गुटुटुटुटु ... भुटुटुटुटु ... डुङडुङ डुङडुङ ...
हो, सोमबार साँझ यस्तै अनुभव भयो।
साँझको सात बजेको समय। निलो माइक्रोबसमा घर जाँदैथेँ। सधैंजसो मित्रपार्कनिर जाममा परियो। जाममा पर्नु के थियो, एक्कासि मुसलधारे पानी पर्न थाल्यो। गाडी बीचसडकमा छ। फटाफट गाडीको सिसा लगाएँ। सिसा बाफले गुम्म भयो। यस्सो सिसा पुछेर बाहिर हेरेँ - पानीभन्दा असिना पो दर्किरहेको छ बा!
जाम कायमै छ। असिनाको आवाज यति ठूलो थियो कि कानको जाली नै छेड्लाजस्तो। असिनाले होचो, सानो, कुचुक्क परेको माइक्रोबसको छत त पक्कै छेड्लाजस्तो लागेको थियो। माइक्रोबस नै डल्लो पर्लाजस्तो भो। त्यो आवाज सहन नसकेर दुवै हत्केलाले कान थिचेको थिएँ। म ड्राइभरसँगैको सिटमा थिएँ। यस्सो पछाडि हेरेको त सबैजना मजस्तै दुवै हत्केलाले कान थिचिरहेका। ढोकाको प्वालबाट एक थुप्रो असिना भित्र छिरिसकेको रहेछ।
लौ अब जीवनै, संसारै सक्कियोजस्तो लागेको थियो। चारैतिरबाट एकैठाउँमा ताकेर एकोहोरो गोली चलाइएको अवस्थामा के जीवनको अपेक्षा गर्न सकिन्छ र? त्यस्तै अनुभव भयो हामी यात्रीलाई। एक यात्रुले लख काटे, 'यो असिना-पानीले धेरै क्षति पुर्याएको हुनुपर्छ।' हुन पनि यही असिना-पानीले रुख र होर्डिङ बोर्ड ढल्दा थुप्रै सवारीसाधनमा क्षति पुगेको खबर त्यही रात सञ्चार माध्यमहरूले दिए।
त्यो त्रासद आवाज करिब दस मिनेट कायम रह्यो। बहिनीले घरबाट फोन गरी, 'दादा, तँ कहाँ छस्? यता ठूलो पानी पर्या छ। अफिसतिरै बस्दै गर्।'
मैले भनेँ, 'म आउँदैछु - बाटोमा - जाममा।'
'बरु छाता लिएर मलाई लिन बाटोमा आइज,' मैले थपेँ।
त्यतिन्जेलसम्म पानी रोकिइसकेको थियो। असिना बर्सा पनि थामिइसकेको थियो। जाम खुलिसकेको थियो। तर त्रास कायमै थियो - असिनै असिनाको सडकमा गाडी चिप्लिन सक्थ्यो। मैले यसो ड्राइभरको अनुहार हेरेँ - अझै टिनएजमा छन् जस्ता देखिन्थे।
गफ दिइहाले, 'एकचोटि लेकमा फो-ह्विल लिएर गाको। यस्तै भाथ्यो त्याँ पनि।'
तै तिनले सुरक्षित अवतरण गराए। भयानक क्रसफायरबाट जोगिएको अनुभव भयो।
बाटोमा असिनाको थुप्रैथुप्रो देखियो। गाडीका छतहरूमा असिनाको थुप्रो। सडकको छेउछेउ असिनासहितको पानी कुलो लागेको। मोटरसाइकलधनीहरू बाहन छोडेर घरपसलमा ओत लागेका। सडक, पेटीहरू पुरै सेताम्मे। कोही टालिएको ढल खोतल्दै थिए। कति केटाकेटी असिनाको बर्सातलाई उत्सव मानेर रमाइरहेका देखिए। हुन पनि सडक र पेटीमा ढिके नुन पोखिएजस्तो थियो। बाक्लो न बाक्लो।
ठाउँठाउँका सडक चुर्लुम्मै डुबेको देखियो। जस्तो मित्रपार्क, चाबहिल, चुच्चेपाटी, बौद्ध। सायद ढल थुनिएर। अघिल्लो दिनमात्र खेलिएको होलीमा प्रयोग भएको प्लास्टिकको लोला ढल थुनिनुको कारक हुन सक्छ। यसको हेक्का लोला खेल्नेहरूले कहाँ राखेका थिए र?
बौद्ध-जोरपाटी सडक यसै वर्ष पिच भएको हो। त्यही पिचमा यसरी पानी जम्ने हो भने पिच कति दिन टिक्ला? सोमबारको असिना-पानी त संकेत मात्र हो। सिंगो बर्खा धान्नै छ यो सडकले!
प्रकाशित: १८ फाल्गुन २०६६ ०६:२४ मंगलबार