कला

कथा अरनिकोको: परिचय प्राचीन नेपाली कलाकृतिको

नेपाली जनजिब्रोमा झुन्डिएको एउटा उखान छ, त्यो के भने ‘बाठो मानिसको पिठो पनि बिक्छ, लाटाको चामल पनि बिक्दैन’ अर्थात् बाठो मान्छेले नानाथरीको बखान गरेर पिठो पनि बेच्न सक्छ तर सोझोसिधा मान्छेले पिठोभन्दा बहुमूल्य चामल पनि बेच्न सक्दैन भन्ने हो। हिजोआज घरघरमा डायबिटिजका रोगीहरू भएका कारण चामलभन्दा पिठो महत्वपूर्ण भएको प्रसङ्ग छँदै छ।  

भनाइको तात्पर्य के मात्र हो भने आफ्नो काँचो सभ्यता–कला र टुसाएको संस्कृतिलाई समेत अनेक आख्यान जोडेर आधुनिक प्रविधि र विज्ञानको सहायताबाट दुनियाँसामु प्रस्तुत गर्न खप्पिस रहेको यस विश्वमा हामीले भने आफ्ना पुर्खाहरूले आर्जेको सदियौं पुरानो कलाकृति, सभ्यता र संस्कृतिलाई पनि राम्रोसँग उजागर गर्न सकेका छैनौं।

यसको एउटा ज्वलन्त प्रमाण यलय भनिने पाटन सहरका यलेय बाबु अर्थात अरनिकोले ७०० वर्ष अगाडि तिब्बत र चीन पुगेर त्यहाँ हाम्रो कला, संस्कृति र बुद्धधर्मको दीप प्रज्ज्वलन गर्दा समेत हामीले उनको योगदान र तपस्याबारे युगौंसम्म जानकारी पाउन सकेका थिएनौं।

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी पटकपटक चीनमा नपुग्नुभएको भए २०२८ सालमा पनि अरनिको र उनले तिब्बत एवम् चीनमा फैल्याएको नेपालको कृतिबारे हामी नेपालीसमेत अनविज्ञ नै रहने थियौं। हाम्रो मूर्तिकला, वास्तुकला, हस्तकला, चित्रकला, दर्शन र सृजनाबारे विश्वका अन्य समुदायमा जानकारी पुर्‍याउने त कल्पनासम्म पनि गर्न सक्ने कुरा भएन। सत्यमोहन जोशीले चारचार पटक चीनमा जाने र त्यहाँ अध्यापन गर्ने अवसर पाउनुभएका कारण ढिलै भए पनि हामीले हाम्रा प्राचीन कला–संस्कृति र दर्शन तिब्बत एवम् चीनसम्म फैल्याएर त्यहाँ ख्याती कमाएर नेपाल र नेपालीको सम्मान कायम गर्ने अरनिकोका सम्बन्धमा जानकारी पाउने अवसर पायौं। यो हामी सबैको सौभाग्य हो।

२०२८ सालपछि सत्यमोहन जोशीको अन्वेषणलाई आधार बनाएर अरनिकोबारे धेरै चर्चाहरू भए। तर जति चर्चा भए पनि अरनिकोबारे सत्यमोहन जोशीले आजभन्दा ५० वर्ष अगाडि गरेको अन्वेषणकै सेरोफेरोमा मात्र केन्द्रित रहेको छ। अरनिको र उनले तिब्बतको शाक्य विहारमा निर्माण गरेको ‘स्वर्ण स्तुपा’ र ‘तातु’ नगर हालको बेइजिङमा निर्माण गरेको ‘श्वे त चैत्य’ सम्बन्धी जानकारीको सर्वश्रेय वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई नै जान्छ। अरनिकोले ७०० वर्षअगाडि तिब्बत र चीन पुगेर आफ्नो अद्भुत क्षमताबाट नेपाली कला र संस्कृति फिँजाएको तथ्य एउटा भूगर्भ–विद्ले पृथ्वीको सतहबाट हीराको खानी अन्वेषण गरेजस्तो गरी अन्वेषण गर्न उहाँ सफल हुनुभएको छ। उहाँकै योगदानका कारण अहिले नेपाली जनता अरनिको, तिब्बतको शाक्य विहारस्थित ‘स्वर्ण स्तुपा’ र चीनको बेइजिङमा रहेको अद्भुत ‘श्वेत चैत्य’बारे धेरथोर जानकारी राख्नपाएका छौं। शताब्दी पुरुष सत्यमोहन जोशीले नेपाल भाषा र नेपाली भाषामा लेख्नुभएको तथा नेपाल भाषाबाट नेपाली भाषामा अनुवाद गरिएको अरनिकोबारेको शोधग्रन्थले नेपाल र नेपाली भाषी धेरैलाई राम्रोसँग जानकारी दिन सफल भयो।

तर नेपालको मुर्धन्य कला सम्राट जसले ७०० वर्ष पहिले नेपाल र नेपाली राष्ट्रको कला, सभ्यता र संस्कृतिलाई विशाल छिमेकीमा परिचय दिएर दुई देशबीचको सांस्कृतिक सेतुलाई जोड्ने काम गर्‍यो र उनका बारे अन्तर्राष्ट्रिय जगत्ले पनि जानकारी राख्नु अझ राम्रो कुरा हो। त्यही अन्तर्राष्ट्रिय जगत्मा अरनिको र उनको अतुलनीय योगदानबारे जानकारी दिने उद्देश्यले लेखक कृष्‍णकुमार पाँडेले अरनिको र उनको कलाकृति सम्बन्धमा अंग्रेजी भाषामा एउटा पुस्तक प्रकाशन गर्नुभएको छ। यस पूर्व विभिन्न विषयका आठआठ वटा पुस्तक लेखिसक्नुभएका पाण्डेको यो पछिल्लो अरनिकोबारे इतिहासमा आधारित औपन्यासिक कृति ‘दि डिभाइन हैन्डस, अरनिको मोर देन ए गेस्ट अफ एनसिएन्ट चाइना’ ले अरनिको र तिब्बतको ‘स्वर्णस्तुपा’ र चीनको बेइजिङमा निर्माण गरेको ‘श्वेत चैत्य’ बारे अन्तर्राष्ट्रिय जगत्लाई राम्रो जानकारी दिनेमा विश्वास गर्न सकिन्छ। हामी सबैलाई थाहा छ साहित्य साधना आफैंमा एउटा कठिन काम हो। त्यसमा पनि एउटा कालखण्डको इतिहासको सत्य–तथ्यलाई त्यसै ऐतिहासिक उपन्यासका पात्रको सेरोफेरोमा जीवन्त रूपमा प्रस्तुत गर्नु अझ गाह्रो काम हो। यो जो कसैले गर्न सम्भव छैन।

अरनिकोको यस ऐतिहासिक सत्य तथ्यलाई साहित्यको उपन्यास विधामा परिणत गरेर लेखक केके पाण्डेले अन्तर्राष्ट्रिय जगत्मा नेपालको प्राचीन मूर्तिकला वास्तुकला, संस्कृति र सभ्यता चिनाउन एउटा रोचक काव्य नै सृजना गर्नुभएको छ। सरल र मिठो अंग्रेजी भाषामा लेखिएको कारण नेपालको प्राचीन कला, सभ्यता र संस्कृतिप्रति चाख राख्ने र पाठकहरूका लागि इतिहासको तथ्यमा आधारित यो उपन्यास एउटा कोसेढुंगा साबित भएको छ। प्राचीन नेपाल चिन्ने आँखीझ्याल भएको छ।  

अरनिकोले नेपाल र चीनबीचको मित्रता बढाउन पुर्‍याएको योगदानलाई इङ्गित गर्दै केके पाण्डेको औपन्यासिक कृति ‘दी डिभाइन हैन्डस’ को लोकार्पण गर्ने कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले यस कृतिले मञ्जुश्री, बलभद्र र भृकुटीले न्यानो बनाएको नेपाल र चीनबीचको मित्रता तथा बौद्ध दर्शनको विस्तारलाई नेपाली धर्तीपुत्र अरनिकोले थप उज्यालो तुल्याएको तथ्यलाई समेत नेपालबारे जानकारी राख्न चाहने विदेशी पाठकका लागि लेखकले उजागर गरिदिनुभएको कुरा बताउनुभएको हो।  

केके पाण्डे एउटा सिद्धहस्त साहित्यकार नभएको भए अरनिकोबारे ऐतिहासिक तथ्याङ्कका आधारमा सरसर्ती रूपमा लेख्दा कथावस्तुको लेखन यसरी हुन सक्थ्यो। त्यो के भने तेह्रौं शताब्दीको सुरुवातसँगै चीन एकीकरण गर्ने युनान वंशका शक्तिशाली सम्राट हुपीले भनेर चिनिने कुवलाई खाँले आफ्ना तिब्बती धर्मगुरु पासपालाई तिब्बतमा रहेको शाक्य गुम्बाभित्र एउटा ‘स्वर्ण स्तुपा’ बनाउने इच्छा प्रकट गर्छन्। सम्राटको उक्त इच्छा पूरा गर्न शिल्पकला, वास्तुकला, चित्रकारिता, दर्शन, सांस्कृतिक सभ्यताको धनी भनी त्यसबेला नै प्रसिद्धि कमाएको नेपालको यलय (पाटन नगर) बाट स्तुपा निर्माण गर्न १०० कालिगड पठाउन राजा भीमदेव मल्ललाई अनुरोध गरी आफ्नो दूत पठाउँछन्। बौद्ध धर्म गुरु पासयाको अनुरोधमा ८० जना दक्ष कालिगड राजाले पठाउने तयारी गर्छन्। तिनै कालिगडहरूको नाइके भएर १७ वर्षे ठिटो यलयबाबु नाम गरेको (अरनिको) तिब्बत गएका हुन्। स्वर्णिम स्तुपाको निर्माण सकेर नेपाल फर्कने तरखरमा रहेका उनलाई धर्मगुरु पासपाले आफूसँगै चीन पुगेर एकपटक सम्राट कुवलाई खाँलाई भेटेर मात्र नेपाल फर्कन आग्रह गर्छन्। चीन पुगेर सम्राटको दरबारमा अरनिकोको कलाकृति र सिपको तारिफ धर्मगुरु पासपाले गर्छन्। सम्राटले उनको सिपको परीक्षा लिनका लागि एउटा भत्केको ढलौटको मूर्ति मर्मत गर्ने काम दिन्छन्।

त्यसमा अरनिको पूरै सफल हुन्छन्। सम्राटको विश्वास जित्छन्। चीनको राजधानी ‘तातु’ हालको बेइजिङ सहरमा एउटा ‘श्वेत चैत्य’ बनाउन सम्राटले दिएको काम समयमा नै सम्पन्न गर्दछन्। सम्राटले उनलाई मन्जी सरहको मानपदवी दिएर राख्छन्। राजघरानासँग वैवाहिक सम्बन्धमा पनि उनी जोडिन्छन्। उनको मृत्युपश्चात उनको स्मृतिमा उनको बयान लेखेर शिलालेख ठड्याइन्छ। त्यसै शिलालेखबाट उनी अद्भु‍त कलाकार, वास्तुकार र चित्रकार भएको तथ्य खुल्छ। यसै शिला लेखबाट ७०० वर्ष अगाडिदेखि हावा, पानी, तुषारो र वर्षाको बाबजुद एउटा उज्ज्वल नक्षत्रजस्तो चम्किएको देखिने ‘श्वेत चैत्य’ का निर्माता अरनिको नाम गरेको व्यक्ति नेपालका हुन् भन्ने परिचय भेट्टाइएको हो। इतिहासको वर्णन यतिमै सकिन्छ।

साच्चै भन्नुपर्दा केके पाण्डेले अरनिकोको सम्बन्धमा सत्यमोहन जोशीले अन्वेषण गरेर पत्ता लगाउनुभएको इतिहासरूपी अस्थिपन्जरमा मांसपेसी, स्वासप्रस्वास प्रणाली मात्र होइन, पूरा प्राण नै भरिदिनुभएको छ।

तथ्य सत्य उजागर गर्न ‘श्वेत चैत्य’ र अरनिकोको समाधि स्तलको अध्ययन गर्न लेखक पाण्डे स्वयम् स्थलगत भ्रमण गर्न बेइजिङ पुग्नुभएका कारण आफ्नो रचनाप्रति उहाँको उच्च समर्पणलाई उजागर गरेको छ।

यसै कुरालाई इङ्गित गर्दै पुस्तक लोकार्पण कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति स्वयम्ले भन्नुभएको छ, ‘लामो अन्वेषण र विश्लेषणबाट प्राप्त तथ्यलाई पात्रहरूको माध्यमबाट रोचक सामग्री तयार गर्ने काम एक गम्भीर र सिर्जनशील रचनाकारबाट मात्र सम्भव छ। आफ्नो कृतिलाई जीवन्त बनाउन रचनाकार सफल हुनुभएकोमा म बधाई दिन चाहन्छु।’

राष्ट्रपति भण्डारीबाट यस कृतिका सम्बन्धमा पोखिएको विचार वास्तवमा शाश्वत सत्य हो। एउटा भनाइ छ, ‘तस्बिर आफै बोल्छ।’ त्यसमा कुनै शब्द लेखिराख्नु पर्दैन। रचनाकार पाण्डेले एउटा सानोसानो घटनाक्रमलाई प्रस्तुत गर्दै त्यस बेला नेपाल तिब्बत चीनबीच रहेको प्रगाढ मित्रताको सन्देश कुनै शब्द अलङ्कारबाट विभूषित नगरी पनि दिन सफल हुनुभएको छ। यो उहाँको अर्को लेखन विशेषता हो भन्नुपर्छ। जस्तो कि रचनाकारले आफ्नो औपन्यासिक आख्यानमा तिव्बती धर्मगुरु पासपाले आफ्नो दूत पठाएर पाटनका राजा भीमदेव मल्लसमक्ष एकसय दक्ष कालिगडको माग गर्दा राजा स्वयम् कालिगडहरू छिटो पठाउन आफै अग्रसर भएका थिए। आफ्नो मुलुकमा पाँच वर्षको अन्तरालमा ठूलाठूला भूकम्प गएको र पुनर्निर्माणको कामलाई अगाडि बढाउनुपर्ने अवस्थामा तिव्बतबाट माग हुँनासाथ दक्ष जनशक्ति तुरुन्त पठाउने राजाको हुटहुटीबाट प्राचीनकालदेखि नै नेपाल र तिव्बत चीनबीचको प्रगाढ मित्रतालाई उजागर गरेको पाइन्छ।

त्यसैगरी मित्रता, सम्मान र सद्भाव एकतर्फी मात्र थिएन। जसरी नेपालले ७०० वर्ष अगाडि आफ्नो पुनर्निर्माणलाई अप्ठ्यारो परेको अवस्थामा पनि तिब्बत चीनसँगको अपार मित्रताका कारण दक्ष जनशक्ति पठाउने काम गर्‍यो। त्यस्तो मित्रता आधुनिक युगसम्म पनि अटुट रूपमा रहेको छ भन्ने सन्देश चीनका तात्कालीन प्रधानमन्त्री चाउ एन लाईले ‘श्वेत चैत्य’ तोडफोड गर्नबाट रोक्दै यो नेपाल चीन मित्रताको प्रतीक भएकाले त्यसको संरक्षण गर्नुपर्ने अठोट व्यक्त गरेबाट प्रस्ट हुन्छ।

यो मित्रताको पक्षलाई रचनाकारले कुनै व्याख्या नगरी ‘तस्बिर आफै बोल्छ’ भन्नेजस्तो गरी व्यक्त गरिएको छ। यो अद्भुत नयाँ प्रयोग गर्न पनि लेखक सफल हुनुहुन्छ।

यसरी एउटा रचनाबाट देशको प्राचीन कला, संस्कृति, सभ्यताका साथै मित्रराष्ट्रसँग रहेको मित्रताको कसिलो गाँठोसमेतलाई उजागर गर्न लेखक सिद्धहस्त सावित हुनुभएको छ।  

यसै कुरालाई हृदयङ्गम् गरेर होला, लोकार्पण कार्यक्रममा राष्ट्रापति भण्डारीले भन्नुभएको थियो, ‘इतिहासको एउटा युगलाई जीवन्त रूपले स्मरण गराउने ‘श्‍वेत चैत्य’ आज पनि नेपाल र चीनबीच मित्रताको प्रतीक बनेर उभिएको छ। हाम्रो नजिकको छिमेकी मित्र राष्ट्रसँग सांस्कृतिक सम्बन्ध स्थापित र विस्तार गर्न कलाक्षेत्रले खेलेको भूमिका ऐतिहासिक हुनुका साथै उच्च सम्मानयोग्य रहेको पनि यसबाट पुष्टि हुन्छ।’  

समष्टिमा भन्नुपर्दा रचनाकार केके पाण्डेको कृति ‘दि डिभाइन हैन्डसम’ शताब्दी पुरुष सत्यमोहन जोशीले अन्वेषण गर्नुभएको अरनिको र नेपालको कलाकारिता मूर्तिकला, हस्तकला, वास्तुकला, सभ्यता र बौद्ध दर्शनको सन्देश चरमोत्कर्ष अवस्थामा रहेको प्राचीन नेपाललाई अंग्रेजी भाषामा लेखिएका कारण विश्वसमक्ष चिनाउन सफल हुनेमा विश्वास  गर्न सकिन्छ।

प्रकाशित: ८ आश्विन २०७९ ०२:५० शनिबार

अरनिको