नारायण घिमिरे प्राकृतिक चिकित्सा विज्ञान र हिलिङ फुड निर्माणका क्षेत्रमा दशकौंदेखि लागिपरेका व्यक्ति हुन्। लेखक घिमिरेको भर्खरै ‘रैथाने चाडबाड र खानपान’ नामक पुस्तक शिखा बुक्सले प्रकाशन गरेको छ। हामीले ज्यादै विश्वास गरेको पश्चिमा चिकित्सा विज्ञान र यसबाट गरिने उपचार पद्धतिमा रहेका कमजोरीहरूको आलोचनात्मक विश्लेषण गरी चिकित्सा विज्ञानको सही बाटो कुन हो भन्ने कुरा लेखक घिमिरेले पुस्तकमा प्रस्तुत गरेका छन्।
यस पुस्तकमा खाद्य विज्ञानका विभिन्न व्यावहारिक प्रयोग र हाम्रा सास्कृतिक अभ्यासबीचको अन्तर्निहित सम्बन्ध राम्ररी केलाइएको छ। हाम्रा सांस्कृतिक वैभवहरूको वैज्ञानिक आधार पुनर्पुष्टि गर्दै र हामीले खाने गरेका विविध किसिमका परिकारहरूमा रहेका औषधीय गुणहरू पुस्तकले प्रस्तुत गरेको छ। नेपाली सांस्कृतिक अभ्यासमा प्रचलित खाद्य परम्पराको वैधानिकता र वैज्ञानिकताको विश्वासिलो आयाम बोकेर आएको यस पुस्तकले खानपिनसँग सम्बन्धित हाम्रा सबैजसो भ्रमहरू चिर्ने प्रयत्न गरेको छ र यस प्रयत्नका निम्ति लेखक घिमिरेले खाद्य पदार्थहरूको रासायनिक विश्लेषण बाट प्राप्त तथ्यहरू अत्यन्त विश्वसनीय ढंगले हाम्रा अगाडि अगाडि राखिदिएका छन्।
पूर्वीय चिकित्सा पद्धतिप्रति लेखकको स्पष्ट झुकाव र लगाव पुस्तक पढ्ने क्रममा हामी अनुभूति गर्न सक्छौं। पश्चिमाहरू पनि वर्तमान समयमा चिनियाँ र आयुर्वेदीय चिकित्सा पद्धति तर्फ ज्यादै आकर्षित बन्दै गएका छन्। पूर्वीय चिकित्सा पद्धतिहरूमा पनि लेखकले आयुर्वेद चिकित्सा पद्धति र चिनियाँ चिकित्सा पद्धतिको वैज्ञानिक आधार र लोक मान्यताका अनेक आयामहरूमाथि प्रामाणिक सम्बन्ध खोजी आयुर्वेद चिकित्सा पद्धतिको प्रभावकारिता र उपचारात्मक श्रेष्ठताको वकालत गरेका छन्। आयुर्वेद चिकित्सा पद्धति प्रतिको उनको लगातार आकर्षण हामीलाई बिलकुलै अस्वाभाविक लाग्दैन। पूर्वीय जीवन पद्धतिमा प्राचीनकालदेखि नै औधी आदर गरिएका र सांस्कृतिक रूपमा उपयोगी ठानिएका धेरै चिजहरू हाम्रा लागि अझै पनि कामलाग्ने चिजहरूकै रूपमा रहेका छन्।
गाईको शुद्ध घिउ, बेसार, तुलसी, अदुवा, मरिच, अलैंची, जेठी मधु, मेथी, ज्वानो, धनियालगायतका चिजहरू हाम्रा भान्साका मसला मात्रै होइनन्, यी त वास्तवमा ओखतीका गुन बोकेका ज्यादै गुनिला वस्तुहरू पनि हुन्। आज हामीले आफूलाई स्वस्थ बनाउन एलोप्याथिक चिकित्सा पद्धतिलाई अनावश्यक रूपले अति धेरै विश्वास गरिरहेका छौं तर हाम्रो आफ्नै घर आँगनमा पाइने विभिन्न किसिमका रैथाने जडीबुटीहरूलाई बेवास्ता गर्दै गएका छौं, तिनको महŒव भुल्दै गएका छौं र हामी जिउँदो छँदा नै हाम्रा घर आँगनमै भएका जडिबुटीहरू बिराना बन्दै गएका छन् तर वस्तुतः यस्तो किसिमको अवस्था हुनु अवश्य राम्रो होइन। यसै गरी हाम्रो शिक्षा पद्धतिमा पनि धेरै समस्याहरू छन् हाम्रा आनी बानी, खानपिनको शैली अनि स्वस्थ रहने परम्परा आदि अनेकौं विषयमा खाद्य विज्ञ घिमिरेले अत्यन्त तथ्यपरक विवरण र विश्लेषणहरू हाम्रासामु पस्किएका छन्। प्रदूषण र तनाव, गलत खानपान र सोच विचार, नकारात्मकता र ईष्र्या जलन र अति व्यस्तताले हाम्रो जीवनशैली एकदमै जटिल बन्दै गएको कुरा हामी सबैलाई थाहा छ। यद्यपि पनि हामीले आफूलाई बदल्न सकिरहेका छैनौं। योग र ध्यानका संस्कार र संस्कृतिका अनेकौं अलौकिक आयाम हुँदाहुँदै पनि हामीले आफैसँग भएका अनमोल रत्नहरू भिल्लहरूको देशमा मणि मिल्किएजस्तै जस्तै मिल्की रहेका छन्।
पुस्तकमा खाद्य पदार्थहरूको गुण र दोषको रासायनिक विश्लेषण र संश्लेषण गरी तिनीहरूको प्रामाणिकता राख्ने प्रयत्न गरिएको छ, जसले गर्दा खाद्यपदार्थमा भएका पोषकतत्वहरू अनुमानका भरमा नभई वैज्ञानिक आधारशिलामा टेकेर उभिएका छन्। कतिपय मानिसहरू हाम्रा चाडपर्वहरू र तिनको अवैज्ञानिकता र तिनको शोषणमूलक चरित्रका बारेमा बोलेर खुलेका छैनन्। पुस्तकमा तोरीको तेल, खसीको मासु, सेलरोटी, विभिन्न किसिमका सुख्खा फलहरू र यी खाद्यपदार्थहरू कति गुनिला छन् भन्ने कुरा हाम्रा सांस्कृतिक अभ्यासहरू र तिनको प्राचीनताबाट अनुभव गर्न सकिन्छ। हाम्रा डाक्टरहरू प्रायः कसैले पनि रातो मासु अर्थात् खसीको मासुप्रति वा मांसाहारप्रति सकारात्मक देखिन्नन्। यद्यपि पुस्तकका लेखक घिमिरे चाहिँ खसीको मासुका औषधीय तत्व र पौष्टिक तत्वप्रति सकारात्मक छन्। प्राकृतिक चिकित्सा विज्ञान, खाद्य विज्ञान र आयुर्वेदमा रुचि हुने सम्पूर्ण पाठकहरूका निम्ति यो पुस्तक संग्रहणीय छ।
प्रकाशित: ५ कार्तिक २०७९ ०२:३३ शनिबार