कला

सिपाहीको सम्झनामा दोस्रो विश्वयुद्ध

संस्मरण

दोस्रो विश्वयुद्धमा सामेल हुन टुँडिखेलमा जम्मा भएका नेपाली सेना।

सिन्धुपाल्चोक जिल्ला साबिकको पीपलडाँडा गाविस, वडा नं. ३ पीपलडाँडा चिसापानी निवासी २०६० साल वैशाख २४ गते ८१ वर्ष लागेका अवकाश प्राप्त सिपाही तोपबहादुर खत्री महेन्द्र दल गणबाट दोस्रो विश्व युद्धमा लड्ने एक जीवित इतिहास थिए। पहिलो विश्वयुद्धमा नयाँ गोरख गणबाट खटिएका सिपाही वीरबहादुर खत्री र श्रीमती जगकुमारी खत्रीका जेठा छोरा तोपबहादुरको जन्म १९७९ साल साउन १५ गते भएको थियो। उनका ४ छोरा १ छोरी छन्।

पदमबहादुर १९९८ साल भाद्र २६ गते काठमाडौंको कम्पुकोतमा रहेको सिंहनाथ गणमा भर्ना भएका थिए। उनको पट्टि नं. ७/४१, महिन्द्रदल गणको नं. १०८४ र श्रीनाथ गणको ६/१० मा रही काम गरे भने दोस्रो विश्व युद्धमा बर्मा फ्रन्टमा लडाइँ लड्दा घुँडामा चोट लागि अस्वस्थ हुँदै गएपछि २००८ साल मंसिर ५ गते उनले सेनाबाट जागिर छाडे। प्रस्तुत आलेख दोस्रो विश्व युद्धसम्बन्धि उनको अनुभव बुझ्नका लागि १९ वर्ष अगाडि २०६० साल वैशाख २४ गते भएको कुराकानीका आधारमा तयार पारिएको हो।

१९९८ सालमा सिपाहीको महिनावारी तलब रु. १२/-थियो। त्यसकै भरमा आफ्नै खर्चमा डेरामा बस्ने, खाने र पोसाक खर्च पनि पुर्‍याउनुपथ्र्यो। भरखरको अविवाहित युवक, लडाइँमा जानुभन्दा पहिला नयाँ गोरख पल्टनले थ्री नट थ्री राइफलबाट फायरिङ गर्ने र साधारण युद्धकला सिकायो। त्यसपछि नयाँ गोरख र महेन्द्रदलको फौज मिसाएर महेन्द्र दल गण नामकरण गरियो र फौज हिन्दुस्थान रमना भए। काठमाडौंदेखि भीमफेदीसम्म पैदल हिँडेपछि भीमफेदीबाट वीरगन्जसम्म गाडीबाट लगिएको थियो। नेपाल सरकारले अंग्रेजको मद्दतका लागि फौज पठाएको थाहा पाई अंग्रेज विरोधी भारतीय राजनीतिक दलका कार्यकर्ताले रक्सौलबाट मजफरपुर जाने रेलको लिग भत्काइदिएकाले नेपाली फौज केही दिन वीरगन्जमा रोकिनुपरेको थियो। त्यसबखत भारतमा अंग्रेज विरोधी कार्यक्रम सुरु भइसकेका थिए।

वीरगन्जबाट मजफरपुर लगेपछि उनीहरूलाई थ्री नट थ्री, स्टेन गन, ब्रेनगन, टमीगन, टुइन्च मोर्टार, गृनेड तथा फिल्ड क्राफ्ट, ब्याटल क्राफ्टको तालिम दिई १ वर्ष त्यहीं राखियो। अंग्रेज ब्रिटिस गोर्खाका लाहुरे तथा नेपाली सेनाका समेत शिक्षकहरूले तालिम दिएका थिए। तत्काल महिन्द्र दलको कमान्डिङ अफिसर लेफ्टिनेट कर्नेल क्षेत्रबिक्रम राणा, सहायक गणपति मेजर पदमबहादुर शाह, ऐटन जमदार कटकबहादुर कार्की (पछि प्र.से.) र हवल्दार मेजर कुलबहादुर थिए। तालिम सकिएपछि पल्टनहरूलाई आसामको डिलजङ लगियो। जाँदा जाँदै जापानिजले एअर बम्बाइमेन्ट गर्न थालिहाले। त्यसपछि ट्रेन्च खन्दै जापनिजसँग डिफेन्सिभ-अफेन्सिभ (रक्षात्मक आक्रामक) युद्ध लड्दै मनिपुर नागाहिल उत्रिए।

क्रमिक रूपले युद्ध लड्दै चिन्दविन नदी तरेर इन्दो भएर फौज बर्मा पुग्यो। बाटोमा थुप्रै जापानिज मरे भने उनीहरूको फाइटर एअरक्राफ्टहरू धेरै खसे। त्यतिबेला पनि जापानिज महिलाहरूले फाइटर एअरक्राफ्ट चलाउँथे। एन्टी एअरक्राफ्ट गनको फायरबाट बचाउन जापानिज फाइटर एअरक्राफ्टहरूको बाहिरी हिस्सा काठले मोरिएको थियो। लडाइँमा जापानिजहरू अति नै बहादुर थिए। उनीहरूले हानेको बमले नेपाली पक्षको थुप्रै तोपखाना हतियार नष्ट भए भने रातको समयमा लुकिछिपी नेपालीहरूको डिफेन्स पोजिसनमा आई सेन्ट्रीको हतियार खोस्न आइपुग्थे।

जापानिजहरूलाई मार्न र मर्न कत्ति पनि डर नभएको देखिन्थ्यो। तर जापानिज पनि नेपाली भनेपछि डराउँथे। अंग्रेज तथा अरू भारतीय सेनालाई केहीजस्तो ठान्दैनथे। तिनलाई हेपेर, एउटा बटालियनलाई जापानिजको एक बटालियनले पनि हमला गर्थ्यो। लडाइँको सिद्धान्तले एउटा बाटलियनलाई हमला गर्न एक ब्रिगेड अर्थात् तीनवटा गण चाहिन्थ्यो। तर नेपाली एक कम्पनी भएको पोजिसनमा समेत एक बटालियनले हमला गर्न डराउँथ्यो। झन्डै ६ महिना जापानिज विरुद्ध नेपाली फौजले लडेका थिए।

सुरुमा बेलायती फौज र तिनीहरूको बन्दोबस्तमा मात्र नेपाली फौजको सुरक्षा तथा रसद पानीको राम्रो प्रबन्ध भएन। जब अमेरिकी सेना बर्मामा लड्न उत्रिए, त्यसपछि उनीहरूकै बन्दोबस्तीमा नेपाली सेनाले समेत उच्चस्तरको रासन पानी पाए र अमेरिकी फाइटर प्लेनहरूबाट जापानिज हमलाको प्र्रतिकार भयो। अमेरिकनले नेपालीहरूलाई खुबै मन पराउँथे भने सँगै रहेका चिनियाँ फौजसँग उनीहरू मिल्दैनथे। जापानिजविरुद्ध चिनियाँ सेना पनि लडेका थिए। जंगल अप्रेसनमा १ दिनसम्मको कारबाहीमा जाँदा प्याक रासनको व्यवस्था थियो। जसमा १ छाकका लागि ५ खिल्ली चुरोट, ७ काँटी सलाई, ताकतदार चकलेट र १ कप चियाको सामान हुन्थ्यो। अरू बेलामा साधारण भात, रोटी र बट्टामा प्याक गरिएको खसीको मासु दिइन्थ्यो। रासन सप्लाई एअर ड्रपबाट गरिन्थ्यो।

हिन्दुस्थानमा पुगेदेखि अंग्रेजले भत्तास्वरूप सुरुमा प्रतिमहिना ३ रूपैयाँ र पछि ५ रूपैयाँ थप गरिदिएर महिनाको ८ रूपैयाँ लडाइँ भत्ता स्थानविशेषमै ब्रिटिसले दिन खोजेको थियो। तर नदिएपछि यही भत्ताको विषयले गर्दा दोस्रो राइफल पल्टनमा विद्रोहसमेत भई पूरै पल्टनले नै सजाय पाएको थियो। धेरै अफिसर खोसिए भने एक जनालाई नेपाल लगेर फाँसी सजाय दिएको थियो। स्वदेशको तलब मासिक १२ रूपैयाँ भने पल्टनले नै काठमाडौं राख्ने व्यवस्था गरेको थियो। लडाइँका लागि बेलायत सरकारले हरियो रङको पोसाक, बुठ, हावरस्याक, ठुलो झोला, जंगल टोप, हेलमेट, मोजा, होस्टाप, झुल, मन्डी आदि दिएको थियो। जुन नेपालीहरूका लागि नौलो पनि थियो।

कुराकानीका सिलसिलामा पदमबहादुर खत्रीले मात्र १० जनाभन्दा बढी जापानिज मारेको बताए। जसको कदर स्वरूप स्थान विशेषमै अंग्रेज अफिसरहरूबाट पटक पटक गरी ८०० भारतीय रूपैयाँ पुरस्कार पाएका थिए। यसै प्रसंगमा उनले अर्को रोमाञ्चक जानकारी पनि दिए। त्यो के थियो भने, युरोपमा जर्मनले लडाइँ जित्लाजस्तो भएपछि आसाम बर्मा फ्रन्टमा भएका सेनालाई जर्मन लाने भयो। त्यसमा बृटिस गोर्खा प्याराचुट रेजिमेन्टको फौजलाई जर्मन पठाउने भएपछि उनीहरूलाई वितरण गर्दैरहेको रासन नेपाली फौजलाई दिइयो। त्यो रासन एकदमै राम्रो र महँगो थियो। आसामको डिल्जङका व्यापारीहरूसँगको मिलेमतोमा महेन्द्रदल गणको सिओ कर्णेल र टुआइसी मेजरले ठूलो मात्रामा उक्त रासन बेचे छन्। त्यो सुइँको पाई अमेरिकी सैनिक प्रहरीहरू गोप्यरूपमा जासुस गर्दै रहेछन्। नभन्दै फेरि पनि गाडीमा रासन लगी बेच्दै गर्दा अमेरिकन सैनिक प्रहरीले पक्रेपछि स्थिति नराम्रो हुन पुग्यो।

यस्तो अनुशासन बाहिरका कामहरू नेपालबाट खटिएका अन्य पल्टनका केही अधिकृतहरूले पनि गरेकाले नेपाल फर्काएर कारबाही गरिएको थियो। त्यसपछि सिओ र टुआइसी मिली क्वार्टर मास्टर हवल्दारलाई सम्झाई, प्रलोभन देखाएर उसैले रासन बेचेको हो र यसमा सिओ र टुआइसीको संलग्नता छैन भनी बयान भएको कागजात तयार पारी बृगेड हेड क्वाटरमा केस गरी हाकिमहरू जोगिए भने उक्त क्वार्टर मास्टर हवल्दारलाई रातारात भगाई बृटिस इन्डियन आर्मीसँग कुरा मिलाएर उक्त क्वार्टरमा हवल्दारलाई महेन्द्रदलबाट गयल खाली गराई बृटिस इन्डियन सेनाको आसाम राइफलको हवल्दार पदमै भर्ना गरिदिए।

यहाँ नेपालमा श्री ३ जुद्धको हजुरमा क्वाटर मास्टरको बदमासीको प्रतिवेदन पठाइयो। त्यो श्री ३ मा जाहेर भएपछि उसको घरखेत सर्वस्व गर्नु भनी सबै सम्पत्ति सरकार लाग्यो। तर उक्त क्वार्टरमा हवल्दारको दाइ रिफेल पल्टनमा जागिरे भएको र हजुरिया जर्नेलहरूमार्फत रोईकराई गरी सर्वस्वहरण दाइ रिफेल भनी श्री ३ मा बिन्ती पत्र हालेपछि श्री ३ जुद्धले माफी दिई करिब ६ महिनापछि उक्त क्वार्टरमा हवल्दारको सम्पत्ति फिर्ता भयो। ती क्वार्टर मास्टर थिए, सिन्धुपाल्चोक जिल्ला बतासे गाविस, बतासे निवासी महेन्द्रदल गणका हुद्दा क्षेत्रबहादुर थापा। जसको परिवारले भारतीय सेनाको पेन्सन लिँदै गरेको थिए भन्ने बुझिन आएको छ।

पल्टनले ‘दि फेमस’ टाइटल पाएको भन्ने विषय र उक्त रासन बेचेको बारेमा लेखक मेजर पदमा छँदा उक्त महेन्द्रदल पल्टनलाई बर्मामा कमान्ड गरेका कर्नेल (पछि जर्नेल) लाई काठमाडौं पानी पोखरीस्थित घरमा भेटी शोधखोज गर्दा यो घटना साबित भएको थियो भने उहाँ जीवित छँदा यी कुरा प्रकाशन वा प्रसारण नहुन मलाई आदेश पनि दिनुभएको थियो। रासन बेचिने घटनाबाट युद्ध इलाकाबाट धेरै अधिकृतहरूलाई कारबाहीका लागि नेपाल फर्काइएको पनि जानकारी प्राप्त भयो। ‘दि फेमसस टाइटल’ पाएको भन्ने बारेमा उस बखतका गणपति कर्नेलले बोलेका कुरा लेखकले यहाँ उल्लेख गर्न उचित नठानेकाले प्रस्तुत गरिएको छैन।

वीर सैनिक पदमबहादुरले बर्मा फ्रन्टको लडाइँमा बहादुरी देखाउने महिन्द्रदल गणका तत्कालीन कप्तान गुप्तबहादुर गुरुङ, जगत्बहादुर खत्री, बलबहादुर सिलवाल खत्री, कटकबहादुर कार्की (नैकाप काठमाडौं), सुबेदार भैरवबहादुर र सुबेदार राजेन्द्रबहादुरलाई आत्मादेखि नै सम्मान गरे।

त्यसैगरी लडाइँमा जाने उनका महेन्द्रदलका गाउँले जोडीहरू सिन्धुपाल्चोक जिल्ला पीपलडाँडा गाविस वडा नं. २ बस्ने नरबहादुर कुँवर, सोवितबहादुर पुरी, शमशेरबहादुर कुँवर, पीपलडाँडा पिँडालुबारी बस्ने अम्बरबहादुर खड्का (बर्मामा जापानिजको गोली लागि वीरगति प्राप्त गरेका) र ऐजन स्थान बस्ने मतानघर लालबहादुर भन्ने माहिलो सापकोटालाई सम्झन्छन्। सिपाही माहिलो सापकोटाले लडाइँको बेला गृनेड फाल्न प्राइम गर्दा ट्रेन्चमै गृनेड पड्किन गई उनको दाहिने हात चुँडियो भने अर्का हवल्दार र सिपाही गरी २ जनाको मृत्यु भएको थियो। त्यसैगरी अन्य गाउँले जोडीहरूमा सिन्धुपाल्चोक भेडाबारीका रामबहादुर कार्की, भालुवनका शमशेरबहादुर कटवाल, भोर्ले पोखरेका चन्द्रबहादुर न्यौपाने तथा स्याउले बाङबाका माझी तामाङ थिए।

खत्रीको भनाइ अनुसार जापानिजहरूलाई बरबाद गर्ने सिलसिलामा इन्डो भन्ने अति नै महत्त्वपूर्ण जमिन कब्जा गर्नु थियो। यो जोखिमपूर्ण र फस्ट लाइट (मिर्मिरे उज्यालो) हमला थियो। दाहिना मोहोडाबाट महिन्द्रदल र बायाँ मोहोडाबाट भारतीय चमार बटालियनले छुट्टाछुट्टै तरिकाले हमला गर्दै जाँदा बिहानको ६ बजेर ५ मिनेटमा महिन्द्रदलले त्यो तार्गेट कब्जा गर्‍यो। त्यसको १५ मिनेटपछि चमार बटालियन पनि आइपुग्यो। अनि चमार बटालियनको कर्नेलले ‘इन्डो पोजिसन’ उनीहरूले पहिला कब्जा गरेको भने। त्यो हुनै सक्दैनथ्यो। त्यसपछि नेपाली फौज तातिहाले। हात हालाहाल होलाझैं भयो। अफिसरहरूको वादविवाद बढ्दै थियो। नाम कमाउनका लागि भारतीय फौजले नचाहिँदो दाबी गरी विवाद सिर्जना गरेको थियो।

यो मुद्दा बृगेड हेड क्वाटरमा पुग्यो। सो दिन बिहानै अमेरिकी रेकी प्लेन अर्थात् जासुसी हवाईजहाजबाट भएको रेकीअनुसार नेपाली सेनाको महिन्द्र दलले मात्र त्यो स्थान कब्जा गरेको प्रमाण पेस गरिदियो। त्यही बिहान ६ बजेर ८ मिनेट जाँदा त्यहाँ पुगेको विश्लेषण भएपछि इन्डोको लडाइँ जितेको श्रेय महेन्द्रदल गणले पायो।

त्यसैगरी उनको अनुभवमा पोपहिलको लडाइँ रहेको छ। महेन्द्र दलको एक गुल्मले पोपहिल कब्जा गर्नासाथ जापानिजको थप मद्दत आइपुगी नेपालीहरू ७ दिनसम्म जापानिजको घेराउमा परे। खाना केही थिएन। ६ दिनसम्म भोकभोकै बस्नुपर्‍यो। अंग्रेज कर्नेल पनि निरीक्षण गर्न आएका बेलामा त्यहीं थिए। उनी धेरै आत्तिए। तर नेपालीले तरुल, गिट्ठा, भ्याकुरजस्ता कन्दमुल खाई जापानिजसँग प्रतिकार गर्दै रहे। पछि थप मद्दत आएपछि जापापिजहरू भागे र बाँच्न सफल भएको कहानी पनि बताए।

दोस्रो विश्व युद्धमा अमेरिकाले जापानको हिरोसिमामा अणु बम हानेपछि बर्मा फ्रन्टको लडाइँ टुंगियो। त्यसपछि नेपाली फौज रंगुनबाट राँची उत्री, राँचीबाट रक्सौल निक्लेर २००२ साल भदौमा काठमाडौं आइपुगे। श्री ३ जुद्धबाटै स्वागत भयो। त्यसपछि पल्टनहरूलाई १ महिनाको छुट्टि छाडियो र लिन बाँकी सबै तलब लिई वीर सैन्यहरू घर लागे। खत्रीले एउटा नयाँ कुरा के बताए भने जापानको हिरोसिमा परम्परादेखि नै अति पवित्र धार्मिक स्थल थियो।

राजारानी भएका बेलायत साम्राज्य र जापान साम्राज्यबीचको सम्झौता अनुसार हिरोसिमाको धार्मिक महत्त्वका कारणले कुनै पनि हालतमा बेलायतले हिरोसिमामा हमला नगर्ने थियो। त्यही ढुक्कमा परी जापानले भएभरको महत्त्वपूर्ण हातहतियार, गट्ठा र अन्य सैनिक बन्दोबस्तका सामानहरू हिरोसिमाको जंगलमा लुकाइराखेको थियो। तर यो सुईको बेलायतलाई थियो। अब अमेरिका र बेलायती मिलोमतोमा जापानको सामरिक महत्त्वको स्थान हिरोसिमालाई पहिलै बरबाद पार्ने उद्देश्यले अणु बम खसाल्ने पहिलो तार्गेट हिरोसिमा चुनियो।

नेपाल फर्केपछि पदमबहादुर २००२ देखि २००८ सालसम्म श्रीनाथ गणको सिपाही नियुक्तिमा काम गरे। २००८ सालको डा. केआई सिंह पर्वमा उनलाई पक्रने काममा सि. खत्री पनि थिए। जुन कार्यका लागि ओभरअल कमान्डर लेफ्टिनेन्ट जनरल तोरण शमशेर राणा, बटालियन कमान्डर कर्नेल (ले.क.) गुप्तबहादुर गुरुङ र कम्पनी कमान्डर लप्टन दुर्गासिंह बस्न्यात थिए। कर्नेल गुप्तबहादुर गुरुङसँगै बर्मामा सि. पदमले बहादुरी काम गरेकाले ओ.सी. करसाबले श्रीनाथ गणबाट झिकाई महेन्द्रदलमा राखी केआई सिंहलाई पक्रने काममा साथै लगेका थिए। पाल्पा रिडी हुँदै काली गण्डकीको सिधाई गरेर केआई सिंह तिब्बततिर भाग्दै थिए। उनको साथमा केही रक्षादलका सिपाही र थुप्रै भरियाहरू पनि थिए। केआई सिंहको टोली निकै अगाडि थिए भने नेपाली सेनाको पल्टन पछाडि थियो। हिँड्दा हिँड्दै सि.ओ. कर्नेल गुप्तबहादुरलाई सिपाही भए पनि पदमबहादुरले भनेकी ‘सर आर्मीकै मान्छे गोप्य रूपमा पठाई केआई सिंहको भरिया बनाई उनको खबर लिनुपर्छ।’

त्यसपछि सिओ सावलाई पनि ठिकै लागेछ र उहाँले सूर्य दल पल्टनको स्थानीय क्षेत्रमै घर हुने १ जना हवल्दारलाई गोप्य रूपमा केआई सिहको भरिया बनाउन पठाई केआई सिंह पक्रने काममा सफल पनि हुनुभयो। भाग्ने क्रममा हिँड्दाहिँड्दै भोक लागेर खाना पकाउन टोलीले केआई सिंहलाई बक्साएछन्। तर केआई सिंहले तिब्बत छिरेपछि मात्र खाना पकाउने आदेश दिए। सूर्यदल पल्टनको उक्त हवल्दार (भरिया) ले अति नै अनुरोध गरेपछि खाना नेपालतर्फ नै पकाउने निधो भयो। केआई सिंह आराम गर्न थाले।

यत्तिकैमा उक्त हवल्दारले लुकेर गई भोट जाने बाटोको साँघु काटेर केही मान्छेलाई खोलामा खसालिदियो। कसैलाई थाहा थिएन। खाना खाएर हिडौं भन्दा खोला तर्ने साँगु नभई केआई सिंहको टोली अड्कियो। निकै अलमल भएपछि पछाडिको नेपाली सेनाले भेट्यो र घेरामा पारेर केआई सिंह पक्रिए। उनका मतियारहरू धेरै जना भाग्न सफल पनि भए। यसरी सानो सल्लाहले एउटा ठूलो काम फत्ते भएकोबारे सि. खत्रीले सम्झना गरे। सोही कारबाहीमा जाँदा कालीगण्डकीको छालले बगाएर लगेको भगवतीप्रसाद पल्टनको पट्टि नं. ४/४४ को सिपाही (नाम बिर्सेको) लाई खोलामा हामफाली बचाएको र सि.ओ. करसाब, तोरणशमशेर जरसाब तथा प्रधान सेनापति किरण शमशेर राणाबाट समेत सि. पदमले स्यावासी स्वरूप ५०० रूपैयाँ पाएका थिए।

८१ वर्षीय सिपाही पदमबहादुर खत्रीले बर्मामा नेपालका तर्फबाट लडेबापत बेलायतबाट दिइएको दि बर्मा स्टार, दि १९३९-४५ स्टार, बर्मा वार मेडलसमेत पाए। साह्रै दुःख पाई जंगी अड्डाबाट कुनै आर्थिक सहायता पाउँछु कि भनी हिँडिरहेका थिए। उनलाई सबैभन्दा ठुलो दुखेसो जुद्ध शमशेरले झुट बोले भन्ने छ। किनभने दोस्रो विश्व युद्धमा नेपालले बहादुरी र बफादारी काम गरेबापत लड्ने सम्पूर्ण सेनालाई पुग्ने गरी अंग्रेजले हिन्दुस्तानमै ठूलो रकम बाँड्न लागेको थियो। सोबारे सबैलाई सुनाइएको थियो। धेरै पैसा पाउने भनेको सुनेर सबै खुसी थिए।

बर्माबाट त्यसबारे श्री ३ जुद्ध शमशेरलाई सोधनी हुँदा उनले बर्मादेखि नेपालसम्म आउँदा बाटोमा चोर लाग्छन्, पकेट मार्छन्। त्यसैले पैसाको सुरक्षा हुँदैन, नेपालमै बाँडी दिउँला भन्ने आदेश पठाए। पछि नेपाल आएपछि अंग्रेजले दिएको पैसा श्री ३ ले नै राखी प्रतिव्यक्ति जम्मा ३८ रूपैयाँ मात्र बाँडे। जुन कार्यले लडाकु सिपाहीहरूलाई ठूलो अन्याय भएको थियो भनी पदमबहादुरले दुखेसो पनि पोखे। वीर योद्धा पदमबहादुर खत्री हाल स्वर्गीय भइसकेका छन्। उनलाई मेरो सलाम ! 

प्रकाशित: २६ कार्तिक २०७९ ०१:३० शनिबार

अक्षर