कला

संस्कार र चेतना

कथा

अनु विज्ञाति

चुपचाप सही गर!

चुप! चुप!

अझ किन नटेरेको? आँसु नझार भनेको सुनिनस् तैंले। कति झार्दिरहिछे कुकुरको मुत। ए सम्झा तेरी छोरीलाई। सेतो धोतीमाथि सेतै समेज लगाएको मान्छे कड्कियो।  

‘छिटो सही गर् छोरी। तैंले सही नगरी काम अघि बढ्दैन रे। अझै ढिलो गर्‍यौ भने तिमीहरूको काम गर्दिन भनेर वकील रिसाउँदै छ। आज पनि सधैं जस्तै छोडेर जानबेर छैन।’आमाले सम्झाइन्।

मैले उनले सही गर्ने ठाउँमा कलमले संकेत गरेर दर्ता किताब  उनीतिर बढाएँ। औठा छाप जस्तो लागेर कालो मसीको छापदानी पनि तयारीमा राखें तर उनी सहीछाप गर्न चलमलाइनन्।

कालो रंगको कुर्था अनि त्यस्तै सलले पूरै शिरपाउँ ढाकेकी उनका आँखा मात्र देखिएका थिए।

दर्ता चलानी कोठाको सीधा अगाडि, फराकिलो प्यासेजको बिचमा कुनै महत्त्वपूर्ण प्रवचन भइरहेझैं गरी एक हूल मान्छे झुरुम्म परेर सुनिरहेका थिए।

अड्डामा यस्तो दृश्य मेरा लागि नौलो थिएन। त्यहाँ दिनहुँ यस्तै हुल आउँथे,जान्थे। यी हुलसँग अभ्यस्त मेरा आँखा अचानक त्यही हुलबाट निस्किएको चन्दने लेखनदाससँग ठोकिए। ऊ हुलबाट हुर्रिंदै मतिर नै आइरहेको थियो। दिनहुँ अड्डा आउनाले मसँग राम्रो चिनजान थियो उसको।

‘खै अझैसम्म सही गरेको छौ? ल यो निवेदन पनि जिम्मा लेओ। मलाई हतार छ। अब म भियाउँदिन तिमीहरूलाई मात्रा ढुकेर बस्न।’ ऊ जसरी आएको थियो उसैगरी हुर्रिंदै बाहिरियो।

मैले मनमनै सोचें, ऊ त्यो केश त्यतिकै छोडेर जान सक्दैन। हुन सक्छ त्यो उसको अरू पैसा झार्ने उपाय हो। बाहिरबाहिर मलाई हतार छ भनेर बाहिरिए पनि भित्रभित्र फर्काउन त आउलान् नि भन्ने सोचेको हुनुपर्छ त्यसले।

नभन्दै त्यस्तै भयो। ऊ निस्केपछि टेबल वरिपरि झुम्मिएर बसेकामध्ये एउटा अधबैंसे धोती सुर्किदै दगुर्‍यो। अलिपर पुगेपछि टाउको मात्र यता फर्काएर कड्कियो, ‘छिट्टो सही गर्न लगाएर ल्याओ त्यसलाई।’

टेबल वरिपरि झुम्मिएका मान्छे एकैचोटि उनीमाथि खनिए। एउटा युवक रन्कियो, ‘खुरुक्क सही गर नत्र म मारिदिन्छु त्यसलाई।’

अघिदेखि निहुरिएको उनको टाउको एकाएक ठाडो भयो। आत्तिएझैं गरेर उनले आँखा यताउति डुलाइन्। उनका आँखा ढोका बाहिरको हुलतिर हुत्तिए र त्यहाँबाट क्रमश सर्दैसर्दै ढोकाको कुनामा पुगेर अडिए।

अघिदेखि मुर्मुरिदै गरेको मुन्द्रे चर्कियो, ‘तँलाई त्यसको लास नै हेर्ने रहर छ भने सही नगर। घर हिंड्।’

चुल्ठो नै समाउँलाझैं गरेर झम्टियो ऊ। उनका लाचार भएर एकटक हेरिरहेका आँखा नराम्रोसँग झस्किए। रुख जस्तो नचलमलाई बसेको शरीर हल्लियो। हातहरू बिस्तारै उचालिए। दाहिने हात अगाडि बढ्यो। मैले कलम दिएँ। उनका हातहरू बेसरी कामिरहेका थिए। लाग्थ्यो, उनले कलम होइन तरवार समाउँदैछिन् र सधैंका लागि कसैको हत्या गर्दैछिन्।

दर्ता किताबमा हात पुग्नुअघि उनले पुनः एक दृष्टि  बाहिर फ्यालिन्। उनको अनुहार नराम्रोसँग बिग्रियो।

भारी मनले सही गर्न निहुरिएकी उनी निकै समयसम्म निहुरिरहिन्। उनलाई निकै समय लाग्छ भन्ने ममा पूर्व नजिर स्थापित थियो। अझ कतिले त नाम लेखेपछि मेरो नाम भयो भनेर पनि सोध्ने गरेका थिए मलाई। उनीहरू धेरैलाई आफैले लेखेको आफ्नो नाम पनि भयो भएन थाह हुँदैन थियो। स्कुल पढ्ने उमेरका उनीहरूको यो स्थिति देख्दा मेरो मन अमिलो हुन्थ्यो।

मेरो नजिर उनमा पनि लागू भयो। सही गर्न निहुराएको उनको मुन्टो धेरै समयपछि उठ्यो। उनले सही गरेको संकेत मिल्नेबित्तिकै पर्खिएर बसेका सबैको अनुहारमा सूर्य उदायो। त्यतिञ्जेल लगाएर लेखेको उनको नामचाहिं के रहेछ! मेरा आँखा दर्ता किताबमा ठोकिए। दर्ता किताबको पाना भिजेको देखेर म झस्किएँ। कसरी पोखियो त्यहाँ पानी? उनले सही गर्नुअर्घि भिजेको थिएन। जाडो महिना भएकाले पसीनालाई शंका गर्ने ठाउँ थिएन। अनि किन बग्यो त उनका आँखाबाट सप्तकोशी, बाँध फुटाएर पोखिए जस्तै। मेरा आँखा निवेदन दर्ताको पूरा विवरण हेर्न हतारिए।

वादी–अमिरा

प्रतिवादी–सलीम

मुद्दा–सम्बन्ध विच्छेद

कताकता नमिठोसँग मन दुख्यो। त्योभन्दा बढी त आफैप्रति अचम्म लाग्यो। सम्बन्ध विच्छेदका मुद्दा आउनेबित्तिकै वादी प्रतिवादीका अनुहार गहिरिएर हेर्ने म। आज मुद्दा दर्ता गरिसक्दा पनि पत्तै  पाइनछु। पदस्थापन भएर दर्ता फाँटमा बसेको एक महिनासम्म त सम्बन्ध विच्छेदका निवेदन दर्ता गरेको दिन, दिनभरि मन भारी हुन्थ्यो। मनमा अनेक कुरा खेल्थे। कसैसँग नबोल्नुझैं लाग्थ्यो तर आज मात्र दुई महिना भएको थियो त्यहाँ काम गर्न थालेको। कति अभ्यस्त भैसकेछु। अब त्यस्ता कुरा मेरा लागि काम मात्र बन्न थालेछन्।

अमिराको हुल बाहिरिएसंँगै प्यासेजमा बसेका एक हुल भित्र पसे। छसात जनाको त्यो हुलमा सही गर्न चाहिने मान्छेचाहिं रहेनछ।

तीमध्ये सेतै दारी फुलेको बुढो कड्कियो, ‘सलीम खोई?’

हुलका आँखा सलीम खोजीमा दौडिए। प्यासेज वरिपरि,बाहिर अनि भर्खरै बाहिरिएको हुलभित्र पनि। खोजेको मान्छे कतै नदेखेपछि उनीहरूको अनुहार बिग्रियो। एक अर्कामा मुखामुख गरे। कतिका अनुहारमा क्रोधको बिरुवा उम्रियो, हुर्कियो र एकैछिनमा विशाल रुख बन्यो।

‘यस्तो छोरा जन्मिनुभन्दा त न जन्मनु नै बेस।’ फेरि सेतो दारी भएको बुढो नै जंगियो। उसको रिस सगसँगै उसका आँखाको आयतन पनि बढेको देखियो। उसका भयंकर आँखा पुनः सलिमको खोजीमा निस्किए। केहीबेर भौतारिएका आँखालाई ढोकाको कुनाले तान्यो।

ऊ त्यहींबाट चिच्यायो, ‘खुरुक्क आएर सही गर। संसारमा त्योभन्दाबाहेक अरू केटी नै नभए जस्तो। एक महिनाभित्र योभन्दा सयौं गुणा राम्रो परिवारसँग तेरो बिहे गरिदिन्छु।’

बल्ल मैले बुझें, किन अमिराका आँखा त्यहाँ अडिएका रहेछन्। त्यही खैरो भेस्ट र हाफ पाइन्ट लगाउने केटा रहेछ निवेदनको प्रतिवादी सलीम। अमिराको अब केहीछिनसम्मको श्रीमान्।

गह्रौं शरीर लिएर सलीम ढोकाको च्यापबाट निस्कियो। उसको अनुहार मलिन थियो। सायद उसलाई सही गर्नु थिएन। सम्बन्ध विच्छेद गर्नु थिएन। अमिराको भन्दा राम्रो परिवारसँग बिहे गर्नु थिएन।

निकै कष्टले उसले पनि सही गर्‍यो। त्यसपछि त्यो हुलमा पनि शान्तिको सास निस्कियो। सलीमबाहेक सबै जना हँसिलो मुद्रामा बाहिरिए।

‘सम्बन्ध विच्छेदको मुद्दामा दुवैले सही गरेपछि कानुनका नजरमा सम्बन्ध विच्छेदका लागि दुवै पक्ष राजी भएको ठहरियो। अब इजलासमा निवेदन पेश गरेर सम्बन्ध विच्छेदको फैसला लिने अनि काम सकियो।’ प्यासेजमै चन्दने लेखनदासले हुलका मान्छेलाई बुझाउँदै थियो।

मलाई फाँटमा बसेर काम गरिरहन मन लागेन। कुन इजलासमा चढ्ने होला उनीहरूको पेशी? खुलदुली भयो। मैले भएका तीनै वटा इजलास चाहारें। तीनै वटा इजलासमा उनीहरूलाई नदेखेपछि मन अलिक हल्का भयो। लाग्यो सम्बन्ध विच्छेद नहुने भएछ क्यारे। तर यति सोची नसक्दै अड्डाको बाहिरपट्टि त्यही हुलमा नजर ठोकियो।  इजलासमा गएर के भन्नेबारे वकिलहरूको ट्रेनिङ चल्दै थियो सायद। एकैछिनमा दुवै समुह वकिलका साथ इजलासतिर लम्किए।

मलाई त्यो दृश्य निकै पीडादायक भयो।

आफ्नो टेवुलमा सेवाग्राही उभिएको देखेपछि म आफ्नै फाँटमा गए। त्यहाँ उही लेखनदास एउटा निवेदन लिएर उभिएको रहेछ।

मैले निवेदन समात्दै सोधें, ‘तपाईंले अघि ल्याएको सम्बन्ध विच्छेद किन हुन लागेको रहेछ दाइ?’

लेखनदासले जवाफ दियो,‘ए त्यो! त्यसको त निकै लामो कहानी छ। त्यस्तै दुःखद् पनि।

मैले सोधें,‘दुःखद् पनि? कस्तो दुःखद्?’

‘त्यो केटा र केटीको सम्बन्ध विच्छेद गर्ने मन नै छैन।’ उसले मुख खुम्च्याउँदै बोल्यो।

मैले आचर्य हुँदै सोधें,‘अनि?’

के हुनु हजुर। यिनीहरूको परम्परा नै उस्तो हो। केटाकेटी सानै हुदाँ उनीहरूका बाबुआमाले मगनी गरिदिएका रे। केटी केटाको घरमा बसेको तीन वर्ष भएको रहेछ। केटा पक्षको आरोप सम्झौता अनुसारको दहेज दिएनन् रे। केटी पक्षको आरोप सम्झौता बमोजिम दिए पनि पटकपटक थप दहेज मागिरहे रे। यही कुरामा दुई पारिवारको मनमुटाव भएको रहेछ। दुवै परिवार उस्तैउस्तै परेछन्। आआफ्नो घमण्ड पूरा गर्न सन्तानको खुसी हेरेनन् तिनीहरूले। केटाकेटी त एक अर्कासँग छुट्टिने कुरा गर्‍यो कि अँध्यारो मुख लगाउँछन्।

‘परिवारले भन्यो भन्दैमा सम्बन्ध विच्छेद किन गर्नुपर्‍यो?’ मैले सोधें।

‘नमानेर के गरूँ न्? आफै निर्णय गर्ने हिम्मत कहाँ छ यिनीहरूसँग। केटीको दाजुले सम्बन्ध विच्छेद गर्न मानिनस् भने केटालाई मारिदिन्छु भनेको रहेछ। अनि त कति गर्दा पनि नमानेकी केटी मानिछ। केटीतिर मात्र हो र हजुर, केटातिर पनि केटालाई मनाउन कम साह्रो पर्‍यो त। लगभग आठनौं  महिनादेखि यो केश हामीसँग थियो तर केटाकेटी निवेदनमा सही गर्नै मान्दैनथें। कहिलेकाहीं त निवेदन तयार गरी नसक्दै दुवै गायब हुन्थे। यिनीहरूकै लागि भनेर मैले आठदश निवेदन लेखे हुँला। तर कहिल्यै काम सकिएको होइन। त्यसैले त अघि म जंगिएको तर आजचाहिं काम फत्ते होला जस्तो छ।’ धाराप्रवाह लेखनदास बोलिरह्यो।

म सुनिरहें।

मैले नपत्याएर सोधें,‘यस्तो पनि हुन्छ र?’

‘उनीहरूको परम्परा नै यस्तै हो हजुर। जतिबेला सलीम र अमिरालाई बिहे के हो थाहा थिएन, त्यतिबेला बिहे गराइदिए। अब जब उनीहरू वैवाहिक बन्धनमा रमाउन चाहन्छन् उनीहरूलाई छुट्याउँदै छन्। तर, छुट्याएको नै ठीक छ। नत्र कुनै न कुनै दिन कुनै अप्रिय घटना घट्न सक्छ। उनीहरू यति हरामी हुन्छ्न्, तपाईं अनुमानसम्म गर्न सक्नु हुन्न।’ लेखनदासले आफ्नो भनाइ टुंग्यायो।

मेरो मनमा अनेक तर्क उब्जिए, यो समाजमा परम्पराको भारी अझै कति अमिरा र सलीमले बोक्नुपर्ने होला? भइसकेको विवाह तोड्न सकिन्छ भन्ने कानुनी चेतना भित्रिएको समाजमा दहेज लिने र दिने परम्परा अपराध हो भन्ने चेतना किन पस्न नसकेको होला? कतै कानुनको प्रयोग आफ्नो स्वार्थ पूरा गर्ने हतियारका रूपमा मात्र त भइरहेको छैन? खोई त सलीम र अमिरालाई स्वतन्त्रतापूर्वक बाँच्ने अधिकार? सम्बन्ध विच्छेदको निवेदनमा हस्ताक्षर गरेका सलीम र अमिराले, इजलासमा हाम्रै राजीखुशीले सम्बन्ध विच्छेद गर्न आएका भन्न सक्लान् त? अमिराको आँखाको सप्तकोशी विवशताको बाँधले छेक्न सक्ला की नसक्ला? योभन्दा महत्वपूर्ण कुरा फैसला गर्नुअघि निवेदनको व्यहोरा र उनीहरूको अनुहारको भाव दाँजेर हेर्लान् त न्यायाधीशले?

यस्ता हजारौं प्रश्नले मन उथलपुथल भएपछि म क्यान्टिनतिर लागें। त्यहाँ उही लेखनदास उज्यालो अनुहारमा गफ चुटिरहेको रहेछ, ‘के गर्नु हजुर कुनैकुनै त यस्ता हारामी हुन्छन् कि काम थाल्यो फत्ते गर्न नदिएर पैसा नै दिंदैनन्। आज बल्ल एउटा पुरानो केसको काम सकियो र दाम पाइयो।’

प्रकाशित: १४ कार्तिक २०७९ ०८:०९ सोमबार

अक्षर