कला

राष्ट्रकविको ऋतंभरा लोकार्पित

राष्ट्रकवि माधव घिमिरेको बहुप्रतीक्षित महाकाव्य ऋतंभराको शुक्रबार लोकार्पण गरिएको छ। नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले एक कार्यक्रमबिच उक्त कृति लोकार्पण गरेका हुन्।  

साझा प्रकाशनद्वारा प्रकाशित उक्त कृति राष्ट्रकविको असी वर्षको साधनाबाट निस्किएको साहित्यकारहरूको भनाइ थियो। सोह्र सर्गको योजनाका साथ सुरु गरिएको उक्त कृति तेह्र सर्गमै समाप्त भएको छ। लेखकले आफ्नो अन्तिम भनाइ राख्ने क्रममा अझै दुई सर्ग लेख्ने तर ती सर्ग लेख्न नसके पनि कथावस्तु र काव्यको मूल मर्म तेह्र सर्गमै आइसकेको बताएका छन्। ऋग्वेदकालीन उपाख्यानलाई आधार बनाएर लेखिएको उक्त महाकाव्यमा श्यावाश्व र ऋतंभराको प्रेम सम्बन्ध उल्लेख छ।

मन्त्रद्रष्टा ऋषिहरूले ऋग्वेदका मन्त्रहरू सिर्जना गरेका र यो नै पूर्वीय दर्शनको आधार भएको बताउँदै समीक्षक डा. लेखप्रसाद निरौलाले ऋतम्भराका श्लोक पनि मन्त्रजस्तै छन् भन्दै कवि मन्त्रद्रष्टा ऋषि भएको बताए। उनले कविले महाकाव्यमा आफू योगी भएको बताएको कुरा मिथ्या नभएको दाबी गरे। प्रमुख अतिथि कुलपति उप्रेतीले राष्ट्रकवि कीर्तिशेष भएपछि महाकाव्य प्रकाशन गर्न परिवारलाई झकझक्याएको र आफू पनि सहयोग गर्न तयार रहेको इतिहास सुनाउँदै साझालाई कीर्ति प्रकाशन गर्न दिनू भनेर महाकविले पुरानो बौद्धिक संस्थाप्रति सदाशयता देखाएकामा आभार प्रकट गरे।

साझा प्रकाशनका महाप्रबन्धक प्रह्लाद पोख्रेलले विक्रमको २०औं शताब्दीको सुरुआतमै लेखनको उचाइ प्राप्त गरेका राष्ट्रकविको कृतिमा भएका प्रयोग आधुनिक व्याकरणसँग मेल नखाने हुँदा यसलाई आर्ष प्रयोगका रूपमा लिनुपर्ने बताए। लेखनाथ साहित्य सदनका अध्यक्ष रमा शर्माको अध्यक्षतामा कार्यक्रम भएको थियो। 

प्रकाशित: ८ आश्विन २०७९ ०४:१६ शनिबार

अक्षर महाकाव्य ऋतंभरा