कला

छायादत्त न्यौपानेका केही लघुकथा

लघुकथा

छायादत्त न्यौपाने।

छायादत्त न्यौपाने

१) कैंची र सियो

रातभर निदाएनन् दानवीर। चतुर्मान र सनकमान वल्लोपल्लो खाटमा घुरिरहेका थिए। दानवीरले यताउता करबट फेर्दाफेर्दै उज्यालो भयो।

झुलमुलेमै दानवीर पँधेराँ पुगे। नुहाइधुवाइ गरी पानी लिएर घर आइपुगे। घामले डँडाल्नु सेके पनि सनक र चतुर फ्वाँफ्वाँ गरिरहेका थिए।

छोराहरूको पारा देखेर हैरान रहेका दानवीरले सुय्य सुस्केरा काढे, ‘हे घाम तिम्रो तापले मेरा छोराको चेत पगालेर गति दिन सकेन त बा!’

घामसँग बाको गुनासो सुनेर दुवै जना बिउँझे। उनीहरू यताउता गर्न खोज्दै थिए। दानवीरले आफू नजिकै बोलाए। उनेले छानुमा घुसारेर राखेको बौचो झिकेर ल्याउने अह्राए।

सनकमानले बौचो ल्याएर बाका हातमा दिए। बाले बौचोबाट कैंची र सियो झिकेर हातमा लिंदै भने, ‘चतुर्मान, तिमी कैंची लिन्छौ कि सियो?

बाको कुराले सनकमान झस्के–कतै भाइले मलाई मन पर्ने कैंची लियो भने!

संयोग चतुर्मानले सियो लिए। सनमकमान भित्रभित्रै खुसी भए।

छोराहरूले रुचि अनुसार हतियार समाते। दानवीर छोराहरूलाई पछि लाएर नेता बेसुरकहाँ पुगे। उनले भलाकुसारीपछि बेसुरसँग जेठो छोरा सनकमानलाई आफ्नो शिष्य बनाउन आग्रह गरे। बेसुरलाई ढुंगा खोज्दा देवता भेटे जस्तै भो। दानवीर धन्यवाद दिएर बाटा लागे।

दानवीर व्यापारी धनपतिकहाँ पुगे। उनले शिष्टाचार पूरा गर्दै चतुर्मानलाई आफ्नो चेलो बनाउन अनुरोध गरे। दानवीरले के गर्न आँटे भनेर केहीबेर घोरिएका धनपतिले पनि सहमति जनाए।

धनपतिलाई धन्यवाद दिएर दानवीर प्रवृत्ति अनुसार अनुकूल पात्रसँग छोराहरू जिम्मा लाउन सफल भए। अब कैंचीले काट्छ, सियाले सिउँछ भनेर सन्तोषले सास फेर्दै घर फर्के।

 २) गोप्यवार्ता

-हो है! हामी अप्ठेरोमा परिन्न उसो भए! कति आउँछ त मालपानी?

-एए राम्रै रहेछ! ल, म गर्छु। ढुक्क हुनुभए हुन्छ।

उनले मोबाइल बन्द गर्न नभियाउँदै सुटुक्क फोनवार्ता सुनेका विवेकले सोधे, ‘हैन बाबा, तपाईंले बाचा गरेर चुनाव जितेका पाँच वर्ष यत्तिकै बिते। न धारामा पानी न खेतबारीमा सिंचाइ! न त किसानले समयमा मल-बिउ पाए। कृषि अनुदानको हल्ला पनि केही सीमित टाठाबाठासँग ठोक्किएर घाइते भई खुम्चिन्छ वर्षैपिच्छे! अब के भनेर जाने खै मतदाताकहाँ?’

मनमनै ‘ला, गोप्यवार्ता पो सुनेछ’ भनेर विवेकको कुराबाट झस्केका धनबिरे सम्हालिंदै ‘ह्या छोरा! यो पनि मैले सिकाउनु पढेलेखेको छोरालाई! एउटा-एउटा निहुँ पारेर चिल्ला कुरा गर्ने त हो। अलिकति काम सुरु भाछ। अब आउँदा पाँच वर्षमा पक्का पूरा हुन्छ भनेर विश्वास दिलाउने हो नि। केही मै हुँ भन्नेले नटेरे खानपिन कार्यक्रम पनि छँदै छ। यसमा रमाइहाल्छन्। यही त हो चुनाव जित्ने काइदा। जितेपछि मलाई नि फाइदा। जागिरमा बाँधिन परेन तँलाई नि फाइदा।

विवेकले आफूभित्र भएको मानवीय चेत देखाए,‘हुन्न बाबा, म त यस्तो ढाँटको खेती गर्दिनँ। मसँग योग्यता छ। यसकै भरोसा गर्छु। स्वाभिमानले बाँच्छु।’

छोराले नै विश्वास नगरेको देखेर धनेबिरे चकित परे। उनले मनमनै भने, ‘अचेल युवाहरू बाठा हुन थाले। पहिला-पहिला गोरुसरि डोर्‍याइन्थ्यो। अब नसकिने भो चेत खुलेछ मोराहरूको।’

ओठ बिचमा औलो तेस्र्याउँदै सुनिने गरी थपे, ‘अघि सुनिनस् मेरो गोप्यवार्ता! त्यसबाट आउँछ नि मनग्ये। त्यस्ता अवसर त कति आउँछ कति। अलिकति धेरै मतले जिता मात्रै। तैले जागिर खाएर कहिले कमाउँछस् हँ करोडौ रुप्पे? पाँचै वर्षमा जत्ति पनि कमाउन सक्छस्।’

‘हो बाबा,सुनें। मजाले सुनें। त्यही तपाईंको कुरा सुनेर त हो। यो ढाँटछल, कपट्याइँ र बेइमानीको जालमा अल्झेर राष्ट्रिय योजनाहरू अलपत्र पारिरहने अनैतिक पगरी गुथ्दिनँ भनेको नि चाल पाउनुुभएन र?’

३) तरमारा चाल

उनी जुरुक्क उठे। यताउता डुल्दै-तिमी कस्तो कुरा बुझ्दनौ! पार्टी अध्यक्षले चुनाव खर्च सहित टिकट दिने भाछन्। उहाँ कत्रो हानथाप छ। टिकट पाएर जितियो भने जितियो त! तलब, भत्ता,कोठाभाडा, पत्रपत्रिका, यातायात, भ्रमण कति सुविधा छन्-छन् नि।

–ह्या.. होस् नीति-नियम, अनुशासन सबै मिचेर जनताको रगत-पसीना चुसेर मोटाउनु परेको छैन मलाई। चर्को स्वर गरेका लोग्नेको कुराले छोएन सचेतालाई।

तरमारा चाल बुझेका टिकटबहादुरले भने हार मानेन्।

उनले थपे,‘विदेश घुम्न पाइन्छ। व्यापारीसँग मिलिमतो गर्न सकियो भने त पाँच वर्षमा कायापलट हुन्छ। तिम्रा माइती त तिरिमिरी झ्याइँ पर्छन्। अहिले अलिकति खर्च हुन्छ त के भो, पार्टी अध्यक्षले तिमीलाई पनि सँगसँगै घुमाउने रे। म चुनावमा व्यस्त हुन्छु। तिमी घुम!

टिकटबहादुरले आफ्नो जोडबल लगाए।

सचेता पनि के कम। पार्टी अध्यक्षसँग सैरको अवसर! जो कोहीले कहाँ पाउँछ? उनी झ्याम्मै आकर्षित भइन्। पार्टी अध्यक्षले स्वाद फेरे। दिन खुलेका टिकटबहादुरले कार्यकर्ता बटुले।

४) अपरिचित मित्र

घण्टी लामै बज्यो। उठाउन ढिलो भो। नउठाउने बानी हैन तर आज हतारले उठाने परिस्थिति बन्यो। भलाकुसरी भो।

स्वघोषित ठूला साहित्यकारले भने,‘भेटेर सल्लाह गर्नु छ!’

अग्रणी ऐतिहासिक उपन्यासकारको नाममा खुलेको साहित्यिक संस्थाबाट परिचय भई नजिकिएको मित्रता। विशेष होला भन्ने लाग्यो। पर्सिपल्ट तीन बजे बानेश्वरमा भेट्ने सहमति भयो। सहमतिको पालना नगर्ने अभ्यास छैन। समयमा नपुग्ने कुरै भएन। ठाउँमा पुगेपछि मोबाइल थिचें। एकछिन ढिलो हुने प्रतिक्रिया आयो। नपर्खिने कुरै थिएन। दिएको समय फेरि बित्यो, फेरि मोबाइल थिच्न सुरु भो। धेरैबेर उठेन। घण्टा बढी पर्खाएपछि जरुरी काम पर्‍यो, भियाइनँ भन्ने जवाफसित भाका सर्‍यो। त्यो साँझतिरको माघे सिरेटोले सारेको भाका अहिलेसम्म सरिराछ।

सौहार्द मित्रता कसरी अपरिचित भो! जिज्ञासा जन्मनु स्वाभाविकै होला। केही साथीबाट थाहा भो विदेशसम्मको साहित्यिक यात्रा सन्दर्भ रहेछ।

अर्को साथीबाट उनको समेत सामल व्यवस्था हुने भएपछि पूर्व सूचना टिपेसले थिचिन गएछ।

त्यसपछि बेलाबखत कार्यक्रमहरूमा दोहोरिएर आँखा जुध्छन् तर परिचय छैन। अपरिचित मित्रसँग भलाकुसारी हुने कुरै भएन।

 ५) भजनमण्डली

छिमेकी प्याच्च बोले, ‘कहाँ जान लाग्नुभा काका?’

काका पड्किनुभो,‘कतै निस्किने बेलाँ सोध्नु हुन्न भनेको हैन?’

छिमेकी पनि के कम, आवेगैमा भने, ‘त्यही जाबो कवि गोष्ठी र किताब विमोचनमा ताली पिट्न त होला, पाइहाल्नुहुन्छ नि। केको बिग्रिन्छ साइत!’

-हो नि त कला-संस्कृतिको जगेर्ना गर्नुपरेन त!

काकाका कुरा नसकिंदै छिमेकीले साहित्यका नाममा छिरलिएको बेथिति कोट्याए, ‘केको संस्कृति नि उहीं राजनीतिमा झैं गुटबन्दी त हो नि!’

–कहाँ हुन्छ गुटबन्दी! साहित्यकार त जहिले पनि खराबलाई खराब र राम्रालाई राम्रो भन्ने आँट भएको प्रतिपक्ष हो। आफ्नै पार्टीको सत्ता भए पनि नराम्रो कुराको खुलेर विरोध गर्छ।

छिमेकीले हात हल्लाउँदै-होला खुबै! गुटगुट मिलेर झूर किताबको प्रशंसा र अर्को गुटको भए राम्रालाई पनि झूर भनेर धारे हात लाउँछन्। अहिलेका त पाठक पनि उस्तै ठूलो डाँको पत्याउँछन्। मैले पनि राम्रै मान्छेले भने होला भनेर किताब किनेको त उसैको राजनीतिक पार्टीको बखान मात्र। न भाषिक कला छ न अभिव्यक्तिमा गहनता! पैसा मात्र खेर गयो। अचेल त साहित्य पनि गुट र भोजमा खुम्चिएको छ। छिमेकीको कुराले काकालाई कार्यक्रममा जाऊ कि नजाऊ बनायो।

छटपटिंदै उनले भने, ‘होला विकृति पनि तर सबैलाई एउटै डालामा हाल्न मिल्दैन।’

-तपाईं आफै भन्नू न जुन किताब वा व्यक्तिले पुस्कार पाउँछ त्यसमा त्यसत्यस समूहकाले समर्थनमा बाँसुरी बजाउँछ। अर्का थरीले ‘झूर किताबले पायो। कामै नगर्‍या मान्छेलाई दिइयो भनेर ढोल पिट्छ।’ हेर्नुस् त ठ्याक्कै फोहोरी राजनीति खेलजस्तै छ कि छैन साहित्यिक खेल? नेताका पछि कार्यकर्ताझैं साहित्यकारको चाला पनि कत्ति फरक छैन।

ऊ हेर्नुस् त पुरस्कार पनि छानीछानी आआफ्नो भजनमण्डलीलाई दिन्छन्। होइन भने ल दिनुस् त एउटा भजनमण्डलीले अर्को भजनमण्डलीको प्रतिभालाई कदर गरेको उदाहरण।

६) बिरे

हरेले सोधे,‘के भो बिरे? झोक्राएर बसिराछस् त!’

‘हैन,केही भाछैन।’ बिरे सतर्क हुन खोज्यो।

‘किन लुकाउँछस्? मलाई थाहा छ विवाहपछि छोरो घराँ अटाउँदैन। तँलाई त्यही समस्याले पिटेछ।’ हरेले अनुभव सुनायो।

‘हँ, कसरी थाहा पाइस् तैंले। कसले भन्यो?’ बिरेले आश्चर्य प्रकट ग¥यो।

‘चुुप लाग तँ, भन्नै पर्छ! घरैपिच्छेको बेथा हो यो।’ हरेले मनोविज्ञन पढ्यो।

‘हो त यार, दुनियाँ कति स्वार्थी छ! बाआमा, श्रीमती, दाजुभाइ सबै पैसाका पछि लाग्छन्, त्यतिले नपुग्ने, उनीहरूले भनेजस्तो, सोचेजस्तो, चाहिएजस्तो चरित्र भइदिनुपर्ने रे! हैन के हो यो मान्छेले आफ्नो अतीत कसरी बिर्सन सकेको!

‘मैले नै बाआमाको आज्ञाकारी छोरा, श्रीमतीको आज्ञाकारी सेवक, दाजुभाइ र दिदीबहिनीको सँगसँगै हिंडिदिने साथी, आफन्तको प्रिय र साथीभाइको हितैषी यस्तैयस्तै अनेक भूमिका अनुकूल भइदिन कसरी सकिन्छ भन्त!’ बिरे असमर्थ देखियो।

‘यो घरघरको कथा हो। सबैले आफ्नो वर्चस्व खोच्छन्। खोज्न दे। हामीले पनि आफूअनुकूल हुने हो। अरूका कुरा सुन्ने, हो है भन्ने र आफ्नो बाटो खुरुखुरु हिंड्ने। जसरी पनि गर्नुपर्ने परिवारको  हेरचाह हो। सबै यही बाटो हिंडेका रहेछन्।’ हरेले बाआमाले आफ्ना बाआमासँग गरेको व्यवहार सम्झन भन्यो।

बिरेले कुरा बुझ्न खोज्यो,‘हँ, अलिक प्रस्ट भन्न।’

कुरा सिधा छ तेरा बाआमा, मेरा बाआमा उसका बाआमा सबै, सबैले निजनिज परिवार पछ्याएको छर्लङ्ग देखिन्छ। लौ हेर त बाआमासित को बसेको छ? उनीहरूसँगै बस्ने भए बिहे किन गर्ने?

त्यसैले मित्र! कुरा बुझ्ने आफ्नो बाटो कुद्ने। यसरी झोक्राएर दाल गल्दैन र जीवन चल्दैन। हरेको कुरा सुनेर बिरे त जुरुक्क उठ्यो।

७) दसैं खर्च

‘बा, के छ यो झोलामा?’विवेकले जिज्ञासा राखे।

-तँलाई किन चाहियो? यस्ता कुरामा केटाकेटीले चासो राख्नु हुन्न।

बिचमा टप्केर आमा अझै बाठी हुनुभो। बाआमा र मेरा अनुहारतिर आँखा हुत्याउन व्यस्त।

-घरको कुरा मैले थाहा पाउनु पर्दैन। के म परिवारको सदस्य परिन र! विवेक पनि के कम, चुप लागेनन्।

बाले मुख खोल्नुभो, ‘यो धनवीर काकाले ल्याइदिएको दसैं खर्च।’

विवेकले खुसी हुँदै भने, ‘ए हो र! त्यसो भए त हाम्रो दसैं भव्य हुने भो है बाबा!’

–अँ हुन्छ तँलाई भव्य। यहाँ कति काम छ। बजार जान भ्या’को हैन। साथीहरूले कति नयाँनयाँ गहना र लुगा किनेर सञ्जाल ढाकिसके। झन् आफू त...! आमाले प्रभुत्व जमाउन बेर गर्नुभएन।

–बरु यसमा के छ हेरूँ न बाबा! विवेक अनजान बने। विवेकले झोला खोतल्न थाले। बाआमालाई पसीना छुट्यो।

‘ओहो यतिका पैसा!’ विवेक जिल्ल परे।

बाको अनुहारले खरानी पोत्यो।

आमाले प्रस्ट्याउनुभो,‘यो त के हो र जाबो बीस लाख। उसले कति माल भित्र्यायो तेरा बाले भन्सार हाकिमलाई भनिदिएर।’

-ए हो है! कुरो यस्तो पो? भ्रष्टाचारीलाई फाँसी दे, भ्रष्टाचार बन्द गर भनेर नाराबाजी गरेको जुलुसमा त बा अगाडिअगाडि हुनुहुन्थ्यो हैन र! यहाँ झोलाभरि घुस? अब बालाई फाँसी हुन्छ हो? उता बाआमा आफूआफू दाह्रा किट्दै थिए।

-त्यसै होइन रहेछ भ्रष्टाचारीको छोरो भनेर साथीहरूले हेपेको!

प्रकाशित: २४ कार्तिक २०७९ ०५:०१ बिहीबार

अक्षर