कला

असुररूपी मनमाथि विजय प्राप्त गर्ने शक्ति

हिन्दु धर्मावलम्बीको विशेष पर्व दसैं अर्थात् नवरथालाई नवरात्री पनि भनिन्छ। नवरात्री अर्थात् नौ दिनसम्म नवदुर्गाको आराधना गरी दसौं दिन असुरहरूमाथिको विजय उत्सवस्वरूप मानिने विजया दशमीको दिन जसमा आफ्ना मान्यजनबाट टीका, जमरा, प्रसाद, आशिष र दक्षिणा ग्रहण गरी खुसी मनाउने दिनका रूपमा मान्दै आइएको छ। नवरात्रीको संज्ञा हो रात्री अर्थात् अन्धकार, दुर्गाको अर्थ हो नारी शक्ति। नारी शक्तिमार्फत जीवनमा भएका अन्धकार हटाइ जीवनमा उज्यालो प्राप्तिको विजय उत्सव मनाउनु यो पर्वको महत्त्वपूर्ण पक्ष हो। अवश्य पनि नौ दिनमा जीवनको अन्धकार नाश नहोला तर यसको वास्तविक मर्म के हो, त्यो बुझेर ग्रहण गर्न सक्यो भने सधैंभरि अन्धकारबाट मुक्त हुन सकिन्छ।

दुर्गाका नौ स्वरूप

आश्विन शुल्क प्रतिपदाका दिन घटस्थापना गरी आरम्भ हुने नवरात्र पर्वको नौ दिनको अवधिमा शक्तिस्वरूपा देवी दुर्गा भवानीका विभिन्न नौ स्वरूपको पूजा र अर्चना गरिन्छ। तिनै नौ स्वरूपका भगवतीलाई हामी समग्रमा नवदुर्गा भन्छौं। नवदुर्गामा क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी एवं सिद्धिदात्री हुन्।

यिनै दुर्गा शक्तिले नै असुरहरूको नाश गरी देवताहरूको सुरक्षा गरी देवलोक र पृथ्वी लोकमा शान्ति, दिव्यता र उत्सव भित्रिएको मान्यता छ। तन्त्रविद्यामा समेत देवीस्वरूप दस महाविद्याका रूपमा आद्याशक्ति भगवतीको उपासना गर्ने विधान छ। ती दस महाविद्याहरूमा काली, तारा, त्रिपुरसुन्दरी, भुवनेश्वरी, छिन्नमस्ता, त्रिपुरभैरवी, धूमावती, बगलामुखी, मातङ्गी र कमलाको उल्लेख पाइन्छ। शक्तिको स्वरूप, विद्याको स्वरूप र अन्धकार नाश गरी दिव्यताको स्थापनामा नारी शक्तिको महत्त्वलाई उच्च स्थान दिइनुमा शारीरिक रूपमा नारीको प्रतीक मात्र नभएर आन्तरिक शक्ति, विवेक र धैर्यताको प्रतीकलाई महत्त्वका साथ हेरिएको छ। यसलाई महिला पुरुष दुवैले मनन गरेर आफ्नो आन्तरिक शक्ति, स्वसत्ता, प्रेम र निर्भयताको बोध गर्न सके बाहिर महसुस हुने असुर अर्थात् दैत्य स्वभावलाई प्रत्येक व्यक्तिले आफ्नो जीवनबाट निर्मूल गर्न सक्दछ।

यसै प्रसङ्गलाई उद्धृत गर्दै ओशो भन्नुहुन्छ-संसार र व्यक्ति दुवैमा असत्य छैन, यी दुई बीचमा आउने मनमा असत्य उत्पन्न हुन्छ। असुर, दैत्य, असत्य जे नामले सम्बोधन गरे पनि ती मनका रिपुहरू हुन्। व्यक्तिको अन्तरात्मामा सत्य नै छ, प्रेम छ र भक्ति छ। त्यसैले त त्यही प्रकट गर्न ऊ मन्दिर जान्छ, उपासना गर्छ, ध्यान साधना गर्छ। मन सधैं लोभ, मोह, कामना, अपेक्षा, द्वैष र ईर्ष्याप्रति आकर्षित हुन्छ। यिनकै सेरोफेरोमा अल्झिन पाए मनलाई खुसी लाग्छ, मनलाई अहंकारको पोषण मिल्दछ। प्रत्येक व्यक्ति भन्ने गर्दछ-म आत्मादेखि गर्न चाहन्छु। आत्मादेखि गर्न चाहने कुरालाई आत्मासँग नजिक भएर नै गर्नुपर्छ। आत्मासँग जोडिएर गरेका कुनै पनि कर्मले आफूलाई त दुःख दिँदैनन् नै। आफूले गरेका कर्मले बहुजन हिताय, बहुजन सुखायमा समेत मद्दत गर्दछन्। व्यक्तिले शरीर, मन, भावना र आत्मा बोध छुट्टयाउन नसकेकै कारण मन हावी भैरहेको हुन्छ अनि जीवनभर मनमै अल्झेर आफ्नो वास्तविक स्वरूपको पहिचान गर्नै भुल्दछ।

अझ भनौं ९९ प्रतिशत नै बेहोसीमा कर्म गरिरहेको हुन्छ, सोच त्यसै अनुसार आइरहेको हुन्छ। बेहोसी त्यो हो जुन कर्म, सम्बन्ध र व्यवहार सधैं चिन्ता, भय र लोभको वरिपरि घुमिरहेको हुन्छ। जागृत अवस्था त्यो हो जो वर्तमानमा आफ्नो आत्मबोध र संसारको चलायमान स्वरूप दुवैप्रति होसपूर्ण, स्मरणका साथ कार्य गर्न अग्रसर हुन्छ। संसार गतिशील छ, यसको नियन्त्रण हाम्रो हातमा छैन तर मन आफूसँग छ र यसलाई सत्य, प्रेम र जीवन्ततासँग नजिक बनाउन सकिन्छ। जो स्थिर छ, शास्वत छ, अकम्प छ। त्यो आत्ममय बोधलाई हमेसा ख्याल राख्न सक्ने व्यक्तिले संसारको गतिशीलताको पनि आनन्द लिन सक्छ। अन्यथा एकछिन केही मिलेजस्तो हुन्छ।

अन्तत्वोगत्वा फेरि उही अभाव र अपूर्णताकै खाडलमा आफूलाई पुर्‍याइहाल्छ। धैर्य, सौर्य र निर्भयताले मात्र बाहिरका रिपु, असुर र असत्यको नाश हुन्छ। त्यसैले पनि दुर्गा शक्ति र स्वरूपाको आराधना र शक्तिको प्रसंग आउनु सत्यको शक्ति कि असत्यको शक्तिमा जिउने भन्ने संकेत हो। रोजाइ र विवेक आफ्नो हुन्छ। यसलाई मनन गर्न सक्यो भने दसैंका दस दिन मात्र होइनन्, वर्षैभरि सुख, शान्ति र आनन्दमा जिउन सकिन्छ। यो आनन्दलाई बाहिरका भौतिक कुराले कुनै प्रभाव पार्न सक्दैन।

प्रभाव, अभाव केवल मनलाई हुन्छ, आत्मबोध त आफ्नो स्वभाव हो। नवदुर्गाको प्रतीक र शक्तिको प्रसङ्ग पनि यही आत्मबोधको शक्तिमा स्थित हुन प्रेरणा दिने प्रसङ्ग हुन्।

आफ्नो सहारा आफै

हरेक धर्म, संस्कृति, परम्परा र देवीदेवताको आराधनाले आफूमा शक्ति, भरोसा र सहारा मिलेको अनुभूति हुन्छ। एउटा तहसम्म यो ठिक पनि हो तर धर्म, देवीदेवता र परम्परा मात्रैको सहारा लिएर आत्मबोध र आत्मसत्ताको पहिचान नहुन सक्छ। त्यसो हुँदो हो त वर्षौंदेखि गर्दै आएको आराधना र बाहिरी साधनाले भित्रको जागरण प्रष्फुटन भैसकेको हुन्थ्यो। पटकपटक सम्झिनुपर्ने र सहारा लिनुपर्ने भनेको सतत स्मरण अर्थात् सुमिरनमा रहन नसक्नुको परिणाम नै त हो।

एकपटक रातको अन्धकारमा एक युवा शिष्य आफ्ना गुरुकहाँ दर्शनका लागि गए। अन्धकार भएका कारण सिंढी चढेर गुरुको कोठासम्म आउन असहज भएकाले दियो जलाएर सहयोग गर्न अनुरोध गरे शिष्यले। गुरुले दियो जलाए, बाटो देखाए र माथि आउन सहयोग गरे। जब युवा फर्किने समय भएको थियो, गुरुले दियो निभाए र भने, ‘अब तिमी आफ्नो बाटो लाग। मसँग अलग होऊ र आफ्नो सहारा आफै बन।’

शिष्य आश्चर्यमा परे र भने, ‘यो त धोका भएन र गुरु? यतिका वर्ष मैले तपाईंलाई साथ दिएँ, हजुरले मलाई सहयोग गर्नुभयो। योबीच बाटोमा अब हजुरले मलाई छोडिदिने?’ गुरु हाँस्नुभयो र भन्नुभयो, ‘हेर बाबु ! अहिले पनि मैले तिमीलाई साथ छोडिनँ भने तिमीलाई अरू धोका हुन्छ। कतिन्जेल तिमी मैले जलाएको दियोको सहारा लिन्छौ? अब जाऊ, आफ्नो दियो आफै जलाऊ र आफ्नो मार्ग पहिल्याऊ अनि आफू हुनुको मर्म पनि बुझ।’ गुरुले साथ छोड्नुको अर्थ सम्बन्ध छोड्नु होइन, गुरु शिष्यबीचको प्रेम, श्रद्धा र भरोसा छुट्नु पनि होइन।

गुरूप्रति अहोभाव व्यक्त गर्दै, आफ्नो परिवेश र अन्तर बोधलाई ख्याल गर्दै भावनात्मक रूपमा गुरुको सहायता महसुस गर्दै आत्मविकासमा अघि बढ्नु हो। तादात्म्य त्याग्नुको अर्थ वस्तु, स्थान र व्यक्ति नै त्याग्नु होइन। आफ्नो आत्मस्मरणलाई जागृत गराइराख्नु हो। धर्म, पर्व र शक्ति आराधना पनि त्यही आफैलाई, आफ्ना रिपुहरूलाई र वासनाप्रति जागृत हुँदै आत्मशक्तिको पहिचान गर्नु हो। 

नवदुर्गाको शक्ति पनि हाम्रो जीवनमा विचार शून्यता, अचिन्ता, कुशलता, आरोग्य, शान्ति, प्रसन्नता, उत्साह, आनन्द र प्रेम नौ आयामबाट सन्तुलन, सहजता र सम्यकता ल्याउन सक्नु ठूलो शक्ति हुनेछ। यिनै आयामबाट मनुष्य जातिले आफ्नै रिपुहरूमाथि विजय प्राप्त गर्न सकून् भन्ने प्रेरणा हो दुर्गा माताको आराधना। सांसारिक शक्तिले बाहिरका सफलता हासिल होलान् तर आन्तरिक शक्ति र निर्भयता हासिल गर्न आफ्नो आत्मसत्ता बोध नभई सम्भव छैन।

प्रकाशित: १५ आश्विन २०७९ ०४:१८ शनिबार

दसैं