कला

मेरो वराहक्षेत्र भ्रमण

यात्रा

गृष्मा कटुवाल

भ्रमण भन्नेबित्तिकै हामीलाई धेरै रमाइलो लाग्छ। रमाइलो लाग्ने मानिसहरूमध्मे म पनि एक हुँ। कहिले मेरो समय त कहिले मेरो अभिभावकको समयका कारण म धेरै टाढाको भ्रमण गर्न पाउँदिनँ तर जाने भन्ने थाहा भयो भनेपछि हट्दिनँ।

वैशाखको कुरा हो। मैले मेरो जन्मथलो सुनसरी जाने मौका पाएँ। वर्षमा एकचोटि वा कहिलेकाहीं त जाँदै नजाने मेरो जन्मथलो जान पाउँदामा म निकै खुसी थिएँ। सुनसरी पुगेपछि वराहक्षेत्र जाने भनेर मैले ढिपी गरें। छिट्टै फर्किने भनेकाले हामी भोलिपल्ट नै वराहक्षेत्र मन्दिर पुग्यौं।

हुन त म पहिला निकै सानो छँदा त्यहाँ गएकी थिएँ रे तर मलाई याद भने छैन। सुन्दर कोशी नदी हेर्दै हामी वराहक्षेत्र मन्दिर पुग्यौं। मन्दिर पुगेपछि मेरो मन शान्त र खुसी थियो।

यो मन्दिर सुनसरी जिल्लाको धरानबाट करिब ५ किलोमिटर उत्तरपश्चिममा अवस्थित छ। यो मन्दिरको वर्तमान रूप विसं १९९१ सालमा बनाइएको हो। १९९० सालको भूकम्पले भत्काएको मन्दिर १९९१ सालमा जुद्धशमशेरले अन्तिम पटक पुनर्निर्माण गरेका थिए। वराहक्षेत्रमा ९ वटा मन्दिर र धर्मशालाहरू छन्।

मैले सुने अनुसार यस मन्दिरमा १५ सय वर्षभन्दा पुराना मूर्तिहरू भेटिएका छन्।

हामी मन्दिरमा जाँदा खालीखाली नै थियो। त्यहाँका मुख्य पुजारीलाई बाबाले चिनेको हुँदा मैले यस मन्दिरबारे झन् धेरै कुरा थाहा पाएँ।

मैले सुने अनुसार भगवान् विष्णुले वराहको अवतार लिएर आफ्नो लामो दाँतले पृथ्वीलाई पातलमा डुब्नबाट बँचाउनुभयो रे। त्यसपछि भगवान् आफ्नी पत्नी लक्ष्मीसँग हिमालय र पहाडको काखमा कोशी नदीको किनारमा विराजमान हुनुभयो रे। उक्त घटनापछि उक्त ठाउँको नामाकरण भयो। त्यहाँ भगवान् विष्णुको वराह अवतारको ठूलो र सुन्दर तस्वीर छ।

त्यहाँ वरिपरि घुमेपछि मेरो नजर एउटा धातुको ढुंगामाथि गयो जसलाई ताला लगाएर राखिएको रहेछ। त्यसबारे सोधेर मैले मेरो पाइला त्यतातिर सारें। त्यहाँ त्यो ढुंगा उठाउन सक्ने व्यक्तिले केही पाप गरेको छैन भन्ने विश्वास रहेछ। म भने ढुंगा उठाउन सक्छु कि भनेर नजिक गएँ तर उठाउन सकिनँ। मेरो मन एकछिन भारी भयो तर मलाई त्यो ढुंगा मेरो उमेरको मान्छेले उठाउन सक्दैन भन्ने थाहा थियो।

तल कोशी नदीमा र माथि मन्दिरमा पूजा गरेपछि एकछिन म मन्दिरको बारेमा सोध्नतिर लागें। त्यसपछि भगवान् वराहसँग बिदा मागेर अर्को चोटि आउँछु भन्ने वाचा गरेर मैले मेरो यात्रालाई निरन्तरता दिएँ।

कक्षा-१०,

विजेश्जरी ज्ञानमन्दिर सैनिक महाविद्यालय,विजेश्वरी, काठमाडौं।

प्रकाशित: ३० आश्विन २०७९ ०७:३३ आइतबार

अक्षर जुनकिरी