बालकृष्ण गजुरेल
१) ग्रहण
बाले दिउँसो बाहिर नहिंड्न उर्दी जारी गर्नुभयो,‘भोलि बाहिर नहिंडेस् है, बाबू। खान पनि हुन्न। घरभित्र बस्नु।’
ज्योतिषशास्त्र विज्ञानको रूप थियो। विज्ञान नमान्ने को थिए? सबै मान्दथे। प्रमाणित विषय नमान्ने पनि कसरी? म बढी अचम्ममा परें। नेपाली जनता सबैलाई यी विषय थाहा भएकै हुन्थे। मान्दथे पनि।
खाना पकाएँ। खाएँ। साँझ परेपछि बालाई सोधें, ‘बा भोट केमा दिने? महंगी रोज्ने कि समाधान? आफ्नै औंलाले देश बेच्ने कि जोगाउने? आफ्नो औंलाले भ्रष्टचार गर्ने कि नेतालाई दोष लगाउने?’
बा यो विषयमा अलिकति पनि गम्भीर हुनु भएन। बरु म बाको आदेश पाएपछि बढो गम्भीर बनें।
फिस्स हाँसेर भन्नुभयो, ‘तँ नाथेले सिकाउनुपर्छ? पहिलादेखि जस्लाई भोट हालियो उसैलाई हाल्ने।’
मलाई कताकता बाको विषय मन परेन। बा मन परे पनि यो पालि बाको आत्मनिर्णय मन परेन। अलिकति रिसाएको पारामा भनें, ‘एकछिन लाग्ने ग्रहणदेखि धेरै चिन्तित देख्छु। बा, भोट दिंदा सोच्नुस् है नत्र जीवनभरि ग्रहण लाग्नेछ।’
२) माग्ने
राजन पनेरु सानैदेखि मेहनती थिए। उनको ब्याजका छात्रछात्रा सर्वेत्कृष्ट ठहरिए। पाँच कक्षा सकियो। नृत्यदेखि अतिरिक्त क्रियाकालापमा अब्बल। अध्ययनमा सर्वेत्कृष्ट। विद्यालयले योजना सहित चार कक्षाबाट विद्यार्थीहरूलाई देशको गहना बनाउन भरपूर लागिपर्यो। सायद यस्तो विद्यालय देशभरिमै एउटा मात्र थियो होला। नत्र सरकारी विद्यालयमा शिक्षकहरू त्यत्तिकै समय बिताउन मन पराउँथे। एसइई सकियो। विद्यालयले उच्च प्राविधिक तथा देशको गहना बनाउन भरपूर कोसिस गर्यो।
एक छात्र पढ्नमा अब्बल रहे पनि उसको मन उक्त क्षेत्रभन्दा बाहिर रहेको कलेज प्रमुखले नोटिस गरे। धेरै महिनापछि निरन्तर ध्यान दिंदै गइयो। छ महिना बिते तर खासै असर देखापरेन।
कलेज प्रमुख चिन्तित बनेर सोधे, ‘राजन बाबू, तपाईं पढाइमा अब्बल हुनुहुन्छ। हाम्रो योजना देशकै उत्कृष्ट व्यक्तित्व बनाउनु हो। विज्ञान विषयमा खासै रुचि देख्दिनँ। भन्नुस्, के बन्न चाहनुहुन्छ?’
परिवारको चाप डाक्टर बनाउने थियो। कलेजले पनि उनको चाह विज्ञान विषय पढेर डाक्टर बन्न सक्ने छाँटकाँट देखेन। उनले आफ्नो रहस्य खोल्नुपर्ने बाध्यता भयो।
उनले साहस गरेर भने,‘गुरुजी, म गायक बन्न चाहन्छु।’
कलेज प्रमुखले रिसाउँदै भने, ‘हैट, राजनीति नेता जस्तै माग्ने बन्ने! चुनावमा समेत माग्नलाई बैंक अकाउन्टको क्यू आर कोड तेर्स्याउँछन्। माग्नेहरूले जिते पनि केही गर्न सक्दैनन्।’
३) घोषणा-पत्र
विनयको जीवन व्यस्ततामा बित्यो। जब उमेरले बत्तिस टेक्यो घरबाट बिहेको आवाज गुञ्जिन थाल्यो। जीवनसंगिनी बिनाको यात्रा नुन नलागेको सब्जी जस्तो। यो बाध्यता हो या आवश्यकता यसै भन्न सक्दैनथे। प्रेम-सेममा अल्झिएर सुनौलो जीवन खेर फाल्न चाहेनन्। तीस नकट्दै उनले प्रशस्तै नाम तथा दाम कमाए। त्यहाँमाथि आकर्षक व्यक्तित्व। अरू के चाहियोरु सबैका विरलै हुन्थ्यो।
अचानक बिहेको कुरो आयो भिनाजुबाट। सबै आफन्त भेला भएर केटीको घरमा गए।
‘जोडी भगवानले बनाउँछन्’ भन्ने अर्थ साकार भयो। युवती पनि बैंकको म्यानेजर। तेइस वर्षमा यति ठूलो सफलता। सफल नारीमा नै गनिन्थिन्। धपक्कै बलेको रूप थियो। सहजै युवाहरूले हलाल गर्न सक्दैनथे। बिहेको विषय अघि बढ्यो। आफन्तहरुले कुरा सके। अन्त्यमा युवा तथा युवतीहरू बिच कुरा गरून् भनेर छुट्टै कोठामा लगियो। इन्गेज्मेन्ट हुनै लाग्दा पनि औंठी तथा सिक्री लैजान भुलिएछ।
युवतीले सोधिन्,‘म स्वस्थ हुँदा आवश्यक पैसा म आफैं कमाउँछु। हजुरको कुनै आवश्यक छैन तर सन्तान हुँदा या बिरामी पर्दा हजुरको आवश्यक हुन्छ। अब भन्नुस्, मेरा लागि के गर्न सक्नुहुन्छ?’
विनयले सिलिङतिर आँखा घुमायो र भन्यो, ‘तिमी भन मात्र म जे पनि गर्न तयार छु। आकाशको तारा झार्न सक्दिनँ। बाँकी सबै गर्छु। यी धन तिम्रै खुशीका लागि कमाएको हुँ।’
युवतीले आफ्नो स्थान ग्रहण गर्दै खवरदारी गरिन्, ‘आजदेखि म हजुरको हुन्छु। बिहेपछि मेरा लागि सबैथोक हजुर हुनु हुनेछ तर राजनीति दलका घोषणापत्र जस्तो नहोस्। घोषणा गर्दा सक्ने नसक्ने गर्छु भन्ने। कार्यान्वयन पक्ष शून्य।’
४) असहयोग
रामकृष्णले मानव अधिकारको वकालत गरे, ‘हामी जनताको हक-अधिकारको पक्षमा छौं। हामी अधिकार सुनिश्चित गर्न चाहन्छौं।’
हरेक मानव अधिकार कार्यक्रममा उनी अग्र भागमा देखापर्थे। सबैले उनको जयजयकार गरे। लाग्थ्यो,‘उनी मानव अधिकारकर्मी हुन्। पीडित जनताको अधिकार सुनिश्चित गर्छन्।’
डलरमा आफैंलाई बेच्नेले के गर्नु? उनले नेपाली संस्कृति तथा वैदिक पद्धति गलत भने। दशैंको प्रथा गलत ठहराए। टुटेफुटेका मार्क्सवादी दर्शन पढे। राम्रैसँग पढेको भए कसैले निषेधित विचार पौख्दैनथ्यो होला। अरू दर्शन तथा विचारले प्रश्रय पाउँथ्यो कि तर उनी प्रगतिशील लेखकको ठेक्का सम्हाल्न पुगे। हुन त प्राकृतिक स्रोतको दोहन गर्ने, ठग्ने र कुम्ल्याउने नेता छन्। उनी तिनकै संरक्षक।
आपत परेर छिमेकी शहरमा पैसा माग्न गयो र हजुरी टक्रायो, ‘लौ न हजुर, यो वर्ष हामी निकै अप्ठेरोमा छौं। पहिरोले उठीवास लगायो। ऋण दिनुपर्यो।’
उनको आवाज फुटेन।
महिनौ दिनपछि डेगु प्रकोपमा गाउँको छिमेकीको मृत्यु भयो। उनले मृत्यु हुने उक्त छिमेकीको श्रीमतीसँग भने, ‘म तिमीहरूलाई सहयोग गर्न तत्पर थें। समय मिलेन।’
५) डुब्न लागेको घाम
देवीप्रसादले जवानीमा धेरै कष्ट सहे। भारी बोके। नबोके के गर्नु? ज्याला धेरै कम थियो। जहान -परिवारको पेट पाल्नै पर्ने। मेहनत गरेर बच्चाहरूलाई कपडा ल्याइदिन्थे। बालबच्चा बाबाले ल्याएको नाना भनेर उफ्रिंदै गाउँमा पुग्थे। उनलाई धन्य लाग्थ्यो। गहभरि आँसु भरिन्थ्यो। हिराझैं चम्कन्थ्यो। मेहनतमा विश्वास थियो। आफ्नो परिश्रममा यकिन थियो। उनले भनेको कसैले नकार्दैन थिए। त्यो बेलाका ठूलै मन्त्रीहरू पनि सुन्थे।
मेलम्चीले घर-खेत लग्यो। वडाध्यक्षले मन्दिर छेउमा राखे। बस्ने घर थिएन। खाने अन्न थिएन। पुराण लगाउन उनलाई उक्त आश्रमबाट निकालियो। उनका विपक्षी मिलेर पीडितलाई घोक्रे ठ्याक लगाइदिए। खोई के पुण्य पाउँछन्? तिनीहरू नै जानून्। पीडितलाई अपहेलना गरेर लगाइएको पुराण तथा भजन एउटा मनोरञ्जन मात्र हुन्छ भन्ने उनले अड्कल काटे। तर अति नै दयनीय अवस्था पार गरेपछि देवीप्रसाद गाउँपालिका पुगे। संसदलाई भेटे। मन्त्रीहरुलाई भेटेर गुहारे। उनको चीत्कार कस्ले सुन्ने? यो लुटको दुनियाँमा कमिसन नटक्राउने पीडितहरू सबैको अपहेलित पात्र हुने नै भए।
चुनाव घोषणापछि केही हुल लिएर प्रत्याशी उम्मेदवार एकपछि अर्को गरेर देवीप्रसाद कहाँ भोट माग्न आए। हात जोड्दै भने, ‘यसपालिको चुनावमा भोट दिएर जिताउनुपर्यो।’
उनी आफै बुढ्यौलीमा लागेका थिए। एकछिन सबैलाई नियाले। अपत्यारिलो लागेपछि उनले भने, ‘बाबू, विश्वास गर्न कठिन छ आजकाल। समाजवाद भनेर महंगी तथा कर टक्राउँछन्। जनताको आस्था डुब्न लागेको घाम भयो। बरु सिक्किम बेस।’
प्रकाशित: २६ कार्तिक २०७९ ०५:५४ शनिबार