कला

अनजान नाता

कथा

सूर्यप्रसाद लाकोजू

सीमा र प्रकाशको परिवार वषौंदेखि शहरको एउटै टोलमा बस्दै आएका थिए। तर, उनीहरू एक आपसमा कहिल्यै परिचित भएका थिएनन्। प्रकाश विश्वविद्यालयमा जब सीमाकै कक्षामा भर्ना भए र औपचारिक परिचयका क्रममा जब आफ्नो स्थानको परिचय दिए तब सीमा आश्चर्यमा परिन्। उनी आफैं पनि सोही टोलमा बस्दै आएकी थिइन्। तापनि आजसम्म एकले अर्कालाई देखेका थिएनन्।

एकै टोलमा बस्ने भएकाले दुवै जनाको औपचारिक परिचय विस्तारै मित्रतामा परिवर्तित हुँदै गयो। विश्वविद्यालयमा फुर्सदको समयमा उनीहरू निकैबेर सँगै रहन्थे। पढाइदेखि राजनीतिसम्मका कुरा गर्थे। उनीहरूको घनिष्ठता विस्तारैविस्तारै यति बढ्यो कि उनीहरू बीच वार्ताको विषयमा कुनै बन्धन रहेन। तर पनि दुवैले मर्यादाको सीमा कहिल्यै नाघेनन्।

समय कसरी बित्यो पत्तै भएन। दुई वर्ष अगाडि विश्वविद्यालयमा सँगै भर्ना भएका थिए। अर्को महिना उनीहरूको वार्षिक परीक्षा थियो। त्यसपछि दुवै आआफ्ना बाटो लाग्ने छन्। उनलाई आफ्नो जीवनका लागि नयाँ मार्ग पहिल्याउनु थियो। उनीहरूको यो मित्रता के हुन्छ, त्यो त भविष्यको गर्तभित्र थियो।

परीक्षा नजिकै आइसकेका कारण दुवैमा परीक्षालाई लिएर तनाव हुनु स्वाभाविक थियो। आजको प्रतिस्पर्धाको युगमा परीक्षामा सफल हुनु मात्र ठूलो कुरा होइन, आफूलाई सर्वश्रेष्ठ प्रमाणित गर्न पनि सक्नुपर्छ। यही विषयमा सीमा र प्रकाश चर्चा गरिरहेका थिए। त्यसै बेला सीमासँग भएको एउटा पुस्तक देखेर प्रकाशले भन्यो,‘सीमा के यो पुस्तक मलाई दुई दिनका लागि दिन सक्छौ?’

-के गर्छौ?

‘नोट तयार गर्दैछु। यसबाट जुन कुरा उपयुक्त हुन्छ त्यसलाई नोटमा जोड्छु।’

 पुस्तक दिंदै सीमाले भनिन्,‘अहिले लैजानु तर नोट बनिसकेपछि मलाई पनि दिनु है।’

‘ठिकै छ। तिमीले पनि नोट हेर्नु तर पहिले नोट त तयार गरूँ।’

सीमाले प्रकाशलाई पुस्तक दिइन्।

सीमासँग पुस्तक लिएर उसले पुस्तक आफूसँग राख्यो। त्यसपछि दुवै आआफ्नो घर गए।

प्रकाशले नोटस् तयार गरिसकेको थियो। एक हप्तापछि जब विश्वविद्यालयमा गएर सीमालाई पुस्तक फिर्ता गर्न जान लागेको थियो तब अचानक कुनै अज्ञात प्रेरणाका कारण उसले सीमालाई प्रेमपत्र लेखेर पुस्तकभित्र राखिदियो। विश्वविद्यालयमा जब सीमासँग उनको भेट भयो तब उसले पुस्तक दिंदै भन्यो, ‘सीमा, यो पुस्तक लेऊ। मैले नोटस् पूरा गरें।’

पुस्तक दिंदा प्रकाश केही असहज लागिरहेको थियो। सीमालाई यसको आभास भयो।उनले सोचिन्, ‘परीक्षाको तनावले यस्तो भएको होला!’

सीमाले भनिन्, ‘नोटस् तयार गर्न तिमीले धेरै परिश्रम गरे छौ।’

-होइन।

‘होइन भने तिमी यति नर्मस किन छौ?’

‘नोटस् तयार गर्ने चक्करमा रातभर राम्रोसँग सुतेको छैन। सायद त्यसैले तिमीलाई त्यस्तो लागेको होला।’ मूल कारण छुपाएर प्रकाशले उत्तर दियो।

‘छोड यी कुराहरू, भन मलाई नोटस् कहिले दिन्छौ?’

‘भोलि र पर्सि बिदा छ। त्यसपछि विश्वविद्यालय आउँदा नोटस् लिएरै आउँछु नि।’ सीमालाई आश्वस्त पार्दै प्रकाशले भन्यो।

सीमा पनि पुस्तक नखोलीकन आफ्नो बाटो लागिन्। दुई दिनपछि प्रकाश भयभित थिए। सीमाले पत्र पाएर मेरो बारेमा के सोचिरहेकी होलिन? ऊ मनमनै गुनगुनाइरहेको थियो। पत्र राखेकोमा उसलाई एक प्रकारले पश्चाताप पनि लागिरहेको थियो तर जे भैसकेको थियो त्यसलाई सुधार्न सकिने अवस्था थिएन। यस्तै विचारहरूमा अल्झिंदै ऊ विश्वविद्यालय पुग्यो। सीमालाई देखेर एकपल्ट आज त ऊ सीमाको अगाडि जाँदै नजाने विचार गर्‍यो।

त्यसै बेला सीमा नजिकै आएर बोलिन्, ‘के छ प्रकाश, अघिदेखि म तिमीलाई बोलाउँदै छु। तिमी भने सुन्दैनौ।’

‘सुनिन, देखेनौ वरपर कति कोलाहल छ?’ सच्याइ छोप्ने प्रयास गर्दै प्रकाशले भन्यो।

‘सुनिनौ कि मेरो अगाडि आउन चाहिनौ?’

‘यस्तो किन?’ शंकालु पारामा प्रकाशले सोध्यो।

‘तिमीले नोटस् ल्याएनौ नि। त्यसैले’ सीमाले कारण प्रष्ट गरेपछि प्रकाशको मनले राहतको अनुभूत ग¥यो। ऊ त पत्रलाई लिएर विचलित थियो। उसले सहज भएर भन्यो,‘तिमीले मागेको नोटस् मैले नल्यानु कहिले हुनसक्छ? ल लेऊ नोटस्।’

नोटस् हातमा लिंदै सीमाले भनिन, ‘धेरै सुन्दर नोटस्  बनाएछौ। अब मलाई किताब पढ्न पर्दैन।’

‘धन्यवाद’ भनेर आफ्नो पत्रबारे सीमाले केही पनि भनिन् भन्दै प्रकाश मनमनै सोच्न थाल्यो। सायद उसले देखिनन् कि तर यत्रो दिन हुँदा पनि उनले पत्र हेरिनन् भन्ने कुरा सम्भव छैन।

‘के सोचिरहेको? म यो नोटस् सारेर एक हप्तापछि फर्काउँछु।’

‘हुन्छ!’ प्रकाशले योभन्दा धेरै बोल्न सकेन।

यो घटना बितेको धेरै दिन भैसकेको थियो तर दुवैमध्ये कसैले पनि पत्रबारे कुनै चर्चा गरेनन्। परीक्षाको मिति घोषणा भैसकेको थियो। त्यसपछि दुई जना जबजब भेटे सधैं परीक्षा र पढाइमै केन्द्रित भएर मात्र कुरा गर्थे। तर, भित्रभित्रै  दुवैमा एक अर्काप्रतिको आकर्षण कम हुँदै थियो। कारण कुनै न कुनै रूपमा त्यही पत्र थियो। तर, दुवै त्यसको बारेमा केही भन्न चाहिरहेका थिएनन्। अन्तिम परीक्षापछि उनीहरूको विश्वविद्यालय आउने क्रम रोकियो र उनीहरूको भेटघाट पनि सम्भव भएन।

एमएको पढाइ सकिनेबित्तिकै सीमाको परिवारले उनको विवाह कानपुरमा गरिदियो। उनी कानपुर गइन्। प्रकाशलाई पनि केन्द्र सरकार अधिन जागिर मिल्यो। ऊ त्यहाँबाट दिल्ली गयो।

विद्यार्थी जीवनमा सीमालाई लिएर जून प्रेमको विरुवा प्रकाशको मनमा हुर्केको थियो त्यो बिस्तारै सुक्दै गएको थियो। प्रकाशले पनि विवाह गरेर दिल्लीमै घरजम गरेर बस्यो तर उनले सीमाको माया, उनीसँग बिताएका पलहरू भने बिर्सन सकेको थिएन। प्रेमपत्रलाई त उसले बिर्सिसकेको थियो तर उनको सम्झना भने भुल्न सकेन। एउटै शहरका बासिन्दा भएकाले पनि यस्तो भएको होला। त्यसैले कुनै न कुनै माध्यमबाट ऊ सीमाबारे जानकारी प्राप्त गथ्र्यो। जब सीमाले पहिलो सन्तानको रूपमा छोरालाई जन्माइन् तब उनका कुनै शुभचिन्तकले प्रकाशलाई उनी आमा बनेको खबर सुनाए।

कथाकार: राजेन्द्र परदेशी

वर्षौपछि जब ऊ आफ्नो शहर गएको थियो तब उसको एक मित्रले सीमालाई क्यान्सर भएको कुरा सुनायो। सायद अब उनी केही दिनको पाहुना हुन्। यो सामाचार सुनेर प्रकाशलाई धेरै दुःख लाग्यो।

उसले सोच्यो, ‘कानपुर गएर एकपल्ट भेट्नुपर्छ। दिल्लीबाट कानपुर जान अधिक समय पनि लाग्दैन।’

फेरि सोच्यो, ‘म त्यहाँ जाँदा उसका परिवारले के सोच्लान्!’

उसले आफ्नो मनोभावनालाई मनमै दबाएर राख्यो।

दिल्लीमा प्रकाशको पोस्टिङ भएको धेरै समय भैसकेको थियो। एकदिन अचानक उसलाई मुम्बई जान आदेश दिइयो। ऊ बच्चाहरूको पढाइलाई लिएर चिन्तित थिए। मुम्बई सिफ्ट भएपछि फेरि पूरा व्यवस्था नयाँ ढङ्गबाट गर्नुपर्ने हुन्छ। यहाँ त आफ्नै घर छ। त्यहाँ भाडामा  बस्नुपर्छ। त्यसमाथि बच्चाहरूको भर्नाको चक्कर पनि आइलाग्छ। यी सब कुरालाई विचार गरेर परिवारलाई दिल्लीमै छोडेर प्रकाश एक्लै मुम्बई जाने निर्णय गर्‍यो।

मुम्बईमा सरूवा भएको एक महिना पनि बितेको  थिएन। एक दिन प्रकाश कार्यालय जाने तरखरमा थिए। त्यसैबेला डोरबेल बज्यो। उसले ढोका खोलेर हेर्दा सोर-सत्र वर्षको एकजना केटा ढोका अगाडि उभिएको देख्यो। केटाले हात जोडेर नमस्कार गरेपछि प्रकाशले सोध्यो,‘के काम छ भाइ?’

‘अंकल,मेरी आमा क्यान्सरका कारण अस्पतालमा हुनुहुन्छ। उहाँले तपाईलाई भेट्न चाहनुभएको छ।’

‘म त तिमीलाई चिन्दिनँ। तिम्री आमाले झन् मलाई कसरी चिन्छिन?’

‘उहाँ तपाईलाई चिन्नुहुन्छ। उहाँ एमएमा तपाईसँगै पढ्नुहुन्थ्यो।’

‘तिम्री आमाको नाम के हो?’

-सीमा!

सीमाको नाम सुन्नासाथ प्रकाश अचम्भित भयो। ऊ ग्लानि अनुभूत गरिरहेको थियो। सीमालाई क्यान्सर भएको कुरा उसलाई थाहा थियो। त्यसपछि केके भयो उसले कहिल्यै बुझ्ने प्रयास गरेन। सीमा भने आज पनि मेरो बारेमा पूरा जानकारी राख्दिरहिछिन्।

उसले सोध्यो, ‘बाबु,तिमीले म यहाँ बस्छु भन्ने कुरा कसरी थाहा पायौ?’

‘तपाई दिल्लीबाट मुम्बई आउनुभएको कुरा मम्मीले भन्नुभएको थियो। उहाँले मलाई तपाई कहाँ बस्नुहुन्छ भन्ने कुरा पत्ता लगाउन तपाईको अफिसमा पठाउनुभएको थियो। तपाईकै अफिसबाट तपाईको ठेगाना जानेको हुँ।’

केटाको कुरा सुनेर उसलाई पश्चाताप लाग्यो। ‘मैले सुखमा मात्र सीमालाई सम्झें। अहिले सीमा मृत्युसँग लडिरहेको बेलामा पनि मैले एकपल्ट कस्तो छ भनी सोध्न र भेट्न सकिन।’

प्रकाश यस्तै सोच्दै थियो।

त्यसैबेला केटोले भन्यो, ‘अंकल, यदि अहिले तपाईसँग समय नभए फुर्सदमा मम्मीसँग एकपल्ट भेट्नु होला।’

‘हैन बाबु म अहिले नै तयार भएर तिमीसँग जाँदैछु।’

‘तपाईलाई अफिस पनि जानुपर्छ होला नि?’

‘आज म विदा लिन्छु।’ भन्दै प्रकाशले मोबाइलबाट आफ्नो अधिकारीसँग कुरा गरेर विदा लियो।

बिदा लिएपछि केटासँग ऊ अस्पताल गयो। उनले त्यहाँ बेडमा पल्टिरहेकी ओइलिएकी फूल जस्ती सीमालाई देखे। कुनै बेला सौन्दर्यको प्रतिमूर्तिजस्तै लाग्ने सीमा आज उनको शरिर पूरै गलेको थियो। प्रकाशलाई देख्नेबित्तिक्कै उनले नमस्कार गरिन् र नजिकैको स्टुलमा बस्न आग्रह गरिन्। उनले छोरालाई चिया ल्याउन भनिन्।

छोराचाहिं जब चिया लिन गयो प्रकाशले स्टुल अझ नजिकै सारे जसले गर्दा कुराकानी गर्दा कुनै अपठ्यारो नपरोस्। उसले सीमाको स्वास्थ्यबारे केही सोध्न खोजिरहेका थिए। त्यसैबेला सीमाले भनिन्, ‘प्रकाश, तिमीले मेरो पुस्तकमा एउटा पत्र लेखेर दिएका थियौ। के तिमीलाई अहिले पनि याद छ?संकोचवश तिमीले मेरो हातमा दिन सकेका थिएनौ।’

सीमाले कुरा अगाडि बढाउनुभन्दा पहिले प्रकाशले भन्यो, ‘यो कुरालाई छोड अब, आयो र गयो। जुन कुराको आज औचित्य नै छैन यतिका दिनपछि त्यसलाई दोहोर्‍याएर के फाइदा? बरु भन तिमीलाई अहिले कस्तो छ? डाक्टरले के भनेको छ?’

प्रकाशको कुरालाई सुनेको नसुनेझैं गरेर सीमाले भनिन्, ‘विमारीको औषधी डाक्टरले गरिरहेकै छ। तर, तिम्रो मनमा सीमाले त्यो पत्र हेरे कि हेरेनन् भन्ने प्रश्न त होला नि? मैले तिम्रो पत्र बाटामै पढेकी थिएँ। घरमा पुग्नासाथ आफ्नी आमालाई दिएकी थिएँ। सहमति लिन पत्रका बारेमा बुबा र हजुर बालाई बताउनुभयो। आमाको कुरा सुनेर र तिम्रो परिवारका बारेमा जानेर दुवैले एकै स्वरमा यो नाता कहिल्यै पनि जोडिन सक्दैन भने। मलाई जुन कारण बताइयो त्यो सुनेपछि म आफै शून्यमा हराएँ। त्यसैले तिमीलाई उत्तर दिन सकिन।’

‘हामी बीच वैवाहिक सम्बन्ध हुन नसक्ने त्यस्तो के कारण थियो?’ प्रकाशको मनमा सत्य कुरा थाहा पाउने उत्सुकता बढ्यो। अहिलेसम्म उसले सीमालाई नै दोषी मानिरहेका थिए। तर, सीमाले आफ्नो सम्बन्धलाई लिएर आमालाई भन्ने साहस देखाएकी थिइन्। साँचो कुरा जान्न सोधेपछि उनले भनिन्, ‘सच्चाइ जानेपछि मेरो परिवारले मात्र होइन तिम्रो र सबैको परिवारले त्यही गर्थ्यो।’

सीमाको कुरा सुनेर प्रकाशले आफू कहाँ छु भन्ने कुरा नै बिर्सियो। ऊ अलि झर्केर बोल्यो, ‘सही कारण पनि बताउँछौ कि खाली कहानी मात्र सुनाएर बस्छौ?’

‘तिमीलाई थाहा नै छ मेरो र तिम्रो परिवार एकै गाउँबाट शहरमा बसाइ सरेर आएका हौं। तर,हामीलाई थाहा थिएन कि मेरो हजुर बुबा र तिम्रो हजुरबुबा दुई जना साखै दाजुभाइ  हुन्। गाउँमा जमिनको कुरालाई लिएर उनीहरू बीच ठूलो झगाडा भयो। त्यो झगडा शहरमा आएर पनि सकिएन। परिणाम शहरको एकै टोलमा रहेर पनि हामी एक अर्कासँग अपरिचित रह्यौं।’

सीमाको कुरा सुनेर प्रकाश विवेकशून्य भयो। केही बेरपछि सहज हुँदै प्रकाशले भन्यो, ‘शहरमै हजुरबुबाको भाइ पनि बस्छन् भन्ने कुरा त परिवारका कसैले नि हामीलाई भनेन् ।’

‘के तिमीले कहिल्यै सोधेका थियौ?’

‘अहँ, हामीलाई केही थाहा थिएन।’

‘अनि कसरी थाहा हुन्छ त!’ सीमाले अझ प्रष्ट पारिन। उनले थपिन्, ‘यदि मैले तिम्रो पत्रबारे आमालाई नभनेको भए मलाई पनि थाहा हुन्नथ्यो।’

यति भनेर सीमाले आफ्नो तकियामुनि राखेको पर्सबाट एउटा कागज निकालेर प्रकाशतिर बढाउँदै भनिन्, ‘लेऊ, यही पत्र हो मलाई तिमीले पुस्तकभित्र राखेर दिएको। त्यो बेला त मैले तिम्रो पत्रको उत्तर दिन सकिन तर आज दिंदैछु।’

प्रकाशले हात बढाएर पत्र लियो र हेर्‍यो। उसले सीमालाई दिएको पत्र नै रहेछ। तर, त्यसमा बाँधिएको थियो दुवैको अनजान नाता दर्शाउने धागो।

(कथाकार राजेन्द्र परदेशीको उक्त कथा सूर्यप्रसाद लाकोजूले अनुवाद गरेका हुन्।)

प्रकाशित: ११ कार्तिक २०७९ ०८:५२ शुक्रबार

अक्षर