कला

विश्वराज अधिकारीको मेघदूतमा के छ?

पुस्तक

ममता मृदुल

विषयप्रवेश

विश्वराज अधिकारीको जन्म छतौना सर्लाहीमा २०१५ सालमा भएको थियो। हाल अमेरिकाको अक्लोहोमा सिटीमा बस्छन्। नेपाली भाषा साहित्यमा स्थापित स्रष्टा विश्वराज अधिकारीका प्रकाशित कृति ४० छन्।

प्राध्यापन पेशा अँगालेर अमेरिकाको ओक्लहोमा बसे भए पनि नेपालप्रतिको अगाध प्रेम छचल्केको हामीले पाएका छौं। नेपाल बस्ने स्रष्टाले आफ्नो देशको कला साहित्यबारे सोच्न नसकेको अवस्थामा विश्वराज अधिकारीले साहित्यकारलाई संसारभरि चिनाउने अग्रदूतका रुपमा काम गरिरहेको स्रष्टाको रूपमा लिइन्छ।

भाषा साहित्यको उत्थानका लागि अहोरात्र खट्ने स्रष्टाको रूपमा चिनेकी छु। आजको मान्छे आफ्नोबाहेक अरूको तारिफ सुन्न चाहँदैन। समय भए पनि भियाउँदिन भन्छ। अति व्यस्त छु भन्न खोजिरहेको हुन्छ तर अति व्यस्त जीवनशैलीको बाबजुद विश्वराज अधिकारीले नेपाली भाषा साहित्य र साहित्यकारलाई संसारभरि चिनाउने कार्य गर्नु उच्च सोच हो भन्ने लाग्छ।

विश्वराज अधिकारीको सर्वाधिक प्रिय विधा कथा अथवा आख्यान र कला संस्कृति नै हो। महाभारत, गीता, रामायणका हरेक पंक्तिलाई सरल रूपमा उच्चारण गरेर विश्लेषण गर्ने क्षमता जो कोहीमा हुँदैन।

विश्वराज अधिकारीको ‘मेघदूतमा के छ’ 

कथानक

नेपाली भाषा साहित्यमा संस्कृत र नेपालीको संयोजनबाट पुस्तक सुरु भएको छ। नेपाली साहित्य जगतमा अनवरत कलम चलाउने स्रष्टा विश्वराज अधिकारीको ‘मेघदूतमा के छ’ पुस्तकभित्र रमाउन बेग्लै रमाइलो छ।

पुस्तक नपढी यसको आनन्द लिन सकिन्न। कालिदास र यौन चेतनामा मान्छेलाई जीवनमा धेरै कुराको आवश्यकता पर्छ। सलिम अनारकलीको प्रेम कथामा पाउनु र गुमाउनुको बीचमा रुमलिएको जीवन छ। फ्रायडको धारणामा त्योभन्दा पर पनि केही छ भन्ने कुरा छ। कालिदासले लेखेको मेघदूत एउटा प्रेमकथा हो।

पूर्वीय चिन्तनको इतिहास बोकेको मेघदूत आफैंमा सुन्दर छ। प्रेमयुक्त  काव्य हो जसको बारेमा जति लेखे पनि कम हुन्छ। नगरवधू वसन्तसेना र आम्रपालीभित्र यौन र प्रेम शब्दलाई सुन्दर रूपमा लेखिएको छ। प्रेम सुन्दर मनभित्र पसेको शब्द हो। जीवनको अनेक पीडालाई पलभरमा बिर्साउने शब्द भन्ने लाग्छ। यो पुस्तकभित्र पसेपछि पढ्दै जाँदा प्राकृतिक  प्रेम  एउटा जन्मदाताले आफ्ना सन्तानलाई गर्ने प्रेम  र अर्को स्त्री र पुरुष बीचमा  गर्ने  प्रेम हो। प्रेम त प्रेम हो। प्रकृतिले सिकाउँछ हामीलाई प्रेम गर्न नत्र भर्खर जन्मेको बच्चाले कसरी जान्दछ।

यो पनि त  सत्य कुरा हो। छोराछोरीले आफ्ना आमाबालाई गर्ने प्रेमचाहिं उनीहरूले सामाजिक व्यवहारबाट सिक्छन्। प्रमिल स्पर्शबाट थाहा पाउँछन्। आमाबुवाको चुम्बकीय प्रेमले साँचो प्रेम गर्न सिकाएको हुन्छ। यो सत्य हो। जन्मदाताको माया पनि प्राकृतिक नै हुन्छ।

दुर्वासा ऋषिले कुन्तीलाई दिएको वरदानले कुन्तीको जीवन बदलिएको छ। सत्यवतीको जन्मपछि घटेका घटनाले धेरै कुरा बुझाएको छ। राजा सन्तनु र सत्यवतीको प्रेमबारे हामीले धेरै हजुरआमाको मुखबाट सुनेका कथा पढ्नुको मजा बेग्लै छ। वैदिक काल  हिन्दू समाज तेस्रो लिङ्गीप्रति उदार थियो।

यो पुस्तकले दिएको ज्ञानका कुराले आजको हाम्रो भेदभावले भरिएको समाजलाई शिक्षा दिएको छ। हामीले के गर्दैछौं भन्ने कुरालाई सहज रूपमा बुझ्नुपर्छ। मनव बिचको प्रेम जहिले पनि सुन्दर रूपमा मान्नुपर्छ। एक अर्कामा सद्भाव राख्नुपर्छ भन्ने कुराको सन्देश बोकेको पुस्तक रहेको छ।

भाषाशैली

नेपाली भाषासाहित्यको इतिहास खोतलेको अनुभूति गराउँछ। संस्कृत र नेपाली भाषाको संयोजन हो विश्वराज अधिकारीको मेघदूतमा के छ? पुस्तक। सबैले बुझ्ने सरल रूपमा लेखिएको छ।

उद्देश्य

प्रेमको भाषा वर्ग सीमा हुँदैन, हुनु हुँदैन भन्ने कुरा यस पुस्तकमा पाइन्छ। मानव जीवनमा प्रेम जन्मेदेखि मृत्युुसम्म आवश्यक हुन्छ। भर्खर जन्मेको बच्चाले पनि प्रेमको अनुभूति गरेर सिक्छ भन्ने उद्देश्य रहेको छ।

निष्कर्ष

प्रेम मानव जीवनमा नभई नहुने कुरा हो। प्रेमबिनाको जीवनको कल्पना गर्न सकिंदैन भन्ने कुरा यहाँ रहेको छ। इतिहासमा प्रेम कसरी गरिएको छ। सन्तानप्रति गरिएको र स्त्रीपुरुष बिचको प्रेम कस्तो हुन्छ भन्ने कुराको वास्तविकता यहाँ सरल रूपमा देखाउन खोजिएको छ। विश्वराज अधिकारीभित्र भएको एकाग्रता इतिहासप्रतिको प्रेम संस्कारयुक्त जीवनयापन, संस्कृतिको अविच्छिन्न खोज र क्रियाशीलताको सुन्दर परिणाम हो मेघदूतमा के छ?

यो पुस्तक लेख्न सजिलो छैन। गहन अध्ययनबिना सम्भव पनि छैन। पुस्तक एकपटक पढेर मन अघाउँदैन। तीन पटक पढें। धेरै कुरा सिकाएको छ। समग्रमा यो पुस्तक उत्कृष्ट रहेको छ।  

प्रकाशित: २९ भाद्र २०७९ ०८:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App