुजारा गर्न समस्या थिएन,’ दिवानाथले भने, ‘घर सडकमा परेपछि केही सीप भएन। घरसँगै पसल पनि गयो। पुनः पसल गर्ने सामर्थ्य पुगेन। अनि कमाइ पनि हुन छाड्यो।’

२०४६ सालदेखि २०६१ सम्म उनले कैलालीमा जेनतेन दैनिकी निर्वाह गरे। आम्दानीको स्रोत नभएपछि उनी परिवारसहित २०६२ सालमा कोहलपुर पुगे। कोहलपुर आउनुभन्दा केही महिना अघि मात्र दिवानाथकी आमा ललितादेवीको निधन भएको थियो।

कोहलपुर आएर उनले कृषि मेलामा तरकारी व्यवसाय सुरु गरे।

‘सुरुमा तरकारी बिक्री वितरण गथ्र्येँ। खान लगाउन मात्र ठिक्क हुन्थ्यो,’ उनी भन्छन्, ‘अरूको जस्तो बेइमानी नगरी व्यापार गर्दा पैसा बचत गर्न सकेनौँ।’ 

तरकारी पसलबाट आम्दानी हुन छाडेपछि उनले मासु पसल सञ्चालन गरेका थिए। जति बेला उनी अहिले बसी रहेको स्थान गोल्छा बसाइँ सारेका थिए। गोल्छामा सामान्य जंगल थियो। बस्ती थिएन। नेपालगन्ज–कोहलपुर सडक साँगुरो थियो। त्यति बेला मासु पसल राम्रै चल्थ्यो। 

‘सुरुमा मासु पसल राम्रै चल्थ्यो,’ उनी भन्छन्, ‘सानो लगानीको पसलबाट परिवारको दैनिकी चलाउन मात्र आम्दानी हुन्थ्यो।’ त्यही पसल गर्दा २०७२ सालमा उनकी श्रीमती गोमालाई मोटरसाइकलले ठक्कर दियो।

‘पसलमा मासु सकिएको थियो। उनी मासु लिन सडक क्रस गरेर कुखुरा ल्याउन गएकी थिइन्,’ उनले भने, ‘कुखुरा लिएर फर्किँदा मोटरसाइकलले ठक्कर दियो।’ त्यति बेला गोमाको दायाँ खुट्टा भाँचियो। अहिले गोमाले अपाङ्ग जीवन बिताइरहेकी छिन्। श्रीमान्लाई सामान्य घरायसी काममा सहयोग पुर्‍याउँछिन्।

अहिले गोल्छा सहरीकरण हुँदैछ। जसरी गोल्छा विकासोन्मुख हुँदैछ त्यसरी नै दिवानाथ र गोमाको उमेर पनि ढल्किँदै छ। गोल्छामा घर बढे। पसलहरू छ्यापछ्याप्ती भए। मासु पसल पनि बढे। जसले दिवानाथको अवस्था पहिले जस्तै भयो। अहिले आफू बस्ने ठाउँमा सानो मासु पसल थापेका छन्, तर ग्राहक आउँदैनन्। दैनिक एक/दुई केजी मासु बिक्री गर्छन् जसले दैनिक गुजारा चलाउनै हम्मे हम्मे हुन्छ। यति मात्र होइन, उनीहरू असुरक्षित रूपमा रात बिताउँछन्। सडक छेउमै बसेका उनीहरू अहिले त असुरक्षित भएको महसुस गर्दैनन्। 

‘सडक छेउमा ढोका नभएको नबारेको ठाउँमा बस्दा धेरै डर त्रास लाग्थ्यो,’ गोमा भन्छिन्, ‘अहिलेसम्म त्यस्तो कुनै अप्रिय घटना भएको छैन। आजभोलि त्यस्तो आभास भएको छैन।’ बर्खामा सुत्ने ठाउँसम्म पानी पुग्ने भन्दै उनले भनिन्, ‘सुत्ने ठाउँमा पानी पुगे पनि सर्प आएका छैनन्।’

साँच्चै नेपालीहरू जहाँ हुन्छन् उनीहरू मानवीयताको सवालमा भने आत्मीय लाग्छन् त्यसैले त अभावको जिन्दगी जिउनेहरूको लागि उनीहरूको सहयोग वास्तविक मलहम बनेको छ। दिवानाथ र गोमा यही मलहमको प्रतीक्षामा छन्।

प्रकाशित: ६ फाल्गुन २०७९ ०९:५४ शनिबार