कला

‘असुरक्षित गुलाब’मा काव्यिक सौन्दर्य

पुस्तक

रिता अधिकारी ‘ऋतु

पूर्वापर प्रसङ्गदेखि आफैमा स्वतन्त्र र पूर्ण रहेको मुक्तक काव्यको लघुत्तम रूप हो। खास गरी चतुश्पदीय शैली र स्वरूपमा बढ्ता प्रचलित र प्रभावकारी छ मुक्तक। पहिलोमा विषयको उठान, दोस्रोमा विस्तार तथा विकास, तेस्रोमा उत्कर्षका साथ ऊर्जामय तयारी र अन्तिममा प्रहार गर्ने, पहिलो, दोस्रो र अन्तिममा अन्त्यानुप्रास पनि मिलेको तर तेस्रो स्वतन्त्र रहेको शैलीलाई मुक्तकको मानक शैली मान्ने प्रचलन छ।

समाज असुरक्षा र अविश्वासको चरम भुमरीमा छ। केही कुराको कुनै नियमितता छैन। पारदर्शिता छैन। जवाफदेहिताको अभाव छ। मान्छेहरू मात्रै अरूलाई दोष लगाएर आफू पानीमाथिको ओभानो हुने कोसिसमा छन्। जो अगुवा छ, उही बदमास छ। छैनन्, कोही कसैप्रति जिम्मेवार छैनन्। जसलाई हामीले विश्वास सुम्पेका छौं, सबैभन्दा धेरै अविश्वास उसैबाट छ। सुन्दर, कोमल र मूल्यवान वस्तुहरू झनै असुरक्षित छन्। छोरीहरूको असुरक्षाको शृंखला त भ्रूणदेखि नै सुरु छ, हाम्रो समाजमा। यस्तै असुरक्षाको एउटा सुन्दर बिम्ब हो मुक्तककार जीवनसागर भण्डारीको ‘असुरक्षित गुलाब।’  

माटोको सुगन्ध, सामाजिक विकृति विसंगतिमाथिको चिरफार, राजनैतिक दाउपेच र धोकाघडीमाथिको चित्रण, सचेत विद्रोह, आक्रोश, धार्मिक, सांस्कृतिक तथा दार्शनिक चिन्तनमाथि लेखिएका र कृति समर्पणको सापेक्षमा लेखिएको मुक्तक समेत हिसाब गर्दा एक सय आठ मुक्तक छन् ‘असुरक्षित गुलाब’मा। समाजमा जरा गाडेर बसेको हत्या, हिंसा र असुरक्षाका प्रति उनका मुक्तकहरू बढ्ता छोइने भएर बोलेका छन्। सरल, सहज र बोधगम्य लेखन उनको लेखकीय विशेषता हो। समाजमा व्याप्त भ्रष्टाचार, अनियमितता र अव्यवस्थालाई यौटा सचेत नागरिकको हैसियतले नजिकबाट नियालेका मुक्तककार भण्डारी यसो भन्छन्-

मेरो एउटा छिमेकी अधिकृत भयो

केही दिनमै भ्रष्टसँग एकीकृत भयो

भ्रष्टाचार विरुद्धमा मुद्दा के हालेथेँ

म दण्डित भएँ, ऊ पुरस्कृत भयो।

संसार भन्नु एउटा सुन्दर भ्रम हो। हामी भूलभुलैयामा बाँचिरहेछौं। हाम्रा अग्रज तथा हाम्रा नायकहरू अझै सुन्दर भ्रम बाँडिरहेका छन्। उनीहरू जे हुन्, त्यो देखिन्नन् र जे होइनन्, त्यो हुने अभिनय गर्न अभ्यस्त छन्। हामीले बाँचेको समयको सुन्दर तस्बिरलाई अत्यन्त सूक्ष्म रूपमा प्रभावकारी ढंगले उतार्न सक्नु र सामाजिक सचेतनाका पक्षमा आफूलाई उभ्याउनु मुक्तककारको वैशिष्ट्य हो।

प्रेममा आशक्ति, समर्पण या सम्मोहनलाई सामान्य नै मानिन्छ। प्रेमीहरूको भाषा मनमोहक हुन्छ। उनीहरू असामान्य तवरले सामान्यीकरण गरिरहन्छन् आफ्ना प्रेमिल अभिव्यक्तिहरू। मुक्तक पढेर अन्तिमसम्म पुगेपछि त्यसको सौन्दर्यमा अझ बढोत्तरी हुने र पाठकले फेरि अघिल्ला पङ्क्तिहरूमा फर्किएर थप आनन्द अनुभूत गर्नु वृत्ताकार मुक्तकको सौन्दर्य हो। शक्ति पनि हो। यस्तोमा जीवन पनि खप्पिस लागे मलाई।

सम्झियो कि सम्झनाको पाटै बसाउँछ

ढुङ्गै बसाउँछ नि बरै माटै बसाउँछ

हुने हो कि नहुने हो भेउ पाउनै सकिएन

धरोधर्म उनी हिँड्ने बाटै बसाउँछ।

भण्डारीका अधिकांश मुक्तकहरूमा विचार, चिन्तन, सोच र अर्थको अनन्त गहिराइ भेटिन्छ। मुक्तकमा लेखिएका पङ्क्तिले भन्न खोजेको कुराभन्दा पाठकको चिन्तन र सोचको गहिराइले अनुभूत गर्न सक्ने उज्यालो झन् सुन्दर छ। अर्थ संकुचनबाट मुक्त छन् प्रायः मुक्तकहरू:

मान्छे आफ्नो वा बिरानो कसरी बन्यो?

मन्दिरको दिवार वा छानो कसरी बन्यो?

मूर्तिमा निधार रगड्नेहरूले भनून् 

त्यै मूर्ति बनाउने सानो कसरी बन्यो?

राज्य व्यवस्थाभन्दा पनि उनको असन्तुष्टि राजनीतिक नेतृत्व र पार्टीहरूप्रति बढ्ता छोइने भएर मुखरित भएको छ। आफ्नो पार्टीमा हुन्जेल र नेतृत्वले जे जसो गर्दा पनि चुपचाप जीहजुरी गरुन्जेल जो पनि इमान्दार ठहरिने तर अलिकति आफ्नो विवेक प्रयोग गर्न सुरु ग¥यो अथवा कुनै विषयमा सामान्य विमति मात्रै जनायो र नेतृत्वको अभिष्टका प्रति औंला उठायो भने गद्दार करार गर्ने आजको राजनीतिक दाउपेचप्रति उनको खबरदारी छ:

कुनै बेला मलाई इमानदार भनियो

पार्टीकै शान अनि आधार मानियो

नेतृत्वप्रति असन्तुष्टि के जनाएथें

भोलिपल्टै भ्रष्ट र गद्दार भनियो।

को कसको हो? कसले कसलाई आफ्नो भन्ने? केका आधारमा कसलाई पराय भन्ने? साँच्चै आफ्नो, अर्को कसरी थाहा हुन्छ? के रगतको नाता हुनेहरू सबै आफ्ना हुन्? कृतिमा आफन्त र पराईको सम्बन्धलाई दार्शनिक ढंगले अर्थ्याइएको छ:

विभीषण रामका भाइ थिएनन्

राम हनुमानका दाइ थिएनन्

आफ्नो अर्को भन्नु यस्तै रहेछ

दुर्योधन द्रौपदीका पराई थिएनन्।

उनका मुक्तकहरू पढिसकेपछि लाग्छ, गुलाब असुरक्षित भए पनि नेपाली मुक्तक विधा असुरक्षित छैन। सुन्दर र शक्तिशाली मुक्तकहरू हिजो पनि सम्मानित थिए, सुरक्षित थिए र भोलि पनि हुने छन्।

प्रकाशित: ५ कार्तिक २०७९ ०३:४७ शनिबार

अक्षर