कला

ढाकामोहन बरालका पाँच लघुकथा

लघुकथा

ढाकामोहन बराल

  १) झुकेको नजर

मन्त्रीज्यूको जिल्लामा सवारी भएको रहेछ। चुनाव नजिकै आएको छ। यसो चुनावी माहोल पनि बनाउनुपर्‍यो। मन्त्रीज्यूको जिल्ला बसाइ बढाइयो। कार्यकर्ताहरूले विविध कार्यक्रम बनाएका छ्न्। आज मन्त्रीज्यूको सम्मान गर्ने कार्यक्रम रहेको छ। उहाँले पढेको क्याम्पसका उहाँकै पार्टीको विद्यार्थी संगठनले राखेको कार्यक्रम थियो। मन्त्रीज्यूको सम्मान कार्यक्रममा क्याम्पस प्रमुख लगायत सबै शिक्षकको उपस्थिति थियो।

हरि सर पनि त्यहीं हुनुहुन्थ्यो। मन्त्रीज्यूको सवारी भयो। स्वागत भाषण भयो। दोसल्ला र मालाले सम्मान गरियो। मन्त्रीज्यूलाई बोल्न लगाइयो।

मन्त्रीज्यूले भाषण गर्न माइक्रोफोन उठाउनुभयो। उहाँको आँखा हरि सरमा पर्‍यो। अझ हरि सरको कञ्चटमा परेको गहिरो खतमा पर्‍यो। आफूले हरि सरलाई फलामको रडले हिर्काएको याद आयो। मन्त्रीज्यूको नजर झुक्यो। कार्यक्रमभरि उठ्न सकेन।

 २) प्रतिस्पर्धी

हरिले भन्यो,‘सरले राम्रोसँग पढाउनु भएन जस्तो छ यार! किताबमा त धेरै कुरा छ त।’

गोपालले भन्यो,‘हो त, मलाई पनि निकै अड्कलेर बोले जस्तो लाग्छ। केही सोधे परीक्षामा यति भए पुग्छ भन्नुहुन्छ। मुख्य त ज्ञान हो नि।’ 

हरिले भन्यो,‘आन्तरिक मूल्यांकन पनि आफू खुशी छ। के गर्न खोज्या हो?’

दुवै मेहनत गरेर पढे र इञ्जिनियरिङमा स्नातक गरे। लोकसेवा आयोगको फारम भर्ने मौका पाइहाले। आज लोकसेवा आयोगको परीक्षा हलमा पछाडि बसेर सरले पनि परीक्षा दिंदै हुनुहुन्थ्यो। किन अड्कलेर पढाएका भन्ने कुरा बल्ल उनीहरूलाई थाहा भयो।

३) नैतिकता र सदाचार

मणि सर फोनमा व्यस्त हुनुहुन्थ्यो। उताबाट बोलेको सुन्न नसकिए पनि उहाँले बोलेको सुनिन्थ्यो।

‘हस हजुर, म व्यवस्था गरिहाल्छु नि। डिनर र मिटिङमा मन्त्रीज्यूको तर्फबाट उमेशजी आउनुहुन्छ। सचिवज्यूलाई म लिएर आउँछु। काम गर्न निकै गाह्रो प्रोजेक्ट छ यो। कसरी काम सम्पन्न गर्ने हो।

-हैन-हैन पुरानो होटलमा टंगालको आँखा परिसक्यो। हुँदैन नयाँ ठाउँमा गरौं।

-हुन्छहुन्छ हामी टयाक्सीमा आऔंला। किन शंकाको मौका दिने?

फोन राखेर भित्र पस्नुभयो।

उहाँ लोकसेवा आयोग तयारी कक्षा पढाउदै हुनुहुन्थ्यो। स्क्रिनमा उहाँले आज पढाउने विषयवस्तु ‘नैतिकता र सदाचार’ देखिएको थियो।

४) गरिव व्यापारी 

प्रहरीले भन्यो,‘यहाँबाट अगाडि जान मिल्दैन।’  

‘हैन, हजुर त्यसो नभनौ। अस्पताल जाने बाटो पर्‍यो। मेरो टयाक्सीमा बिरामी आमा हुनुहुन्छ।’ टयाक्सी चालकले अनुरोध गर्‍यो तर उसको केही लागेन।

फर्काउन लाग्दा अर्को टयाक्सी चालकसँग सोध्यो, ‘के भा छ यता?’

अर्को टयाक्सी चालकले झ्यालबाट टाउको निकाल्दै भन्यो, ‘बाटामा त्रिपाल राखेर कार्यक्रम गर्दै छन्। चुनाव हो कि के हो थाहा भएन!’

ऊ फतफताउदै टयाक्सी फर्काउन थाल्यो, ‘यस्तै कार्यक्रम गर्न भनेर प्रदर्शनी केन्द्र बनाएको होइन र? किन बाटो छेक्नुपरेको होला!’

यही बाटो कलेज जाँदै गरेको छात्रले भन्यो,‘के गर्नु अंकल, व्यापारीको संस्था पर्‍यो। प्रदर्शनी केन्द्रमा बुझाउनुपर्ने भाडा बचाउन सार्वजनिक बाटो उपयोग गरेको रे।’

 ५) झिलिमिली

दिपान्जलले भन्यो,‘राति छतमा बसेर शहरको झिलीमिली हेर्न कति रमाइलो हुन्छ!’

अंकिताले थपिन्,‘हो त मलाई पनि जहिले छतमा बसेर हेर्न असाध्य मन पर्छ।’

वार्तालापमा सहभागी नभए पनि अघिदेखि उमेशले कुरा सुनिरहेको थियो।

उसले मनमा कुरा खेलाउन थाल्यो,‘जे त होला आज त छतमा जान्छुजान्छु।’

घरमा गएर छिटोछिटो गृहकार्य सकेर साँझ। अझ भनौं शहरमा बत्ती बाल्ने समयको प्रतीक्षामा बस्यो। माथि जान लागेको थियो घरबेटीले माथि जाने बाटो ताला लगाएका रहेछ्न्। ऊ फर्केर आयो आफ्नै कोठामा बस्यो। साँझ बाबाआमा थकित मुद्रामा आए र बसे।

‘बाबा हामी पनि घर किनौ न।’

बाबाले सोध्नुभयो,‘किन बाबु, के भयो?’  

‘छतमा गएर झिलिमिली हेर्न नि, अरू के गर्ने?’ उमेशको जवाफ थियो।

प्रकाशित: ३१ भाद्र २०७९ ०८:०१ शुक्रबार

अक्षर