कला

पोस्टमार्टम

कविता

सोनाम सज्जन किराती

म मुर्दा घर

बाँचेको मेरो चिहान हुँदैन

चिहानमा लगिनुभन्दा पहिले

यहाँ उपस्थित लास

विभत्स पारेर अस्तु चिरिन्छ

र पोष्टमार्टमको निम्ति

एक-दुई भित्री अंग निकालिन्छ

र पो पत्ता लाग्छ

त्यो जीवित मुर्दामाथि भएको अपराध

कसैले विष खाएको तथ्य

कसैले घाँटीमा थिचेर  

डोरीमा लड्काएको तथ्य

कसैले झुक्याएर हुत्याई झारेको तथ्य

यावत् तथ्य

तथ्यमा तथ्य खोज्न

निर्मित म मुर्दा घर

म हस्पिटलको नजिक उभिन्छु

म चकमन्न रातसित रात डोयाएर

मुर्दाहरूसँग बस्छु

उतिखेर नै जूनबाट

आकृतिहरू मेटाएर

भर्खर मृत्युसित साटिएकी

कौमार्य स्त्रीसँग

जबर्जस्ती गर्न

जिउँदो डाक्टर आइरहेछ

यतिविघ्न सुम्सुम्याउँछ

आफ्नै ओछयानबाट हिंडेर

आत्महत्या गरेकी पत्नीझै

विडम्बना उता पत्नीलाई

ओछयानमा तड्पाइरहेछ डाक्टर

र आफूलाई डाक्टर बिर्सेर

निर्लज्ज मुर्दासित यौनप्यास मेटाइरहेछ

तिनै डाक्टर

म भने निरीह हेरिरहेछु

विवशतामा जलिरहेको

म एक मुर्दाघर

म मुर्दा घरमा एक्लै छुइनँ

मेरा थुप्रै मित्र मुर्दाहरू

शान्तिको मार्ग पछ्याउन

मरिरहेछन्

पोस्टमार्टमको खातिर लडाइमा लडेर

हिजो मात्रै ती बालिका

मृत्यु पोखरीमा डुबिन्

कारण थियो

आफ्नै गुरुको बलात्कारको सिकार हुनु

अस्ति मात्रै उनले बुझेको हो  

यौन हिंसामा परेको नारीले अपहेलित  

मात्रै पिउनुपर्छ

अनि बुझिनन्

हिंसा गर्ने हिंस्रक

दुई खुट्टे जनावर पनि हुन्छ भनेर

तिनले पनि कानुनको

कठघरामा उभिएर

सजायको भागेदार बन्नुपर्छ

सजाय त कता हो कता

म मुर्दा घरमा समेत बचिन

सरकार बोल्नेको पिठो किन

अब त म मरिसके

मेरो निम्ति न्यायको मुठी माटो उचालेर

मेरो लास गाड

त्यो माटोले मेरो तथ्य एकदिन देखाउने छ।

प्रकाशित: २९ भाद्र २०७९ ०८:५५ बुधबार

अक्षर