कला

अक्षरयात्रामा अमराई

संस्मरण

लक्ष्मण अर्याल

जीवनपर्यन्त बिर्सन नसकिने नाममध्ये एउटा नाम हो रहेछ जन्मभूमि। बिर्सन हुँदैन,बिर्संदा पहिचान सकिन्छ। बिर्सन सकिंदैन किनकि स्मृतिको एउटा कुनामा आश्रयस्थल बनाएर बास बस्छ।

म मेरो जन्मभूमि छाडेर खत्र्याकखुत्रुक सबै कुरा बोकी चितवन झरेको आज २६ वर्ष सकिएर २७ वर्ष लागेछ। यसरी हेर्दा चितवनमा पनि म नौजवान बनिसकें। तर यतिका वर्षमा पनि मभित्र बसेको जन्मभूमिको प्रतिच्छाया अलिकति पनि धूमिल भएको छैन। म बिर्सन्न मेरो अमराईलाई। अमराई अर्थात् मेरो जन्मभूमि। अमराई जहाँ मेरा बा जन्मे। मेरा हजुरबा अनि बुढा हजुरबा पनि त्यहीं जन्मेका हुन्। तर, त्यो ठाउँमा बुढा हजुरबाभन्दा माथि कति पुस्ता बस्यो यी सबै कुरा मलाई थाह छैन। थाह पाउने बुढापाकाहरू पनि हामीले गुमाइसक्यौं।

वंशावली भन्छ-तेरा नाता शक्तिवल्लभ अनि उदयानन्दसँग जोडिन्छ। शक्तिवल्लभ भनेका तिनै गोरखाली राजाका पुरोहित हुन् जसले ‘तनहुँ भकुन्डो’ भन्ने कविता रचेथे। अनि उदयानन्द भनेका प्राथमिककालीन कविता रच्ने उनै ख्यातिनामा कवि हुन्। गोर्खाबाट धादिङको मैदीमा दलु शाहसँगै आएका थे रे हाम्रा पुर्खा। त्यहींबाट फैलियौं हामी। मेरो अनि बा, हजुरबा, बुढा हजुरबाहरूको जन्मभूमि भए पनि पुर्ख्यौली भूमि भने होइन रहेछ अमराई।

नेपालभित्र हामी खस बाहुनहरू कि पूर्वबाट कि पश्चिमबाट नेपाल पसेका हुन् तर हामी भने पश्चिमबाट पसेका होइनौं किनकि पूर्वीया भन्ने हाम्रो पहिचान छ। नेपालको पश्चिमतिरबाट महाकाली नदीपारि कुमाउ र गढवालतिरबाट नेपाल पस्नेहरू कुमाइँ हुन् रे। यसरी हेर्दा हाम्रो पुर्ख्यौली भूमि गोर्खा नै हो भन्ने पनि ठहर हुँदैन।

हेक्का राख्नुभयो कि भएन, नराखेको भए यसबारे धेरै टाउको नदुखाउनुस्-म खोलुवा दिन्छु-अमराई नेपालको एउटा गाउँ हो। यो गाउँ धादिङ जिल्लामा छ। धादिङको ससाहाबाट पश्चिमतिर लाग्नुपर्छ अमराई जान। मलेखुबाट धादिङको सदरमुकाम धादिङ बेंसी जाने बाटामै पर्छ ससाहा। ससाहाबाट अमराई जान पहिले टुप्पी कसेर हिंड्नुपर्थ्यो तर आज मोटरबाटो छ। बाटामा ग्राबेल बिछ्याइएका छन्। बर्खा याममा आज पनि त्यो बाटामा गाडी गुड्दैन। हुन त म थाहा पाउँछु मलेखुबाट धादिङ बेंसी जाने बाटो पनि पहिला ग्राबेल नै थियो। गाडी हिंड्ने बाटो भए पनि कतिपटक म लेफ्टराइट नै गरेको छु त्यस बाटामा। कति पटक त सामान लोड गरिएका ट्याक्टरका थाप्लामा बसेर पनि यात्रा गरिएको छ।

ससाहादेखि अमराईसम्मका बाटामा मैदीभञ्ज्याङ, धौखोला, किंदेरी, हटिया भन्ने ठाउँ छन्। ससाहाबाट पश्चिमको थुम्की उकालेर यात्रीलाई थरक मार्न लगाउँछ मैदी भञ्ज्याङ। पहाडका दुई चुलीका माझको घाँटी भएकैले यसलाई भञ्ज्याङ भनिएको हो र मैदीतिर जाने मूल बाटामा भएकाले यसलाई मैदी भञ्ज्याङ भनिएको हुनुपर्छ।

पहिलापहिला त्यो अनकन्टार बाटो हिंड्न धेरै डराउँथे। गौंडा ढुकेर मान्छे लुट्नेहरूले त्यो बाटालाई बदनाम गराएका छन्। त्यो बाटो कैयौं पटक हिंड्दा म पनि डराएको छु। कति पटक त सास नफेरी कुदेको छु म त्यो बाटो। समय बदलिएको छ, कम्तीमा आज त्यो त्रासदीे घटेको छ। त्रासदीको निर्मूलीकरण भन्न मैले अझै सकेको छैन। मान्छेको लुटाहा प्रवृत्ति अझै सकिएको छैन। सायद यो मान्छे भन्ने जीव रहुन्जेल पृथ्वीमा रहिरहने स्थायी भाव हो।

मैदी भञ्ज्याङबाट पश्चिमी पाखो झर्दा एकाएक एउटा मनमोहक फाँटले स्वागत गर्छ। त्यो फाँटैफाँट अघि बढ्दा पुगिन्छ धौखोला। धौखोलाको कसरी नामकरण भयो यो भन्न सकिन्न। त्यो फाँटमा पहिला दुई बाली धान लगाउँथे। कसैकसैले गहुँ लगाएका हुन्थे। पहाडी क्षेत्रमा दुई बाली धान लगाउनेहरू समृद्ध भनी गनिन्थे। गाउँमा उनीहरूको रवाफ  हेर्नलायक नै हुन्थ्यो। खोलामा पानी कम भएका बेला पानीले नभेट्ने ठाउँमा बर्खे धान मात्र लगाइन्थ्यो। आजकल समय फेरिएको छ। हिउँदमा फाँटभरि तरकारी लगाइन्छन्। किसानहरूको आम्दानी बढेको छ। कतिपयले तरकारीको आम्दानीबाटै आफ्नो केटाकेटीलाई राम्रो शिक्षा दिएका छन्। कतिपयले शहरबजारमा घरघडेरी पनि जोडेका छन्।

एकापट्टि ढोला अर्कोपट्टि नलाङको पाखो लमतन्न पसारिएको छ। बीचमा बग्ने खोलाले छुट्याएको छ दुईवटा पाखालाई। नलाङको पाखापट्टिबाट खोलाको किनारै किनार ससाना बुट्यान भएका जङ्गल छेडेर अगाडि नै तन्किरहन्छ यात्रा। जङ्गल उराठलाग्दो छ। वनमाराको मिचाहा प्रवृत्तिले जङ्गललाई अझ बिरसिलो बनाएको छ। झ्याउँकिरीको एकसरो आवाजको नीरवतामा खोलाले कुलुकुलुको सङ्गीत भर्दा यात्रीले अलिकति राहत पाउँछ। खोलापारि कताकति ससाना फाँटले चियाउँछन्। खोलाको किनारै किनार तेर्सिंदै काटिने बाटो एउटा पाखाको नाकमा गएर ठोकिन्छ। त्यो ठाउँ नै किंदेरी हो। मेरो मन अलिकति उडान भर्न थाल्छ।

म सोच्छु,‘किंदेरी’ शब्दको मूल ‘किनारा’ र त्यही किनारा शब्दमा ‘ई’ प्रत्यय जोडिएर बनेको ‘किनेरी’ शब्द नै कालान्तरमा अपभ्रंश हुँदै किंदेरी बनेको होला।

हिजो यात्रामा विकल्प थिएन आज छ। हिंड्नुपर्ने विकल्पमा गाडीहरू गुड्छन्। हिंडेरै यात्रा गर्नेहरूलाई किंदेरीको उकालाले बेस्सरी गलाउँछ। यो यदाकदा हिंड्नेरूको कथा हो। तल ओर्लिएर खेतीपाती गर्नेहरूका लागि यो उकालो जीवनको एउटा निरन्तरता हो, अभ्यास हो।

उकालो छ। जङ्गल छ। जङ्गलमा ठाउँठाउँमा चौताराहरू छन्। यी पहाडी जीवनका मीठा सम्झना हुन्, हाम्रा पूर्वजहरूका दूरदर्शी सोच हुन्। थकाइ मार्ने बिसौनी जहाँ हिंड्नेलाई एकछिन रोकेर चिसो बतास हम्कन्छन् चौताराहरू। ती चौताराहरूमा कतिले थरक मारे, कतिले पसीना सुकाए अनि कतिले ममता बिछ्याए कुनै लेखाजोखा छैन अनि ती कति वर्षदेखि ठडिएका छन् त्यसको हिसाबकिताब कसैले राखेको छैन। ती जिउँदा इतिहास बनेर पाखाभरि ठडिइरहेका छन्, ठिङ्ग उभिइरहेका छन्। मान्छेका विषालु आँखा नपरुन्जेल ती यसैगरी उभिइरहनेछन् पाखाभरि अनि छाइरहनेछन् हेर्नेहरूका आँखाभरि। 

चौताराहरूको श्रृङ्खलाहरूकै बिचमा एउटा ढलेको यथार्थता साक्षात्कार हुँदा विश्वास नभए पनि विश्वास गर्नुपर्छ किनकि बाटामा ढलेर पनि जिउँदो छ एउटा विशालकाय वटवृक्ष। हामी त्यो ‘ढल्या बर’ देखेरै हुर्कियौं। त्यसका हाँगाहाँगामा सोइसोइलो खेलेरै मच्चियौं। ढलेर पनि जिउँदो बनिराख्न सिकाएको छ त्यसले। ढल्नासाथ ढल्ने सम्झनाभन्दा यो निकै गर्विलो छ, जीवन्त छ।

बाटो तेर्सो छ अब। अलिकति हिंड्नासाथ आइपुग्छ एउटा विद्यालय। होस समालेदेखि मैले देख्दै छु यसलाई। यसले बेलाबेलामा नामको फुर्को भने फेर्दै आएको छ। यो कहिले अमरावती प्रावि त कहिले अमरावती निमावि बन्यो। एकताका यो अमरावती मावि र उच्च मावि पनि बनेको थियो। हाल यसले उच्च माविको पगरी फुकालेर पुनः माविको पगरी गुथेको छ।

मेरो औपचारिक गुरु बन्दा यो अमरावती प्राविको नामले व्यवहृत थियो। मेरा पिताजीले स्थापना गरेको विद्यालय। पिताजी नभए पनि उहाँको गौरवगाथा जिउँदो छ। पुराना मान्छेहरू प्रायःले शिवहरि गुरु भनेर पिताजीलाई चिन्छन्। उहाँकै नामबाट म पनि चिनिन्छु किनकि म मेरो गाउँमा बस्नुपर्ने जति समय बसेको छैन। मैले मेरो गाउँमा दिनुपर्ने र दिनसक्ने जति योगदान गरेको पनि छैन। पिताजीका नामबाट गाउँमा अनि जिल्लाभरि पुराना कैयौ मानिसबाट चिनिंदा असीम आनन्दको वर्षा हुन्छ स्मृतिमा किनकि आफ्ना पितापुर्खाबाट चिनिने सन्तानहरू भाग्यमानी हुन् रे। विद्यालयका कुरा गर्दा म सम्झन्छु दण्डपाणि सर र बैदार माड सापलाई। उहाँहरू आज यो पृथ्वीतलमा हुनु हुन्न तर मेरा आरम्भिक शिक्षाका जगहरूमा उहाँहरूको अविस्मरणीय योगदान छ।

विद्यालय छाडेर अलिकति अगाडि बढ्नासाथ देब्रेतिर गङ्गामानको पसलले स्मृतिमा खल्तीभरि मालागेडीको मिठाई भरिदिन्छ। आजकल पाइने महँगा चकलेटहरूले पनि मालागेडीको तिर्सना मेटाउन सकेको छैन। बेच्न त गङ्गामानले धेरैथोक बेच्थे होलान् तर उनले बाल्यकालमा हामीलाई बेचेका मालागेडीको स्वाद कहिल्यै सकिएको छैन र सायद जीवन छउन्जेल सकिने पनि छैन।

बीचमा ठुलो बाटो छ। बाटाका दायाँबाँयाँ बाक्ला घरहरू छन्। एउटा मनोरम गाउँले बस्ती जसलाई स्थानीय जनजिब्रोले हटिया भनेर बोल्छ। प्रायः त्यहाँ नेवार छन्। एकाध गुरुङ, क्षेत्री, बाहुनका घरहरू पनि छन् त्यहाँ। नेवार र गुरुङहरूले आफ्नो मातृभाषा त्यागेर नेपाली भाषालाई नै मातृभाषा बनाएका छन्। त्यहीं छ गोपालमानको खुद्रा पसल। आज पनि म बाटामा खोजिरहन्छु गोपालमानका पसलमा किनमेल गर्न जाँदा झरेर हराएका कैयौं डबललाई।

मर्दलका घर अगाडि पुग्दा उनै कहाँ त्यतिबेला पालिएका कुकुरहरूले सातो खाएको स्मृति आज पनि जिउँदै बौरिएर आउँछ। आज मर्दल छैनन् र छैनन् उनका सातो खाने कुकुरहरू पनि। मर्दलको नाम के थियो आज पनि मलाई थाहा छैन। उनी महेन्द्र दल गणमा जागीर खान्थे रे। महेन्द्र दल गणमा जागीर खाएकैले उनी मर्दल भए भन्ने सुनेको हुँ।

मूलबाटामा घर भएका मूलबाटे दाइ, ठकुरी चौतारैनेर बसेकी जयन्ती दिदी अनि त्यहीं बस्ने थाङ्ने न्यार (नेवार), बर्सौदेखि पठनपाठनलाई नै कार्यक्षेत्र बनाएका केसी सर, श्रमशील मुखिया बा र ग्यामी दाइ, सिरानघरे र गोपाल दाइ यी सबै स्मृतिमा छन्। गोपाल दाइ र थाङ्ने न्यारले धेरै पटक कुचाले ढाडमा ठोकेर कैयौंलाई सन्चो बनाए भने सिरानघरेले कसैको बिगार गरेनन्। उनी जे जति बाँचे आफ्नै एक्लो पाखुरीले बाँचे।

म सम्झन्छु, मुखिया बाका बारीमा पाकेर बास्निएका नास्पातीका दानाहरू अनि लप्सीका ठुठुल्ला रूखहरू। बाघमूर्छा देवीको मन्दिर जहाँ पुगेपछि आस्थाले सधैं शिर निहुरिन्थ्यो। म सम्झन्छु-कान्छ्यामाले पकाएका सेलरोटीका स्वादहरू, उहाँले ओढाएका वात्सल्य र ममताका पछ्यौरीहरू। म सम्झन्छु कान्छाबाले प्रदान गरेको अभिभावकीय नेतृत्व। यसकारण पनि म कान्छाबा सम्झिरहन्छु कि कान्छाबा र मेरो उमेर अन्तर निकै भए पनि उहाँ मेरा असल साथीजस्तै हुनुहुन्थ्यो।

त्यतिखेर ममा यसबारे गहिरिएर हेर्ने सीप थिएन तर अहिले सोच्दा लाग्छ-पुस्तान्तरको कमीले नै उहाँ र मेरा बीच यस्तो प्रगाढ आत्मीयता बनेको रहेछ। म बलराम दाइ र भाउजूलाई  पनि सम्झिन्छु अनि काले-बाङ्गेलाई पनि। काले-बाङ्गेका वास्तविक नाम मलाई आज पनि थाहा छैन तर उनीहरूलाई स्मृतिमा जिउँदो राख्न यो नाम नै काफी छ। उनीहरू जुवाका नामुद खेलाडी थिए। टाढाटाढाका मानिसहरू पनि उनीहरूलाई यही नामबाट चिन्थे। यसै नामबाट ती दुई पात्र मेराजस्तै धेरैका स्मृतिमा आज पनि जिउँदा छन्। यी र यस्तै सन्दर्भहरू झमझम बर्सिरहेका छन् स्मृतिमा। सम्झिएकाहरूमध्ये धेरै जना  कीर्तिशेष भइसके। कीर्तिशेष भएर पनि स्मृति बिम्ब बनेर बसेकाहरू निश्चय नै म बाँचुन्जेल जिउँदा नै रहिरहनेछन्।

म त्यहीं पुग्छु, जहाँ जीवनको प्रभातीकाल मलाई डाक्छ। चनौटे पाटाको डिलमा लस्करै ठिङ्ग उभिएका लाँकुरीका बोटहरूमा सुरिलो खेल्दै टुप्पा ताकेका दिनहरू, टारी खेतका फाँटहरूमा गरा-गरा हाम्फाल्दै सिरानदेखि पुछारसम्म बुर्कुसी मारेका क्षणहरू, बुढो खनायोका फेदमा पाकेर बास्निएका खनायोका दाना खोज्दै हिंडेका पलहरू, पहेंला डुमराईहरू खल्तीभरि भरेर घाम डुबेपछि पसीनै पसीना घरतिर उक्लिएका सम्झनाहरूले मन रसिलो भएर आउँछ।

स्वतन्त्रता, स्वच्छन्दता र यायावरी सम्झनाहरू बाँसका तामा बढेझैं मनभित्र बढ्छन्। बारीका कान्लाभरि उभिएका डुम्रीका विशालताले डाक्छन्, कटहरका बोटहरूले नजिक आउन इसारा गर्छन्, कर्साको लटरम्म सुनौलिएका जामुनाहरूले कानेखुसी गर्छन्-जससँग मेरो प्रगाढ आत्मीयता थियो, हाँगा हाँगाले चिन्थे, पात पातले बोलाउँथे। छुट्टै नाम थियो, छुट्टै मान थियो, पुर्खाको नामले चिनिंदाको मजा। खासमा जीवनको अनुपम आनन्द थियो।

जालझेलले प्रवेश नपाएको गेल्माको मगर गाउँ, झपक्क झप्किंदै इतिहासको साक्षी बनेर शीतल पंखा हम्कने ठकुरी चौतारो, अकला र बागमूर्छा माईका अघिल्तिर श्रद्धाले नुहेका शिरहरू, थुम्कामा थुपुक्क सजिएकी अटल आस्थाकी देवी-खड्गदेवी, दक्षिणतिर पानीढलो बनेर सुतेको बाँसबोटे वन, धागो ताने जस्ता बाटाका दायाँबायाँ लस्करै सजिएका हटियाका बेगिन्ती घरहरू। एकातिर ढोला, अर्कोतिर नलाङ-माझमा लुटुक्क निदाएको कोलडाँडा-तिकडमशून्य मानिसहरूको वस्ती, वस्तीवस्तीका सजीवता र जीवन्तता।

आहा,म आफैंलाई बिर्सन्छु! कहिले म पाकेका तिंदू बन्छु, कहिले रूखरूखमा कटुस फुल्छु, कहिले लप्सी कहिले आँप अनि कहिले लहलहाउँदा तामाका मुना बन्छु। म धानका पहेंलपुर फाँट बन्छु। लिस्नेको उकालो अनि ओरालो पनि बन्छु। म अमराई बन्छु, मैदी बन्छु र बन्छु एउटा सिंगो नेपाल, जननी र जन्मभूमिको अनुपम पर्याय सुन्दर शान्त र विशाल।

प्रकाशित: २७ आश्विन २०७९ ०७:२० बिहीबार

अक्षर