कला

‘अनुराग’ तेस्रो छेस्कासंग्रह सार्वजनिक

लुम्बिनी वाङमय प्रतिष्ठान अर्घाखाँची शाखाको  आयोजनमा कवि ज्ञानबहादुर क्षेत्रीको छेस्का कवितासंग्रह ‘अनुराग’को विमोचन भएको हो। लुम्बिनी वाङमय प्रतिष्ठानका अध्यक्ष ऋषिराज आचार्य आजाद तथा छेस्का साहित्य नेपालका सदस्य ओम आचार्यले कृतिको विमोचन गरेका थिए।

पाणिनी बहुमुखी क्याम्पसका प्राध्यापक माधवराज चुदालीले उक्त कृतिको समीक्षात्मक टिप्पणी गरेका थिए। उनले कृतिबारे टिप्पणी गर्दै अर्घाखाँचीले एउटा साहित्य कीर्तिमान कायम गरेकोमा गौरव गर्नुपर्ने बताए।

लुम्बिनी वाङमय प्रतिष्ठान अर्घाखाँची शाखाका अध्यक्ष लिलामणि ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा ओम आचार्यले छेस्का कविता र छेस्का साहित्य नेपालको गतिविधिबारे प्रकाश पारेका थिए।

कार्यक्रममा प्रमुख व्यक्तित्व साहित्यकार समालोचक ऋषि आचार्य आजादले लुम्बिनी वाङमय प्रतिष्ठानले कवि ज्ञानबहादुर क्षेत्रीको छेस्का कवितासङ्ग्रह अनुरागको प्रकाशन गर्न पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा अन्य सर्जकका कृति पनि प्रकाशनमा ल्याइने बताए।

कवि तीर्थ आचार्यले सञ्चालन गरेको कार्यक्रममा कृतिकार कवि ज्ञानबहादुर क्षेत्रीले आफ्नो साहित्यिक यात्राबारे बोलेका थिए।

नेपाली काव्य साहित्यको लघुतम रूप छेस्का कविता लेखनको शुभारम्भ विनोद नेपालले गरेका हुन् र यसअघि नौ जना छेस्का कविता अभियन्ता टङ्क पन्थ, विनोद नेपाल, खगेन्द्र बस्याल, जयनारायण नेपाल, हृदय लेकाली, एलपी पराजुली, ओम आचार्य, किशन पौडेल र मुरारीराज मिश्रको   ‘अभिव्यञ्जना’ नामक संयुक्त र एलपी पराजुलीको  ‘छनक’ एकल छेस्का कविता कृति प्रकाशित भइसकेका छन्।

प्रकाशित: ११ कार्तिक २०७९ ०१:४७ शुक्रबार

अक्षर