ब्लग

मिडिया र मधेस आन्दोलन (ब्लग)

मधेस आन्दोलनका कारणले काठमाण्डौं केन्द्रित मिडिया मधेसको सही रिर्पोटिङ गर्दैनन् भन्ने आरोप छ भने मधेसका मिडियाले पनि आचारसंहिता उल्लंघन गरिरहेका छन्। यी दुबै कारणले पनि मिडियाकर्मी तारो बनेका हुन्। जुनसुकै आन्दोलनको पहिलो निशाना सरकारप्रति लक्षित हुन्छन भने दास्रोमा पत्रकारिता क्षेत्रलाई नै उनीहरुले टार्गेट गर्छन्।

नेपाली आन्दोलनकै इतिहास हेर्ने हो भने। तत्कालीन राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिनुअघि काठमाडौंको मात्र हैन, मोफसलका मिडिया हाउसमा पनि हतियारधारी सेना पठाए। कलमले सम्पादन हुने समाचारका अक्षरहरु बन्दुकको बलमा केरमेट गर्न लगाइयो । ०६२\०६३ को जनआन्दोलन अघि पत्रकारिता क्षेत्र नै दुई खेमामा विभाजित भए। एउटा आन्दोलन पक्षधर र अर्को राजा पक्षधर। काठमाडौंमा मात्र होइन, जिल्ला–जिल्लामै पनि त्यस प्रकारको संगठन बनाइयो।

जतिसुकै स्वतन्त्र पत्रकारिताको कुरा गरेपनि राजनीतिसंग नराम्ररी गाँसिएर बसेका छौं। आफ्नो आस्था र विचारको आधारमा पत्रकारले प्रायजसो सबै राजनीतिक मुभमेन्ट र घटनाक्रमलाई पार्टीकै नजरले हेरिदिँदा स्वतन्त्र पत्रकारिता कतै कमजोर हुन थालेको त होइन भनेर हेक्का राख्दैनौं। हामी यहीनिर चुकेका छौं।

लामो मधेस आन्दोलन र सीमा नाकामा भइरहेको अवरोधले सिंगो मुलुक प्रताडित भइरहेको बेला पत्रकारिता क्षेत्र पनि अछुतो रहनै सक्दैन। तेस्रो मुलुकबाट समयमै कागज आउन नसक्दा विराटनगर र इटहरीबाट प्रकाशित हुने अखवारहरु कति दिन प्रकाशनै हुन सकेन्।

मिडियामा अहिले भइरहेको सेल्फ सेन्सरसिप डर, त्रास, भय नै देखाएर भइरहेको जस्तो लाग्दैन्। सेल्फसेन्सरसिप गर्नु पछाडी पत्रकारलाई उसको राजनीतिक आस्था र विचारले प्रेरित गरिरहेको छ। जुन स्वतन्त्र पत्रकारिताको लागि कदापी सुखद होइन्। समस्या कहाँनिर छ, भने आन्दोलनकारीले आफ्ना सबै गतिबिधि समेट्न दबाब दिन्छन्। हामी आफ्ना अनुकुलको गतिविधिलाई मात्रै समाचार बनाइदिन्छौं।

त्यति भन्दैमा आन्दोलनको क्रममा भएका सबै गतिविधिलाई समर्थन गरेर समाचार पस्कनु र आन्दोलनको क्रममा सुरक्षाकर्मीबाट भएका सबै गतिविधिलाई ठिक हो भन्नु, दुबै पत्रकारिताको धर्म होइन् । खासगरी, आन्दोलन बढी चर्केको जिल्ला सप्तरी, सिरहा र धनुषाका पत्रकारले सेल्फसेन्सरसिप होइन्, पत्रकारिताको स्वतन्त्रतालाई अलि बढी नै उपभोग र प्रयोग गरिएको देखिन्छ। जनआन्दोलनमा हजारलाई १० हजार भनेकै कारणले पनि हरेक आन्दोलनकारीले मिडियासित त्यही अपेक्षा राख्नू स्वभाविक हो। मोरङ र सुनसरीका पत्रकारसित आन्दोलनकारीले समाचार आएन भनेर प्रस्ततै गुनासो गरेको देखिन्छ। त्यो गुनासोको पछाडि दुइटा कारण हो। एउटा, समाचार आएपनि सानो, भित्र किन हालेको भनेर चित्त दुखाउनु। र, दोश्रो, आन्दोलनकारीको अनुकुलको समाचार नहुनु । दबाब र प्रभावमा पर्दा सेन्सरसीपको खतरा यहीबाट सुरु हुन्छ ।

आन्दोलनप्रति कुन न कुनै रुपमा झुकाव राख्ने पत्रकारले स्वतन्त्रतालाई अलि बढी उपयोग गरेको र फरक मत राख्ने पत्रकारले आन्दोलनको समाचारमा स्वतन्त्रतालाई अलि संकुचित पारेको सत्य हो । आन्दोलनप्रति झुकाव र फरक मत राख्ने दुबैथरि पत्रकारितालाई सेल्फसेन्सरसिप भन्नु भन्दा पनि स्वतन्त्र पत्रकारिताको भावना र स्प्रिट विपरित हो भन्नु न्याय होला ।

प्रविधिमा मिडिया क्षेत्रले फड्को मारिरहेको बेला कसैले पनि यो दृश्य देखा यो न देखा भन्नु हास्यास्पद हुन्छ । मिडियाले देखाएको दृश्य र लेखेको समाचारकै कारण आन्दोलन नियन्त्रण बाहिर जाने र समाजिक सद्भाव बिथोल्निे सोच्नु गलत चिन्तन हो। पत्रकारिता एउटा जिम्मेवार पेशा हो, उसले आफ्नो गरिमा राख्न जानेका छन्। तर, एउटा सत्य के हो भने, पत्रकारिता क्षेत्रले दबाब दुबैतर्फ (राज्य र आन्दोलनकारी)बाट पाइरहेका छन् । तर, कसले किन र के कारणले यसो नगर्नु, उसो गर्नुस भनेर दबाब दिन्छन, उसको मनसाय बुझ्नु पर्छ ।

मधेस आन्दोलन लम्बिदै गएपछि सद्भाव र्यालीको नाममा विराटनगरमा गरिएको प्रदर्शनमा नेपाल पत्रकार महासंघ मोरङको ब्यानर नै देखियो। संयुक्त बिज्ञप्तिमा मोरङ अध्यक्ष महेन्द्र बिष्टको हस्ताक्षर नै थियो। मोरङका पत्रकारहरुसित सल्लाहै नगरी महासंघले गरेको उक्त निर्णयको आलोचना मात्र भएन्, कार्यसमितिको बैठकमा छलफलसमेत गरियो।

आन्दोलनकारीलाई पत्रकारप्रति आक्रोस पोख्ने महासंघ मोरङको निर्णय गतिलो कारण बनिदियो। लगत्तै मकालु टेलिभिजनका पत्रकार नविन कर्ण र गोरखापत्रका संवाददाता जितेन्द्र ठाकुर चढेको मोटरसाइकल आन्दोलनकारीले जलाइदियो । दुबै पत्रकार बल्लतल्ल घटनास्थलबाट जोगिएर फर्के । पत्रकार महासंघकै कार्य समिति सदस्य पद्म सरदारलाई आन्दोलनकारीले बाटोमै छेकेर महासंघको निर्णयप्रति आपत्ती मात्र जनाएनन्, आक्रोस समेत पोखे। अर्का पत्रकार पवन साहको मोटरसाइकल कटहरीमै तोडफोड गरियो।

मोरङ महासंघ त्यतिमा मात्रै सिमित भएनन् । अखण्डको आन्दोलनमासमेत हस्ताक्षर गरे । सहभागि नै भए । यी सब कारणले पनि आन्दोलनकारी उत्तेजित र मिडियाकर्मी आक्रमणको शिकार भए । मानव साङलो निस्केको भोली पल्टको अखवार हेर्ने हो भन्ने प्रायजसो सबै राष्ट्रिय पत्रिकाले पहिलो पेजमै तस्बिर र समाचार छापेका छन्। तर, सप्तरी जागरण साप्ताहिकले बिदेशी च्यानलले प्रभाथमिकताको साथ देखाएको मानव साङलोको समाचार नेपाली मिडियाले प्राथमिकता नदिएको भन्दै टिप्पणी नै प्रकाशित गरे ।

सप्तरी जागरणले यो धारणा बनाउनुमा एउटा गतिलो कारण छ । जुन आन्दोलनकारीकै कारण श्रृजित भएको छ । काठमाण्डौं र विराटनगरबाट छापिएका पत्रिका वितरणमा मधेसमा अबरोध गरिएको छ । त्यही भएर मानव साङलोको समाचार र तस्बिर छापिएको पत्रिका त्यहाँ पुगेन । समस्या पूर्वाग्रही सम्पादक र मिडियाको मात्र हो जस्तो लाग्दैन । सोच पनि हो। जुन दुबैतर्फको बदलिनुपर्छ। आन्दोलनकारीको पनि मिडियाकर्मीको पनि ।

प्रकाशित: ८ पुस २०७२ २३:०६ बुधबार