कला

पद, पावर, परिवेश कहाँ सधै अनुकूल हुन्छ र!

मुक्तक

धनबहादुर श्रेष्ठ

 १) मुक्तक

गाँउमा बस्यो टिक्नै गाह्रो भो,

शहर पस्यो बिक्नै गाह्रो भो।

बिहान हजार साट्यो दिउँसै स्वाहा,

साँझमा पचास झिक्ने गाह्रो भो।

 २) मुक्तक

मेरो खुशी तिम्लाई झ्याउ हुन सक्छ,

तिम्रो हाँसो मलाई घाउ हुन सक्छ।

समय सधैं एकनास कहाँ हुन्छ र?

चौका हैन मौकामा दाउ हुन सक्छ।

  ३) मुक्तक

ज्यूहजुरिया गरी न माग्न जानियो,

न त छलछाम गरेर भाग्न जानियो।

कमजोरी यही भो जीवन यात्रामा,

न पक्ष न विपक्षमा लाग्न जानियो।

  ४) मुक्तक

सम्बन्ध कतिबेला खटपटिन्छ भन्न सकिन्न,

जिब्रो कुन समयमा लटपटिन्छ भन्न सकिन्न।

पद, पावर, परिवेश कहाँ सधै अनुकूल हुन्छ र?

केको अभाव कहिले खट्किन्छ भन्न सकिन्न।

  ५) मुक्तक

धामी फेरियो मन्त्र फेरिएन,

वाद फेरियो तन्त्र फेरिएन।

रमितेलाई रमिता भा भो!

काम फेरियो यन्त्र फेरिएन।

प्रकाशित: १ आश्विन २०७९ ०७:२७ शनिबार

अक्षर