कला

बजार अहिले ‘प्रदर्शनीमा’ छ

कविता

सविना सिन्धु

बजार अहिले ‘प्रदर्शनीमा’ छ

चनाखो आँखाहरूको भीडले

नियालिरहेछन् बजारको प्रदर्शनी।

मानिसहरूसँग

चाहिएका सामानहरूको लामै सूची छ।

फरक-फरक आँखाहरूको दृष्टिकोण

फरक छन्।

रोजाइ र सोचाइ फरक छन्।

आवश्यकताहरू फरक छन्।

बजार अहिले ‘प्रदर्शनी’मा छ।

खाद्यान्न, मालवस्तु, लत्ताकपडा, जुत्तामोजा

धोती-चोलो, सलवार कुर्था,

गरगहना हरेक चिजवस्तुको मोलमोलाइमा

छ बजार।

किनमेल गर्न इच्छुक भएर

झोलामा ‘बजेट’ बोकेर आएका छन् मानिस।

कोही रहरले कोही बाध्यताले डोर्‍याइएका छन्।

बजारसँगको संयोग धेरै मिलेको छ।

बजार दाम चाहन्छ।

उपभोक्ता (क्रेता) सरसामान चाहान्छन्।

व्यापारी नाफा चाहन्छ।

र त किन्नेहरुको भीड छ।

बजारले धेरै कुरा प्रदर्शनी राखेको छ।

रंगीन आशाहरू समेटेर

बजार कुरिरहेछ मानिसलाई

‘आउ’ भन्दै।

बजार अहिले ‘प्रदर्शनी’मा छ।

ती मानिसझैं गरी,

खल्तीमा अलिकति ‘दाम’

बोकेर,

‘म पनि अहिले बजार भेट्न हिंडेकी छु।’ 

प्रकाशित: १३ आश्विन २०७९ ०७:४८ बिहीबार

अक्षर