कला

‘रित्तो रथ’ कथासङ्ग्रह बजारमा

कथाकार रत्न प्रजापतिको नवीनतम कथासङ्ग्रह ‘रित्तो रथ’ बजारमा आएको छ। शिखा बुक्सद्वारा प्रकाशित यस सङ्ग्रहमा ३२ वटा मझौला आकारका कथा सङ्गृहीत छन्। चालीसको दशकदेखि लेखनमा सक्रिय प्रजापति कथासँगसँगै गीत, गजल र अर्थ–सामाजिक विषयका लेख–निबन्ध लेखनमा पनि उत्तिकै सक्रिय छन्।

कथाकार प्रजापतिको नवीनतम कथासङ्ग्रह ‘रित्तो रथ’ मा सामाजिक, सांस्कृतिक र राजनीतिक विषयवस्तुलाई केन्द्रमा राखेर लेखिएका रुचिकर कथाहरू छन्। प्रजापतिका कथाहरू सामाजिक यथार्थको प्रतिबिम्बको रूपमा आएका छन्। यौन चेतना र सूक्ष्म मनोविज्ञानदेखि राजनीतिक र सामाजिक बेथिति/विसङ्गतिलाई कथामा सुरुचिपूर्ण ढङ्गले केलाइएका छन्। मूलतः मानवीय सम्बन्ध र संवेदना कथाको प्रबल पक्षको रूपमा आएका छन्।

सङ्ग्रहका धेरै कथामा उपत्यकाको नेवारी संस्कृतिका विविध आयामलाई उतारिएका छन्। उपत्यकाको संस्कृतिको विविध आयामलाई कथामा जोड्नु कथाकार प्रजापतिको निजी विशेषता नै हो।

यस्तै विशेषता बोकेका कथा हुन् रित्तो रथ, रङ्गीन बाफ, तेबाचाको फेसबुक स्टाटस, खर्पन, भुलाँ, तलमाथि, अर्कै घरबाट आदि कथाहरू। प्रजापतिका कथा सरल तथा शालीन हुनुका साथै कथामा रहज प्रवाह भएको पुस्तकको प्रकाशकीयमा उल्लेख छ। उनका यसअघि बिसन्चो (२०६१), सेतो बादल (२०६६), बदाम बेच्ने केटी (२०७४) र स्वच्छन्द साँझ (२०७४)कथासङ्ग्रह प्रकाशित छन्।

प्रकाशित: १ आश्विन २०७९ ०२:५४ शनिबार

अक्षर ‘रित्तो रथ’ कथासङ्ग्रह