कला

समकालीन नेपाली निबन्ध लोकार्पण

शंकर लामिछाने प्रतिष्ठानले सम्पादक श्रीओम श्रेष्ठ रोदनको ‘समकालीन नेपाली निबन्ध’ कृतिको लोकार्पण गरेको छ।

भुँडीपुराणद्वारा प्रकाशित उक्त कृतिको लोकार्पण राधेश्याम लेकाली, सम्पादक श्रीओम श्रेष्ठ ‘रोदन’  भुँडीपुराण प्रकाशनका प्रबन्ध निर्देशक केशव पराजुली, समालोचकहरू: प्रमोद प्रधान, डा. शान्तिमाया गिरी र सुधा शर्माल लोकार्पण गरेका थिए।

भुँडीपुराण प्रकाशनका केशव पराजुलीले स्वागत मन्तव्य दिंदै कार्यक्रम सुरु भएको थियो।

डा. शान्तिमाया गिरीले आत्मपरक निबन्धको खाँचो भएको बेला ‘समकालीन नेपाली निबन्ध’ कृतिले त्यसको खाँचो पूरा गरेको बताइन्। चवालीस निबन्धकारका चवालीस निबन्ध सङ्गृहीत उक्त कृति  नेपाली निबन्ध क्षेत्रमा निकै उपयोगी देखिन्छ। निबन्ध विधाको खोजअनुसन्धान तथा अध्ययन गर्ने व्यक्तिका लागि कृतिले असल साथीले जस्तै साथ दिनेछ।

त्यस्तैगरी आत्मपरक निबन्धमै दर्शनाचार्य गरिरहेकी सुधा शर्माले चवालीस निबन्धकारका विविध विषय-सन्दर्भ, वैचारिक दृष्टिकोण, भाषाशैली र प्रस्तुतिका निबन्ध सङ्गहीत भएको बताइन्।

समालोचक प्रमोद प्रधानले हास्यव्यंग्य  र यात्रानिबन्ध धेरै र आत्मपरक निबन्ध थोरै भएको बेला सो कृतिले आत्मपरक निबन्धमा थप टेवा पुयाउने बताए।

समालोचक प्रधानले भने, ‘यो कृति आत्मपरक निबन्धको मनोरम यात्रा हो। नारी स्रष्टा उल्लेख्य रूपमा समेटिनु, विविधातापूर्ण निबन्ध हुनु र जीवनदर्शन घनीभूत रूपमा समेटिनु कृतिका सबल पक्ष हुन्। यस निबन्ध संग्रहले नेपाली निबन्धको यात्रालाई सहज बनाइदिएको छ।’ 

समालोचक प्रधानले समालोचक अनुसन्धातालाई गहन अध्ययन र चिन्तन गर्न सुझाए। उनले भने,‘हामी अध्ययनशील छैनौ। अरूको सामग्री खुरुखुरु सार्छौ। यसले गर्दा गलत सूचना प्रवाह भएको छ। पहिलाकाले कथा कृतिलाई निबन्ध कृति भनेको छ भने फेरि त्यही दोहोरिन्छ। त्यसैले समालोचकले एकपटक अनिवार्य रूपमा सबै पुस्तक पढ्नैपर्छ।’ 

सम्पादक श्रीओम श्रेष्ठ रोदनले सम्पादन कार्य सहज नभएको बताए। हामीले साहित्य साधना हो भन्ने कुरा बिर्सिदै गएका छौं। विषयको अभाव छैन तर आत्मपरक निबन्ध लेख्ने घटेको छ। मैले सकेसम्म धेरै लेखकलाई समेट्न कोसिस गरेको छु।

साहसका साथ किताब छापेकामा कार्यक्रमका सभाध्यक्ष लेकालीले प्रकाशक संस्थालाई धन्यवाद ज्ञापन गरेका थिए।

साहित्यकार श्रीबाबु कार्कीले चलाएको कार्यक्रममा साहित्यकार : आश्विनी कोइराला, किशोर पहाडी, गोविन्द गिरी प्रेरणा, जय छाङ्छा, विमल भौकाजी, मोहन चापागाई, डिल्लीराम सुवेदी, प्रकाश घायल, त्रिभुवनचन्द्र वाग्ले, ममता मृदुल, बोधराज पौडेल, श्रीराम राई लगायतका उपस्थिति रहेको थियो।

प्रकाशित: ४ कार्तिक २०७९ ०५:३६ शुक्रबार

अक्षर