कला

बहुआयामिक व्यक्तित्वको वर्णन

पुस्तक

कसैको पनि आत्मवृत्तान्त अथवा जीवनी लेखिनुपर्छ वा पर्दैन भन्ने कुरा बहसकै विषय बन्न सक्छ। यद्यपि कस्तो मान्छेको आत्मवृत्तान्त अथवा जीवनी लेखिनुपर्छ भन्ने प्रश्नचाहिँ उठाउन सकिन्छ र त्यसको उत्तर पनि खोज्न सकिन्छ। अरू व्यक्ति र समाजका लागि आदर्श र प्रेरणाको स्रोत बन्नसक्ने मान्छेको आत्मवृत्तान्त वा जीवनी लेखिनुपर्छ भन्ने आममान्यता रहेको छ र यो मान्यता स्वीकार्य पनि हुँदै आएको छ।

सिर्जना अथवा सेवाजस्ता बृहत् समाजोपयोगी कार्यमा लामो समय व्यतीत गरेका र समाजोत्थानका लागि सिर्जना अथवा सेवाको माध्यमबाट अविस्मरणीय एवम् उल्लेखनीय योगदान गरेका व्यक्तिको आत्मवृत्तान्त अथवा जीवनीलाई पाठकले मात्रै होइन, सिङ्गो समाजले नै स्वीकार्दै आएको छ र त्यसलाई सम्मान पनि गर्दै आएको छ। तर धन र रवाफको बलमा आत्मतुष्टि र आत्मरतिका लागि लेखिएका वा लेखाइएका आत्मश्लाघाले भरिएका आत्मवृत्तान्त अथवा जीवनीलाई पाठकहरूले नरुचाएको र नस्वीकारेको अनुभव हामीमध्ये धेरै पाठकहरूलाई छ। पाठकवृत्तमा हुने सकारात्मक र नकारात्मक चर्चापरिचर्चाले यी दुई कुरालाई पुष्टि गर्दै आएको छ। बजारमा आएका धेरै आत्मवृत्तान्त र जीवनीका पुस्तकहरूमध्ये थोरैलाई मात्रै पाठकले स्वीकारेको र त्यसका बारेमा हुने सकारात्मक चर्चापरिचर्चा र टीकाटिप्पणीले पनि आत्मवृत्तान्त र जीवनी कस्तो मान्छेको लेखिनुपर्छ भनेर इङ्गित गरिरहेको महसुस हुन्छ।

आत्मवृत्तान्त अथवा जीवनी लेखिनैपर्ने व्यक्तित्वमध्येका एक हुन् धनमान श्रेष्ठ। बहुआयामिक व्यक्तित्वका धनी धनमान श्रेष्ठ पेसाले स्वास्थ्यकर्मी भए पनि उनको व्यक्तित्व यतिमै मात्र सीमित रहेको छैन। स्वास्थ्यकर्मी भएकै नाताले स्वास्थ्यसँग सम्बन्धित विभिन्न संघसंस्था स्थापना, सञ्चालन र संलग्नताका साथै साहित्यकर्ममा पनि धनमान श्रेष्ठ उत्तिकै सक्रिय रहेका छन्। विभिन्न खाले स्वास्थ्य सेवा र संस्था सञ्चालनका लागि उनले गरेका सङ्घर्षका कथाले अरूलाई समेत प्रेरणा दिनेमा कुनै सन्देह छैन। उमेरले पाको भइसकेका र नेवारी परम्पराअनुसार दुईपटक जंक्वसमेत गरिसकिएका धनमान श्रेष्ठ समाजका लागि एक उच्च आदर्श र प्रेरणाको स्रोतको रूपमा रहेका छन्।

समाजका लागि एक उदाहरणीय व्यक्तित्वका रूपमा स्थापित धनमान श्रेष्ठका बहुआयामिक व्यक्तित्वलाई झल्काउने गरी प्रकाशित भएको पुस्तक हो ‘धनमान श्रेष्ठ: व्यक्ति एक आयाम अनेक’। यो महत्त्वपूर्ण कृतिलाई प्रकाशन गरेको छ सिर्जना अभियान समाज, भक्तपुरले। सिर्जना अभियान समाजमा धनमान श्रेष्ठको निरन्तर संलग्नता रहिआएको मात्रै छैन, यसमार्फत साहित्यको उन्नयनमा पनि उनको महत्त्वपूर्ण योगदान रहिआएको छ।

‘धनमान श्रेष्ठ: व्यक्ति एक आयाम अनेक’ मा धनमान श्रेष्ठको बाल्यकालदेखिको संक्षिप्त जीवनीसहित उनी स्वयम्द्वारा विभिन्न समयमा लेखिएका संस्मरणात्मक लेखनिबन्ध र कथाका साथै अरू विभिन्न व्यक्तित्वहरूबाट उनको बहुआयामिक व्यक्तित्वका बारेमा लेखिएका विविध विषयका लेखनिबन्धहरू पनि सङ्गृहीत छन्।

धनमान श्रेष्ठको बाल्यकालदेखि तत्कालीन समयमा काङ्ग्रेस पार्टीप्रतिको उनको खुल्दुली, काङ्ग्रेस हेर्ने उनको रहर, कम्युनिस्ट पार्टीको सदस्यता ग्रहण, एसएलसी जाँचको तनाव, नेपालबाट नेपाल जानका लागि उनले भोगेको सकस, डाक्टरी नपढीकनै डाक्टरले झैं काम गरेको रमाइलो अनुभव, स्वयम्सेवकको रूपमा शिक्षणको काम गरेको अनुभव, भक्तपुरमा नेपाल रेडक्रस सोसाइटीको गठनका लागि उनले गरेका प्रयास र सङ्घर्षका कथा, भक्तपुरमा नेपाल क्षयरोग निवारण संस्थाको स्थापनाका लागि गरेका सङ्घर्ष, उनको भद्रगोल जेलयात्रा, नेपाल क्षयरोग निवारण संस्थामा पदाधिकारी भई कार्य गर्दाका तितामिठा अनुभव, भक्तपुरमा नेपाल अर्बुद रोग निवारण संस्थाको स्थापना, सिद्धि स्मृति बाल तथा महिला अस्पतालको सचिव भई काम गर्दाको तीतामीठा अनुभव, भक्तपुर अस्पताल विकास समितिको अध्यक्ष भई काम गर्दाका तितामिठा अनुभव, उनको साहित्यिक यात्रा, नेपाल भारत मैत्री संघसँगको आबद्धता आदिका बारेमा धनमान श्रेष्ठ स्वयम्ले लेखेका छन्।  

स्वास्थ्य रचना खण्डमा धनमान श्रेष्ठले लेखेका पाँच वटा लेखनिबन्ध सङ्गृहीत छन् भने साहित्यिक सिर्जना खण्डमा उनीद्वारा लेखिएका एक दर्जन प्रतिनिधिमूलक कथाहरू सङ्गृहीत छन्। स्वैरकल्पनामा आधारित कथा ‘गङ्गालाल’ बेजोडको छ।

यसैगरी मानवीय संवेदना र मनोदशा केलाइएको कथा ‘कैदी’ पनि उत्तिकै सशक्त छ। यस कथामा एकातिर यौन आवेग र आग्रहको झिल्को छ भने अर्कोतिर त्यही झिल्कोबाट पीडित एउटा किशोरको पीडित मनोदशा पनि छ। छोटो र मसिनो कथानक भईकन पनि यो कथा निकै प्रभावशाली छ। ‘टाढाको सम्झना’ (२०३२), ‘यौटा उस्तै कथा’ (२०६४), ‘सम्बन्ध विच्छेद’ (२०७१), र ‘धनमानया ल्ययाः बाखँ (नेपाल भाषामा, २०७३) आदि गरी चारवटा कथासङ्ग्रह प्रकाशित छन्। सामाजिक यथार्थमा आधारित उनका कथाहरूमा मानवीय सम्बन्ध र संवेदनालाई मिहिन ढङ्गले केलाइएको पाइन्छ।

धनमान श्रेष्ठको लेखाइ एकदमै सरल छ। अनि लेखाइमा सहज प्रवाह पनि छ। देखेका, भोगेका र सुनेका कुराहरूलाई सिलसिलाबद्ध रूपमा लेख्न उनी पोख्त नै छन्। यद्यपि उनको संस्मरण लेखनमा सपाट वर्णन मात्रै छ। त्यसमा उनको निजात्मक वैचारिक पक्ष मिसिएर आउन सकेको छैन। वैचारिक पक्षको कमीले लेखाइ सपाट वर्णन मात्रै हुन पुगे पनि पाठकको मनमा उत्सुकता जगाउने र अन्त्यसम्म पाठकलाई तानिराख्ने आकर्षण भने उनको संस्मरण लेखनमा यथेष्ट छ। सरलता नै उनको लेखनको सुन्दरता बनेर आएको प्रतीत हुन्छ।

धनमान श्रेष्ठका संस्मरणात्मक लेखहरूमा यथेष्ट तथ्यपरक जानकारी पाउन सकिन्छ। तत्कालीन समयको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक सन्दर्भका दुर्लभ जानकारी उनका संस्मरणहरूमा पाउन सकिन्छ। कतै राजनीतिक इतिहास पठनको आभास हुन्छ भने कतै सामाजिक इतिहास पठनको। तीनतारे र चारतारे काङ्ग्रेसका फरक गतिविधिदेखि उनको नेपाल कम्युनिस्ट पार्टीको सदस्यता ग्रहणसम्मका तत्कालीन जानकारीले पाठकले आफू लाभान्वित भएको महसुस गर्ने छन्। डाक्टर नभईकन डाक्टरी कार्य गरेर समाजलाई लाभान्वित गरेका धनमान श्रेष्ठका सामाजिक सेवाका पाटाहरू पनि उजागर भएका छन् उनका संस्मरणहरूमा। स्वयम्सेवकका रूपमा शिक्षणसेवासमेत गर्न भ्याएका श्रेष्ठको मुख्य कार्य भने स्वास्थ्य सेवा नै रहेको छ।

अन्य व्यक्तित्वहरूद्वारा लिखित लेखनिबन्धहरूमा धनमान श्रेष्ठको व्यक्तित्वका फरकफरक आयामहरूलाई केलाउने प्रयास गरिएको पाइन्छ। धनमान श्रेष्ठ स्वयम्द्वारा लिखित लेखनिबन्धहरू र उनका बारेमा झन्डै दुई दर्जन प्रतिष्ठित व्यक्तित्वहरूद्वारा लिखित लेखनिबन्धहरूबाट यथार्थमा धनमान श्रेष्ठ कस्ता खालका व्यक्ति हुन्, समाजका र साहित्यसित उनको के-कस्ता सरोकार जोडिएका छन् र सामाजिक जीवनमा उनले गरेका कार्यहरूले समाजलाई के-कस्ता प्रभाव पारेका छन् भन्ने कुरा बुझ्न सकिन्छ। धनमान श्रेष्ठ सामाजिक आदर्श र प्रेरणाका स्रोत हुन् भन्नेमा कुनै सन्देह छैन। यो पुस्तकको पठनबाट पाठकले पठनको आनन्द मात्रै होइन, जीवनमा केही गर्ने र केही बन्ने प्रेरणा समेत पाउने छन्। यद्यपि व्यक्तिका बारेमा लेख्नुपर्दा बढी गुणगान गाउने, तर कमजोरीका पक्षहरूलाई छुस्स पनि नछुने प्रवृत्ति छ। यो प्रवृत्तिको सन्दर्भमा यो पुस्तक पनि अपवाद बन्न सकेको छैन।

प्रकाशित: १९ कार्तिक २०७९ ०२:११ शनिबार

अक्षर