कला

नारायणघाटमा दशैँ फुड् एण्ड म्यूजिक फिस्टा हुने

नारायणघाटको क्याम्पाचौरमा दशैँ फुड् एण्ड म्यूजिक फिस्टाको आयोजना हुने भएको छ। रेष्टुरेण्ड एण्ड बार एशोसियसन चितवनले दशैँमा मनोरञ्जन प्रदान गर्ने उद्देश्यले आश्विन १६ गते फुलपातीको दिन फुड् एण्ड म्यूजिक फिस्टाको आयोजना गर्न लागेको हो।

समुदायमा सामूहिक खानासहित संगीत सुन्ने संस्कृतिको विकाश गर्ने उद्देश्यले फिस्टाको आयोजना गर्न लागेको आज (मंगलबार) नारायणघाटमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ। करिब १० घण्टा सञ्चालन हुने फिस्टामा साना बालबच्चादेखि वृद्धवृद्धासम्मका सबै वर्गले मनोरञ्जन लिन सक्ने रेष्टुरेण्ड एण्ड बार एशोसियसन चितवनका अध्यक्ष अच्यूतराज भट्टले जानकारी दिए।

फुड् एण्ड म्यूजिक फिस्टामा नेपाली खानासँगै चाइनिज, कोरियन, इटालियन, इन्डियन लगायतका परिकारहरु हुने उनले बताए। कार्यक्रममा एज ब्याण्डको सांस्कृतिक प्रस्तुति समेत रहने छ। ६० स्टल रहने फुड् एण्ड म्यूजिक फिस्टा दिउँसो २ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ। ३५ लाख खर्च हुने अनुमान गरिएको कार्यक्रममा पाँच सय रुपैयाँ प्रवेश शुल्क तोकिएको अध्यक्ष भट्टले जानकारी दिए।

उनका अनुसार छ हजारदेखि आठ हजार जनासम्मले अवलोकन गर्ने अपेक्षा लिइएको छ। ३० लाखको हाराहारीमा टिकट बिक्री हुने अनुमान गरिएको छ। दुई वर्षअघि स्थापना भएको रेवान चितवनमा ६० सदस्य आवद्ध रहेका छन्।

उनीहरुलाई स्टल शुल्क निःशुल्क रहेको आयोजनकले जानकारी दिएको छ। दशैँमा खानासहित सांगीतिक प्रस्तुति रहने भएकाले पहिलोपटक चितवनमा गर्न लागिएको फिस्टामा सहभागीता जनाउनका लागि आयोजकले आग्रह गरेको छ।

प्रकाशित: ४ आश्विन २०७९ १३:४४ मंगलबार

रेष्टुरेण्ड एण्ड बार एशोसियसन चितवन दशैँ फुड् एण्ड म्यूजिक फिस्टा