कला

हरेक नसानसामा मेचीकाली बहोस्

गीत

कृष्णबहादुर बुढाथोकी

१) गीत 

तन नेपाली होस्, मन नेपाली होस्,

हरेक नसानसामा मेचीकाली बहोस्।

  -            -              -             - 

दासताको जञ्जिर फुटालेर आओस्,

स्वाभिमान् नेपाली हुने भावना ठोस्।

शिर नेपाली होस् पिर नेपाली होस्,

मुटु चिरी हेर्दा नेपाल यो देखियोस्।

  -            -              -             -

पसारेर हात दया माग्न छाड्द्यौ,

अमर पृथ्वीका तिमी सन्तति हौ।

नबने है कायर नहौं क्वै मदहोस्,

शूरताको दैलो विवेकले उघारोस्।

  -            -              -             -

उभिन नपरोस् तलुवा निहारी,

स्वाभिमान् गुमाई शिर घोप्टो पारी।

बरु मर्न छाती थाप प्राण जाओस्,

बदनाम देशको हुने ठाऊँ नआओस्।

२) गीत

झरेजस्तो लाग्छ कतै मुटु चुँडिएर,

गयो भन्दा कालापानी सिमा टुक्रिएर।

  -            -              -             -

मेरो माटो लाग्छ कसम् मुटुभन्दा प्यारो,

लिपुलेक र लिम्पियामा मन पुग्छ चाँडा।

यो देशका सन्तान भयौं सिल्ली अनि पामर,

काखमाथि निदाएर गराउँछौं बलात्कार।

  -            -              -             -

ललीपपमा आमा बन्धक गर्ने कुलांकर,

गोर्खालीको रगत भन्ने बकबास बन्द गर।

सुनको खाटमा बसेका छौं मागीमागी खान्छौं,

आफ्नो सुर्काे बाँझो राखी भिख माग्न जान्छौं।

  -            -              -              -

घरभित्र दुश्मन पस्दा पाउ धुने हामी,

हाँसीहाँसी सहिदिन्छौं गर्दा मनोमानी।

नबस ए साँढेहरू गोठमा डुक्रिएर,

सङ जोड्ने हुती छैन भाग्छन् झोक्रिएर।

  -            -              -              -

डुक्रेका छन् गोठभित्र गरी आलोपालो,

छाडा सबै बन्धन छैन क्वै छैन गोठालो।

३) गीत

अँधेरीमा जुनकिरीले धावा बोलेझैं,

शरदमा शिखरले घुम्टो खोलेझैं।

  -            -              -             -

अधर यो हाँसेकै छ भित्र मुटु दुखे पनि,

कहरहरू खपेकै छु हाँसीहाँसी बोले पनि।

मुटुभित्र छुरा हानी घायल बनायौ,

सफा मन सुम्पिदिएँ तिमी घिनायौ।

  -            -              -             -

कहाँ छन् खै मेरा निम्ति खुशीहरू बाँच्नलाई,

चैते हुरी सुसाउँदैछ मुना नआई भाँच्नलाई।

सधै मन भाँची किन लान्छस् बतास,

मेरा निम्ति उज्यालो दिन् भन कता छ।

  -            -              -             -

छैन कतै खुला गगन कावा खाँदै उड्नलाई,

धेरै पहाड फोर्नुपर्छ आफ्नो वेगमा उड्नलाई।

बिहानीको न्यानो घाम छेक्ने बादल,

छेकिदेऊ दुखपीडा भएँ बेहाल।

 ४) गीत

आयो चलन अनौठो पाराको,

मुक्ति भयो खोई सर्वहाराको।

  -            -              -              -

आयो भन्छन् रामराज्य कसका लागि आयो,

गरिखाने किसानले कति सेवा पायो।

मुखियाका छोरा भए गाउँका ठुला मान्छे,

बाउबाजेको बिडो थामे उनै भए भान्से।

  -            -              -             -

गयो भन्छन् जमाना पुरानो,

आफ्नो समाज बनाए बिरानो।

हिजोसम्म गरिबलाई मुखियाले चुसे,

भान्से भई आज पनि छोरा नाति घुसे।

  -            -              -             -

अधिकार माग्दाखेरि ठोके तातो गोली,

अझ पनि दरबारमा बिक्छ उनकै बोली।

दियौं भन्छन् समान हक,

छैन विश्वास हामीलाई पटक्क।

५) गीत

भावनाका फूल छरें पलायसि काँढा,

तन नजिक् भए पनि मन हुने टाढा।

  -            -              -              -

छचल्किए अनगिन्ती ममताका छाल कति,

चोटै चोट बोकी आउँछन् सम्झनाका पल जति।

खुशीहरू तिम्रा लागि पिर यता देऊ,

माया भन्ने कस्तो रैछ पाइन मैले भेउ।

  -            -              -             -

हतारमा तिमीलाई मुटु पैंचो लाएँ,

पाइन फिर्ता हजार चोटि तिम्रो बस्ती धाएँ।

उधारोको व्यापार हो कि माया नगद हो,

बिदाईको रोदन् हो कि माया स्वागत।

प्रकाशित: २८ आश्विन २०७९ ०७:२२ शुक्रबार

अक्षर