कला

पेरोलले मनायो देवकोटा जयन्ती

पेरोल साहित्य प्रतिष्ठान नेपालले विविध कार्यक्रम गर्दै महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय चौधौं जन्मजयन्ती मनाएको छ।

देवकोटाको १ सय चौधौं जन्मजयन्तीको अवसरमा पेरोल साहित्य प्रतिष्ठानद्वारा प्रकाशित तीन कृति विके पाल्पालीको ‘हाइकु कसरी लेख्ने सिद्धान्त सूत्र’ महेश पौड्यालद्वारा अनुदित ‘द हाइकु थेरोटिकल म्यान्युल’ र कमला घिमिरेका हाइकुसंग्रह ‘महको महल’ र बालकवितासंग्रह ‘मामाघर’ को लोकार्पण गरिएको छ।

महाकवि देवकोटाको तस्वीरमा मार्ल्यापण गरेर सुरु भएको कार्यक्रममा वरिष्ठ समालोचक महेश पौड्यालले नेपाली साहित्यमा देवकोटाको अतुलनीय योगदान रहेको बताए। उनले भने,‘नेपाललाई केन्द्रीयतामा राखेर देवकोटाले कसरी तिब्बत, ग्रीस, युरोप जस्ता धेरै ठाउँलाई लेखनीमा समावेश गरे, त्यसको अध्ययनअनुसन्धान गर्न बाँकी छ। अब यस विषयमा चासो देखाउनुपर्ने बेला भएको छ।’

साहित्यकार रामबाबु सुवेदीले देवकोटाको गरीब कविता वाचन गर्दै उनलाई सम्झेका थिए।

कार्यक्रममा प्रमुख अतिथि मञ्जु काँचुली, रामबाबु सुवेदी, पेरोल साहित्य प्रतिष्ठान नेपालका अध्यक्ष रेणुका भट्टराई, महेश पौड्याल, काव्यघर झापाका राजकुमार खड्गाले कृतिको लोकार्पण गरेका थिए।

साहित्यकार पुष्कर लोहनीले महको महल हाइकुसंग्रह ‘महको महल’मा राजनीति व्यंग्य, मानवीय संवेदना, प्रेमप्रणय, विछोड जस्ता विविध विषय समेटिएको बताए।

त्यसैगरी साहित्यकार ललिता दोषीले बालकवितासंग्रह ‘मामाघर’ का कविताले बालबालिकालाई मनोरञ्जन दिंदै उनीहरूको ज्ञानको दायरा फराकिलो बनाउने बालउपयोगी पाठ्यसामग्री आएको बताइन्।

पेरोल साहित्य प्रतिष्ठान नेपालले मोफसलमा बसी साहित्य साधना गरेबापत काव्यघर झापा एवं एभरेस्ट न्यूज टेलिभिजनका पत्रकार/लेखक राजकुमार खड्गालाई पेरोल साहित्य स्रष्टा सम्मान २०७९ बाट सम्मान गरिएको थियो।

कृतिकार कमला घिमिरेले सुरुसुरुमा लेखेर बालबालिकालाई सुनाउने मात्रै गरेको र लकडाउनको समय उपयोग गर्दै सम्पादन गरेको सिर्जनालाई पुस्तककार रूप दिएको बताइन्।

कार्यक्रमका प्रमुख अतिथि साहित्यकार मञ्जु काँचुलीले सानो छँदा देवकोटा पदक पाएको सम्झिदै देवकोटाको नेपाली साहित्यमा अतुलनीय योगदान रहेको बताइन्।

त्यसैगरी काँचुलीले विके पाल्पालीको ‘हाइकु कसरी लेख्ने सिद्धान्त सूत्रलाई साहित्यकार महेश पौड्यालले अंग्रेजीमा द हाइकु अ थ्योरोटिकल म्यानुअल अनुवाद गरेर सुनमा सुगन्ध थपेको बताइन्।

प्रकाश समीरले चलाएको कार्यक्रममा स्रष्टाहरू: अन्जना पौडेल, विक्रमभक्त जोशी, सानु शर्मा, श्रीराम राई, गायक सन्देश पौडेल लगायतको उपस्थिति रहेको थियो। 

प्रकाशित: ७ कार्तिक २०७९ १०:४१ सोमबार

अक्षर