कला

मेरो सपना

ढोक गरें बाबा! कल्याण होस् बालक! आऊ बस। आज एकाबिहानै आयौ त। केही विशेष काम? त्यस्तो केही छैन। हजुरको दर्शन गर्न मन लाग्यो, त्यसैले। केही लुकाउँदै छौ मसँग। तिम्रो मनमा केही कुराको खुल्दुली चलिरहेको छ। भन खुलस्त।  

अरू त केही होइन बाबा! आज मैले एउटा अचम्मको सपना देखें। त्यो सपनाको दृश्य मेरो आँखामा घुमिरहेको छ। भन, कस्तो सपना देख्यौ? खै, कहाँबाट सुरु गरौँ। जहाँबाट तिम्रो सपना सुरु भएको थियो, त्यहीबाट।

मेरो सपना एउटा अत्यन्त सुन्दर बगैँचाबाट सुरु हुन्छ। जहाँ विभिन्न रङका सुन्दर फूलहरू मगमग बास्ना छर्दै फुलिरहेका छन्। बगैंचाले आफ्नो गर्भमा बहुमूल्य रत्नहरू धारण गरेको छ। जसको आभा चारैतिर फैलिएको छ। हेरचाहका लागि एउटा माली थियो। उसको अन्त्यपछि त्यहाँ धेरै मालीहरूको उदय भयो। उनीहरूले बाहिरका आफ्ना साथीहरूलाई पनि मालीका रूपमा प्रवेश गराउन थाले। बिस्तारै बगैंचाको आकारभन्दा मालीको संख्या अधिक हुन थाल्यो। उनीहरू पूmलको हेरचाहभन्दा गर्भको बहुमूल्य रत्नतिर आकर्षित हुन थाले। पूmलहरू ओइलाउँदै, झर्दै गए। मालीहरूको थिचाइ, मिचाइमा परेर बगैंचा उजाड हुँदै गयो। हेर्दाहेर्दै उनीहरूको शरीर त मान्छेको छ तर टाउको बिस्तारै कुकुरको जस्तै बन्दै गयो। ठूला ठूला आकर्षक देखिने झोलामा हड्डी भरेर बाहिरका मान्छेहरू आउन थाले मालीलाई भेट्न। कहिलेकाहीं मालीहरू नै उनीहरूलाई भेट्न विभिन्न बहाना बनाएर त्यहीं पुग्न थाले। हड्डीका लागि उनीहरूबीच नै लुछाचुँडी हुन थाल्यो। हड्डी लिएर आउनेहरू बिस्तार बिस्तार बगैंचा हात पार्ने दाउ खोजिरहेका थिए। कोही छेउछाउबाट अलिअलि गरेर चुड्दै थिए भने कोही बीचमै पस्न खोज्दै थिए। मलाई असह्य भयो। म एक्लै जुर्मुराएँ। मलाई उनीहरूले दबाए। म चुप लागेर बस्न सकिनँ। मजस्तै साथीहरू खोज्न थालें। एउटा जमात बनाएर फेरि जुर्मुराएँ। दबाउन खोजे तर सकेनन्। किनकि हामी धेरै थियौं। मलाई विभिन्न प्रलोभन देखाए। मैले मानिनँ। त्यसपछि उनीहरूले हामीहरूबीच फुट गराउन कतिलाई धम्काए। कतिलाई प्रलोभनमा पारी आपूmजस्तै बनाए। उनीहरू सबैले मेरो साथ छोडे। मलाई फेरि एक्लो बनाए। मेरो इच्छाशक्ति कमजोर पार्नका लागि।  

म शिथिल भएर सुतिरहेको थिएँ। मेरो त्यो उजाडिएको बगैंचाले घच्घचाउँदै मलाई भनिरहेको थियो, ‘कति बस्न सक्छौ मुकदर्शक भएर। हेर त मेरो अवस्था, म कत्ति उजाडिएको छु। मलाई विरूप पारिसके। अब पनि तिमी यसरी नै चुप लागेर बस्यौ भने भोलि तिम्रा सन्ततिलाई आँखाबाट बलिन्द्र धारा आँसु झार्दै पराधीनताको नमिठो कहानी तिमीले नै सुनाउनुपर्ने छ। यसको जिम्मेवार तिमी पनि हौ। मसँग भएको यो अथाह समृद्धिको मालिक अर्कै हुने छ। जसको अधिकारी तिमी हौ। आफ्ना भावी सन्ततिलाई यसबाट कसरी बन्चित गराउन सक्छौ? आऊ मलाई बचाऊ, म तिम्रा सन्ततिलाई बचाउने छु।’

मेरा कानमा अहिले पनि गुन्जिरहेको छ त्यो आवाज। म के गरुँ बाबा! मलाई मार्गदर्शन दिनुहोस्।  

फेरि तिमी त्यही सपनामा जाऊ। त्यसलाई टुट्न नदेऊ। तिम्रो साथ जजसले छोडे, तिनीहरूलाई छोडिदेऊ। तिनीहरू आए भने पनि तिमीलाई कुनै दिन धोका दिने छन्। त्यसैले तिमी सुतिरहेकाहरूलाई झक्झकाऊ, तिनीहरूलाई उठाऊ। तिनीहरू केवल शक्ति सञ्चयका लागि सुतेका मात्र हुन्। तिनीहरूभित्र पनि तिम्रोजस्तै आगो छ। तिमी उनीहरूका सामु झिल्को बनेर जाऊ। तब तिनीहरू बल्ने छन्, ज्वालामुखी हुने छन्। तिम्रो सपनामाथि कुठाराघात गर्नेमाथि जाई लाग्ने छन् र तिनीहरूलाई भष्म पार्ने छन्। होसियार रहनू, किनकि नकाबधारी सधैं तिम्रो वरिपरि अवसरको खोजीमा रहेका हुन्छन्। तिमीलाई त्यो उजाडिएको बगैंचाले आह्वान गरिरहेको छ। जाऊ तिमीलाई मेरो आशीर्वाद छ। ‘तिम्रो सपना पूरा होस्।’

प्रकाशित: ८ आश्विन २०७९ ०२:४० शनिबार

मेरो सपना