कला

बलिउड फिल्म 'उचाई' को पोस्टर सार्वजनिक

नेपालमा छायांकन गरिएको बलिउड फिल्म 'उचाई' को पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक भएको पोस्टरमा अमिताभ बच्चन, बोमन इरानी र अनुपम खेरलाई प्रस्तुत गरिएको छ भने पृष्ठभूमिमा सगरमाथा देख्न सकिन्छ।  

राजश्री प्रोडक्सनको फिल्म नेपालमा छायांकन भएकाले समेत नेपाली दर्शकमाझ प्रतीक्षित छ। निर्माण कम्पनी राजश्री प्रोडक्सनको यो ६० औं फिल्म बताइएको छ। नेपालको हिमालयमा सुटिङ भएको फिल्ममा अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, परिणिती चोपडा र डेनी डेन्जोङ्पाको प्रमुख भूमिका छ। फिल्ममा नेपाली कलाकारले पनि अभिनय गरेका छन्।  

अमिता बच्चनले सामाजिक सञ्जालमा उक्त पोस्टर सार्वजनिक गर्दै उनले आफूलाई गर्व लागेको बताएका छन्। 'हाम्रो फिल्म उचाईको दोस्रो पोस्टर सेयर गर्दा मलाई गर्व महसुस भइरहेको छ। आउनुस् म र मेरो साथी अनुपम खेर र बोमन इरानीको मित्रता र रोमाञ्चित जीवनलाई परिवारसँग साट्नुस्,' उनले लेखेका छन्।  

यो फिल्म आगामी कात्तिक २५ गतेदेखि प्रदर्शन हुँदैछ।

प्रकाशित: ३ आश्विन २०७९ ०९:०५ सोमबार

'उचाई' राजश्री प्रोडक्सन