कला

अवतार ढकालका पाँच कविता

कविता

१) माग

भगवान् –

तिमीलाई राखिएको मन्दिरमा

एकाबिहानै आएको छु

फगत रित्तै।

मन्दिर बाहिर लस्करै

बसेका छन्

एकथरी भिखारीहरू।

भित्र उभिएका छन्

अर्का थरी भिखारीहरू।

बाहिरकाहरू खाली बटुका उचालेर

एक छाक जीवन मागिरहेछन्

भित्रकाहरू-

भरिएका थालीहरू रित्याएर

खै के मागिरहेछन्?

बाहिरकाहरु चिच्याउँदै माग्छन्

सुनिन्छ

भित्रकाहरू चुपचाप माग्छन

सुनिन्न।

म पनि एउटा भिखारी

माग्नकै लागि आएको छु।

सधैं देखेको छु

अनगिन्ती फूलहरूको

निर्मम हत्या।

हो भगवान्

एकाबिहानै

तिमीलाई राखिएको मन्दिरमा

फगत रित्तै

तिम्रै लागि भनेर टिपिने

निर्दोष फूलहरूको

आयु माग्न आएको छु।

  २) पुत्लाहरू

मान्छेहरू पराजित बनेको

कहालीलाग्दो समय

अहिले पुत्लाहरूको याम चलेको छ।

आलोपालो गरेर पुत्लाहरू

जल्ने जलाउने गरिरहेछन्।

मान्छेहरूले मलामी नपाएको

यो कठोर समयमा

पुत्लाहरूको मलामी गएर

पुत्लाहरू

पुत्ला जलाइरहेछन्।

 ३)  पानीमाथि मत्स्यगन्धा

जन्मेदेखि निरन्तर

यही पानीमा छेउ

उसलाई थाहा छैन

कसले जन्मायो उसलाई

आमाले या पानीले?

थाहा पाएदेखि

ऊ यही पानीमा छे

तर पानीको आफ्नै छायामा

खोजेकी छैन सायद

आफ्नै भविष्य।

केही वर्ष अघिसम्म

भन्ने गर्थे मान्छेहरू

ऊ माछाजस्तै गन्हाउँथी रे

तर उसलाई कहिल्यै थाहा भएन

सबैले थाहा पाएको

आफ्नै गन्ध।

आजकल ऊ गन्हाउन्न रे

अनौठो सुवास निस्कन्छ रे

उसको शरीरबाट

र लठ्ठ पार्छ रे सबैलाई

सबै जना उसकै नाउ चढ्न खोज्छन्

 ऊ तरिरहन्छे वारि र पारि।

नाउ तर्नेहरू

कहाँबाट आउँछन्

र कता जान्छन्

थाहा हुँदैन उसलाई

उसलाई मात्र थाहा छ

आफ्नो काम मान्छेहरूलाई

वारपार गराउने।

आजकल भन्छन् मान्छेहरू

उसको नाउँमा जति बस्यो

उति आनन्द रे

यो खोलाको पानी

जति खायो त्यति मीठो रे

तर उसलाई थाहा छैन।

उसलाई मात्र थाहा छ

उसले सधैं वारपार गर्नुपर्छ यो खोला

अनि आफूसँगै लिएर जानुपर्छ अरूलाई

मात्र खोलादेखि खोलासम्म

अनि बिर्सनुपर्छ यात्राहरू

नाउँको पाइलाजस्तै

बस।

पानीमाथि बसेर

सायद ऊ

कुनै परासरलाई पर्खिरहेकी छैन

सायद कुनै

वेदव्यासका सपनाहरू देखिरहेकी छैन

कुहिरो लागिरहन्छ खोलामा

र परासरहरू

वारि र पारि गरिरहन्छन्

बारम्बार गरिरहन्छ्न

उसको शरीर सुगन्धित बनाएको कुरा

तर थाहा छैन उसलाई

बिलकुल थाहा छैन

मगमगाउन थालेको के हो

परासरहरूको जादु

या उसको निर्दोष जवानी?

४) प्रश्न

हिंड्दाहिंड्दै

खाँदाखाँदै

भारी बोक्दाबोक्दै

बाटो खन्दाखन्दै

अस्पताल बनाउँदाबनाउँदै

अस्पताल नै नगै

सुतेकै ठाउँमा

मस्त निदाए जस्तै

सपना देखिरहेझैं

‘ऐया! आत्थ्या’ केही नभनी

उमेरै नपुगी

भुतुक्कै मरिदिन्छन्।

हो यसैगरी मर्छन्

र मर्दै आएका छ्न्

यो देशका गरीबहरू।

यसैले त–

अग्लो मञ्च माथि उभिएर

तिमी आफ्नो दिव्य ज्ञान फलाक्छौ

‘गरीबहरूलाई रोग लाग्दैन

उनीहरू निरोगी हुन्छन्।’

साँच्चि!

गरीबहरू नहुँदा हुन् त

के हुँदो हो यो देश?

कुनै देश?

या रोगीहरूको संग्राहलय?

५) गरीबहरू

उनीहरू

विद्यालय बनाउँछन्

तर पढन जाँदैनन्।

अस्पताल बनाउँछन्

उपचार गर्न जाँदैनन्।

पालैपालो

सबैका लागि मरिदिन्छन्

आफ्नो भाग खोज्दैनन्।

वर्षौंदेखि

पटक-पटकका क्रान्ति

पटक-पटकका विद्रोह

पटक-पटकका परिवर्तन

उनीहरूकै लागि भनेर

अरूहरूकै लागि भएका छन्।

सबैका जन्ती

सबैका मलामी

उनीहरूलाई जोगाएरै राख्नुहोस्

उनीहरू नभए

कसले गर्छ आन्दोलन?

कसले थाप्छ छातीमा तातो  गोली?

कसले बगाउँछ

बेहिसाब रातो रगत?

उनीहरू नभए

कसका नाममा गर्ने

उत्तेजक भाषण?

कसका लागि थापिदिने

रित्तो मतपेटिका?

जंगबहादुरको मस्तिष्क प्रत्यारोपण गरेर

पालैपालो

मार्क्सको भाषा बोल्दै गर्नुस्

ब्यालेन्स नभएको खाताको चेक

परैबाट देखाएर लोभ्याइरहनुस्।

प्रलयहरू आउँदै गर्छन्

महामारीहरू आउँदै गर्छन्

उनीहरू बिरामी पर्दैनन्

उनीहरू अस्पताल जाँदैनन्

उनीहरूको विषयमा बोल्दिए मात्र पुग्छ

गरीबहरू कालले मर्छन्

रोगले मर्दैनन्।

प्रकाशित: ३० भाद्र २०७९ ०४:५२ बिहीबार

अक्षर