कला

मिसु श्रेष्ठ थपलियाका पाँच लघुकथा

लघुकथा

मिसु श्रेष्ठ

१) भग्न विश्वास  

ऋतुले जागिर त पाइन् तर बाहिरी जिल्ला जानुपर्‍यो। पतिलाई मनाउन निकै कठिन भयो उनीलाई।

एयरपोर्टमा बिदाई हुँदा पतिपत्नीको मन भारी थियो। बाध्यता र जिम्मेवारीले गर्दा आफूलाई सम्हाले।

दिनहुँ भिडियो कलमा कुरा हुन्थे। साथ हुँदा गर्न छुटेका बातहरू हुन्थे। गएका ठाउँ, खाएका कुरा र भेट्टिएका मान्छेको बारेमा कुरा हुन्थें। उठेदेखि ननिदाउँदासम्मका गतिविधि अद्यावधिक हुन्थे।

‘सप्राइज!’ भन्दै ऋतु अगाडि देखिइन्।

योजनाभन्दा दस दिनअघि नै ऋतुलाई देख्दा अचम्म परे उनका पति।

पतिले सामान्य सोधपुछबाहेक केही गफ नगर्दा उनलाई नि बोलिरहन मन लागेन।

साँझमा दही लिएर आउँदै गर्दा कोठामा बस्ने पारूकाकी सानी छोरीले ऋतुलाई भनी, ‘आन्टी, तपाईको अंकलले हाम्रो ममीसँग बिहे गर्नुभयो नि!’

पतिले पारुकाकी सानी छोरीतिर पुलुक्क हेर्दै भन्यो, ‘हैन के भन्छे यो?’

‘हजुर र ममीले विहे गर्नुभएको होइन हिजो पनि!’ पारुकाकी सानी छोरीले अझै स्पस्ट पारी।

उनीहरूको चर्काचर्कीले पारुका आइपुगी।

ऋतुको खिन्नता थियो,‘पारुका, के हो? तिम्री छोरी के भन्दैछे?’ 

‘हो मैले सरको गर्भ बोकेकी छु। फाल भन्नुहुन्छ तर...’ पारुका विश्वस्त बोली।

‘के तर... ! किन फाल्दिनौ? तुरुन्त फाल। लागेको खर्च म दिन्छु।’

पारुकाको पति आइपुग्यो।

ऋतुले उसलाई लक्षित गर्दै भनी,‘भाइ,तिमीले सुन्यौं? तिम्री बुढी के भन्दै छे?’

‘दिदी,मलाई थाहा छ तर ... ! हामी गरीब! दस लाख दिनु न यो शहर छाडेर गइहाल्छौ सधैंका लागि!

२) जीवन चक्र

ऊ अलिकति बुढीपट्टि सर्‍यो। बुढी निकटतामा पुलकित भई।

निस्तब्धता भङ्ग गर्दै बोली बुढी,‘आखिर बुढालाई बुढी, बुढीलाई बुढा त रहेछ नि!

जिस्किने अभिप्राय बोल्यो ऊ, ‘हो त, ऊ बेला मेरो कोठामा पस्न कति गार्‍हो मान्थ्यौ। हेर न अहिले कत्ति टाँस्सिएकी!’

बुढीले मनको तुस शान्त पार्ने चेष्टा गरी,‘उमेरमा दसतिर रमाएर मलाई रुवायौ!’

‘बोल्दै र हिंड्दैमा गलत त भइन्न नि! अझै त्यस्ता भ्रमले विचलित बन्दैछ्यौ र?’

‘मैले त्यति धेरै शंका त गर्दिनथें तर रीस उठ्थ्यो।’

कानमा साउती गर्‍यो,‘अझै रीस मरेको छैन त?’

‘हट्’ भन्दै टाउको पर लगेर सिरकले मुख छोपी।

‘मलाई आज साह्रै खिन्न लागेको छ।’

उसले ठट्टा भावमा बोल्यो,‘किन र बीस वर्षअघिको उही प्रेमा सम्झेर?’

‘त्यस्ता प्रेमा-स्रेमा छाडिदे। ल्याको भा यो बुढेसकालाँ काममा घोटिनु त पर्दैनथ्यो।’

‘हैट के हुन्थ्यो, बित्थामा झगडा गरेर...!’

बुढी फुसफुसाई, ‘छोराले ठूलो घर बनायो, गाडी...!’

ऊ सम्हालिंदै बोल्यो,‘कति भाग्यमानी है हामी!’

सुस्केरा हाली,‘हो तर एक वचन यतै बस्नु समेत त भनेन! आमाबाबुको माया छोराछोरीमाथि, छोराछोरीको माया ढुंगामुढामाथि! कस्तो निष्ठुरी भएको है!’

-तिमीलाई बस भने बस्थ्यौ त? फेरि हामीले पनि त यो घर सर्दा बाआमालाई एक वचन जाऊ भन्न सकेनौं त!

३) नौली चरी

जंगलमा समारोह थियो। सबै चराले आफ्नो प्रतिभा प्रस्तुत गरे। नौली चरीलाई मयुरको नाच खुब मन पर्‍यो। कोसिस धेरै गरेर मयुर जस्तै नाच्न सिकी। भव्य समारोहमा आफ्नो नृत्य प्रस्तुत गर्दागर्दै मयुरको ढंग छाडिंदै गयो।

‘कस्तो झूर नाच?’ प्रतिक्रिया सुनेर खिन्न भई।

कति कोसिस गर्दा पनि सफलता प्राप्त गर्न सकिन। अन्ततः नृत्य नै छाडिदिई।

फेरि समुदायमा भएको कार्यक्रममा सुगाले झैं मिठो बोल्ने कोसिस गरी। धेरै बनावटी स्वर निकाल्नुपर्दा उसको गला बसेर बोली नै हरायो।

सानो जुरेली चराबाट प्रभावित भई। त्यस्तै बन्ने कोसिस गरी तर बिचमा नै रोकियो।

हरकला र गलामा असफल भएर ऊ आजित भई। धेरै मिहिनेत गर्दा पनि असफल भएकाले उसले प्रयत्न गर्नै छाडी।

समयको अन्तरालमा फेरि कार्यक्रम भयो। उसलाई प्रतिस्पर्धा  गर्ने हुटहुटीले छोड्को थिएन। तथापि सधैंको असफलताले भाग लिने विचार त्यागेकी थिई।

लगभग कार्यक्रमको अन्तिम भयो। सधैं सहभागी हुने नौली चरी आज सहभागी हुन नपाउँदा भित्रभित्रै खिन्न थिई। त्यहाँ बसिरहन मन लागेन। ऊ हिंड्न लागेकी थिई। उद्घोषकले उसको नाम सम्बोधन गरेको सुनी। उसलाई पत्यार नलागे पनि बारम्बार सुनिरहँदा आफूलाई बोलाएको यकिन भयो। दर्शकदीर्घाबाट उसैको नाम हुटिङ हुँदै थियो। साथी चरा आएर आफूले नाम टिपाइदिएको कुरा बतायो।

मञ्चमा उभिएर कसको जस्तो प्रतिभा देखाउने? उसले निर्णय गर्न सकिन। मञ्च छोड्नुभन्दा केही गर्ने सोची।

‘ह्या जित्ने होइन, जे त हुन्छ!’ भन्दै मनको वेदना भरिएको गीत सुनाई। जहाँ उसको आफ्नोपन थियोे। सधैं भारी हुने मन हलुका हुँदै मञ्चबाट झरी।

नतीजा सार्वजनिक भयो। उत्कृष्टको सूचीमा उसको नाम पनि पर्न सफल भएछ।

 ४) भ्रमी

‘हाकिमको ज्यादती कति सहने?’ पहिलो कर्मचारी बोल्यो।

‘यसको विरुद्ध हामीले मोर्चाबन्दी गर्नै पर्छ।’ दोस्रो कर्मचारीले सहमति जनायो।

विद्रोह ओकले, ‘हाम्रो आवाज बुलन्द गरौं।’ काला कर्तुतको पर्दाफास गर्नैपर्छ।’

घाममा बसेर हाकिम विरुद्धको ऐक्यबद्धता हुँदै थियो। ऊ फाइलका ठेलीहरू बोक्दै भित्र-बाहिर गर्थ्यो। उसलाई यी विषयमा कुनै सरोकार थिएन। सेवाग्राहीको सुनुवाइ, आफ्ना काम,हाकिमले अह्राएका काम अनि असरल्ल रहेका विद्रोही साथीहरूको काम। उसलाई भ्याईनभ्याई थियो।

‘हेर बिचरा सुधाको अवस्था कति दमित छ। बरा कति मेहनत गर्छ। हरेक समय स्ट्यान्ड बाई। खटेको खट्यै। जति काम गरे पनि न मूल्यांकन न बढुवा पुरस्कार!’

उसले सुनेको वार्तालापमा यी वाक्यहरू दोहोरिरहन्थे।

राति सुधालाई पटक्कै निद्रा लागेन। बारम्बार साथीहरूले भनेका  कुराहरू मानसपटलमा घुमिरह्यो। आफ्ना काम र हाकिमको असन्तुष्टिहरू एकएक आउन थाले।

अन्ततः साथीहरूलाई भेट्ने निर्णय गरेर सुत्यो।

पूर्वसल्लाह अनुरूप बैठकमा सुधो पनि सहभागी थियो। पहिलो बोल्ने पालो उसकै आयो। उसले साथीहरूबाट निर्देशित प्रश्नहरू धमाधम राख्यो। साथीहरूको पालो आयो तर पूर्वसूचनाबमोजिम उनीहरूले न उसको विषयमा बोले न त आआफ्ना समस्याहरू नै राखे।

उसले सबैलाई हेर्‍यो। उनीहरूको अनुहारमा चमकता देख्यो तर कसैले केही बोलेनन्।

हाकिम ऊसँग निकै रिसायो। बैठकलाई सौहार्द बनाउन योगदान पुर्‍याएकोमा तपाईंहरूलाई धन्यवाद छ। तपाईंहरूको माग समुचित रूपमा सम्बोधन हुनेछन्।’ बोलेपछि हाकिम फोनमा व्यस्त भयो। उनीहरूसँगै ऊ पनि उठेर निस्क्यो।

बाटैमा कार्यालय सहयोगीले मुख हेर्दै बोल्यो, ‘अभागीले खानेबेला हुरीबतास!’

५) झमेला

हाकिमसँग ठाकठुक पर्‍यो। घर पुगें। मूल ढोकामा चप्पलमा अल्झें। कराएँ। बुढीले हत्तपत्त मिलाइन्। छोरा खेल्दै गरेको बलमा अल्झें, झण्डै लडें। बाथरुममा धुँदै गरेको लुगा अरसल्ल रहेछ। चिप्लें तर लडिनँ।

म फेरि कराएँ, ‘कति लुगा धोएको। बाथरुम कहिल्यै खाली हुँदैन।’

उनी बोलिन्,‘अफिसबाट आउँदा भिजेका लुगा!’

मेरो पारो तात्यो, ‘कपडा फेर्न बिहान खोलेको कपडा देखिनँ।

हाँस्दै बोलिन्,‘ए अर्को ठिक पारिदिउँला भनेको बिर्सेछु। हेरेर लाउनुस् ल!’

छोरासँग चिच्याएँ, ‘भोक लाग्यो खाजा छैन?’

ढाडिएको हातले दही, चिउरा र केरा लिएर आइन्।

तुरुन्त बोलें,‘पानीमा भिजेर आएको, तातो देली भनेको त!’ 

‘चिया बसालेकी छु।’ मुस्कुराउँदै बोलिन्। मलाई गिज्याएझैं लाग्यो।

-खान्नँ यो दही-चिउरा।

‘किन र? आज असार पन्ध्र! बिहानै अफिस जानुभयो...।’  फेरि हाँसिन्।

मलाई कसोकसो लज्जाबोध भयो। तैपनि चर्को स्वरमा बोलें, ‘न हिलो टेक्ने न धान रोप्ने! के स्वाङले खानु?’

हाँस्दै बोलिन्,‘धान रोप्न नपाउनु हाम्रो बाध्यता हो तर धान दिवसको दिन दही-चिउरा खाएर संस्कृतिको जगेर्ना गर्नु सम्मान हो नि! हैन र!’

उनको कुरा र मुस्कानले प्रेमिल तरङ्ग पैदा गरायो। हिंड्न लाग्दा नाडीमा च्याप्प समातें।

‘कपडा पखाल्नुछ’भन्दै हात झड्कार्दै गइन्।

छोरालाई सुताउने मेरो प्रयत्न असफल हुँदै थियो। ऊ टाउको उठाउँदै पल्याकपुलुक हेर्थ्यो। प्राय: म रिसाएको दिन बुढी हाँसिरहने र छोरा ननिदाउने क्रम आज पनि दोहोरिएको अनुभूतिले खिन्नता छायो।

उनी धन्दा सकाएर आइन्। बत्ती निभाइन्। छोराको सानो स्वर सुनियो, ‘बाबा, ममीलाई कहिल्यै नरुवाउनुस्,हस्!’

प्रकाशित: २७ आश्विन २०७९ ०८:५६ बिहीबार

अक्षर