कला

सुरक्षा नीति बुझाउने पुस्तक

नेपाली सेनाका अवकाश प्राप्त सहायक रथी केशर बहादुर भण्डारी रक्षा मामिलाका जानकार हुन्। उनी राष्ट्रिय सुरक्षा नीतिबारे पनि जानकार मानिन्छन्।  

राष्ट्रिय सुरक्षा परिषदले विसं २०५९ मा पहिलो सुरक्षा नीति नयार पार्दा उनी त्यसको संयोजन गरेका थिए। भलै उनको संयोजकत्वमा तयार भएको राष्ट्रिय सुरक्षा नीति कार्यान्वयनमा आएन। तर त्यस यता उनी निरन्तर राष्ट्रिय सुरक्षा नीतिको महत्व र आवश्यकताका बारेमा अध्ययन अनुसन्धान तथा यसको आवश्यकतालाई प्रकाश पार्दै आएका छन्।

जतिबेला उनी राष्ट्रिय सुरक्षा परिषदमा जिम्मेवारी सम्हालेर पुगे त्यतिबेलासम्म नेपालमा राष्ट्रिय सुरक्षा नीतिलाई सेना प्रहरीसँगै जोडेर हेरिन्थ्यो। ‘त्यतिबेलासम्म सेना प्रहरीलाई पनि राष्ट्रिय सुरक्षा नीति के हो भन्ने प्रष्ट थिएन, राष्ट्रिय सुरक्षा नीति भनेको सेना र प्रहरीसँग सम्बन्धित नीति हो भन्ने थियो,’ भण्डारीले भने। जबकी राष्ट्रिय सुरक्षा नीतिमा सुरक्षा निकायसँग सम्बन्धित १५ देखि २० प्रतिशत मात्र विषय हुने उनी बताउँछन्।  

‘यो एउटा बृहत् अवधारणा हो। यसले समग्र सुरक्षा अवधारणालाई समेटछ, बाँकी ७० देखि ८० प्रतिशत कुरा मुलुकको सार्वभौम सत्ता, सामाजिक, आर्थिक तथा राजनीतिक सुरक्षा लगायतका विषयलाई समेटछ,’ उनले भने। राष्ट्रिय सुरक्षा नीतिमा पनि राजनीतिक सुरक्षा सबैभन्दा महत्वपूर्ण हुने उनी बताउँछन्। ‘नेपालको सन्दर्भमा यो राजनीतिक सुरक्षा कहिले पनि राम्रो हुन सकेन,’ उनले भने। भण्डारी संविधानले नसमेटेको कुरा राष्ट्रिय सुरक्षा नीतिले समेटने भएकाले पनि यसको निकै ठूलो महत्व भएको बताउँछन्। तर यसको कार्यान्वयनको पक्ष भने बलियो हुनुपर्ने उनको तर्क छ।  

नेपालमा राष्ट्रिय सुरक्षा नीतिबारे पर्याप्त जानकारी दिने सामग्री उपलब्ध नभएको सन्दर्भमा भण्डारीले यससम्बन्धी जानकारी दिन पुस्तक नै लेखेका छन्। उनको प्रकाशोन्मुख पुस्तक ‘नेसनल सिक्यिुरिटी एण्ड दि स्टेट अ फोकस अन नेपाल’मार्फत उनले नेपाल जस्ता साना राज्यलाई बलियो सुरक्षा नीतिको किन खाँचो छ भन्ने कुरा व्याख्या गरेका छन्। त्यसका साथै नेपालमा यो विषयमा ज्ञानको कमी रहेको र नेपालबारे राष्ट्रिय सुरक्षा नीतिका बारेमा एउटा प्रष्ट तस्बिर दिनका लागि यो पुस्तक लेख्नुपरेको उनी बताउँछन्। नेपालमा राष्ट्रिय सुरक्षा नीतिबारेमा अध्ययनका लागि आवश्यक पाठ्यसामग्रीसमेत नरहेको अवस्थामा यो पुस्तकले त्यो अभावलाई पनि पूरा गर्ने उनी बताउँछन्।  

३४ वर्ष सैनिक जीवन बिताएका उनले यसै विषयमा विद्यावारिधिसमेत गरेका छन्। पुस्तकमार्फत उनले नेपालमा राष्ट्रिय सुरक्षा नीतिको महत्व के छ। नेपालमा कस्ता सुरक्षा चुनौती छन् र यसलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने कुरा पनि प्रस्तुत गरेका छन्।  

भण्डारीले राष्ट्रिय सुरक्षा नीतिमार्फत साना राज्यको समस्यालाई कसरी सम्बोधन गर्न सकिन्छ, साना राज्यले आफ्नो मुलुकको रक्षा कसरी गर्ने जस्ता विषयलाई पनि समेटेका छन्। उनले स्विडेन, इजरायल र मंगोलियाले क्षेत्रफलका हिसाबले साना मुलुक हुँदाहुँदै पनि राष्ट्रिय सुरक्षा नीतिलाई बलियो बनाउँदा आफूलाई कसरी शक्तिशालि बनाई राख्न सफल भएका छन् भन्ने कुरालाई पनि उल्लेख गरेका छन्।  नेपालमा विभिन्न समयमा राष्ट्रिय सुरक्षा नीति बनेपनि त्यसको कार्यान्वयन हुन नसकेको उनी बताउँछन्। राष्ट्रिय सुरक्षा नीतिलाई व्यवस्थित ढंगले कार्यान्वयन गर्दा मुलुक प्रणालीमा सञ्चालन हुने उनी बताउँछन्। तर त्यसका लागि त्यसको कार्यान्वयनको ग्यारेन्टी हुनुपर्ने उनको तर्क छ। ‘राष्ट्रिय सुरक्षा नीति बनाएर मात्र हुँदैन त्यसको व्यवस्थित कार्यान्वयन पनि हुनुपर्छ। यदि त्यो कार्यान्वयन भएन भने के हुन्छ भन्ने कुराको पनि व्यवस्था हुनुपर्छ,’ उनले भने। यसको कार्यान्वयनका लागि कानुनी प्रावधानको व्यवस्था भएमा यसको व्यवस्थित कार्यान्वयन हुने र मुलुक प्रणालीमा सञ्चालन हुने उनको तर्क छ।

प्रकाशित: १० आश्विन २०७९ ०२:५० सोमबार

नेपाली सेना राष्ट्रिय सुरक्षा नीति