बोधराज पौडेल
१) गीत
भुलेझैं पैंचो सम्बन्ध हाम्रो झन् भुल्दै गइहाल्यौं,
यही दोस्तीबाट उठेरमाथि न चिन्ने भइहाल्यौं।
नभेटे मनमा उदासी छाउँछ भेटौं है भनेर,
पर्खिन्थ्यौं हिजो चौतारी जस्तै भेट्ने दिन गनेर।
टेकेर आफ्नै पैतालामाथि तिमी त गइहाल्यौं
यही दोस्तीबाट उठेको मान्छे नचिन्ने भइहाल्यौं।
नदुख्नु आफू भरिन्छ आँखा म भुल्न सक्दिन,
नकाट्नु डाली कोपिला बनी म फुल्न सक्दिन।
भनेर आड-भरोसा दिने मान्छे त गइहाल्यौं,
यही दोस्तीबाट उठेर आज नचिन्ने भइहाल्यौं।
२) गीत
भाग्यले नै मिल्छ जोडी दैव लागे छुट्छ,
गलामे त उस्तै हुन्छ मात्र किलो छुट्छ।
काटिएर आली गए गरा चिरा पर्छ,
थामिएझैं देखिन्छ त्यो थाहै नपाइ झर्छ।
विश्वास गर आफैमाथि चाहे जति जुट्छ,
नचलाउ पानी घैटो छोयो भने फुट्छ।
सेताम्सुर बगरका निर्दोष काँसलाई,
एकै बाजी पुरिदिन्छ भलबाढी आई।
भनिन्छ नि-अभागीलाई खान रिस उठ्छ,
गलामे त उस्तै हुन्छ मात्र किलो छुट्छ।
३) गीत
यता पनि घोच्छ मलाई, उता पनि घोच्छ,
जति राम्रो गरे पनि नराम्रो नै सोच छ।
लौरीजस्तै टेकीटेकी मलाई खियाएर,
छोटो भयो भन्छ फेरि आफैं हियाएर।
ढंग छैन कत्ति भन्दै दोष दिन खोज्छ,
जति राम्रो गरे पनि नराम्रो नै सोच छ।
मनको साथी मनैबाट वैरी भयो भने,
गैरीलाई होचो देख्छ शिखर गयो भने।
झर्छु भनी सोच्दैन ऊ तल खाडी खोच छ,
जति राम्रो गरे पनि नराम्रो नै सोच छ।
४) गीत
खुट्टाको घाउ दुखेर हो कि सक्दैन टेक्नलाई,
मनको वह आँखाको आँसु को सक्छ लेख्नलाई?
हिमालको हिउँ पग्लेर झर्छ पानी भै खोलीमा,
आत्मीय माया श्रद्धाको भाव को राख्छ बोलीमा।
बाहिरी हाँसो हातमा छुरी विश्वासको बन्धन,
मान्छेको माया खण्डित भै रा’छ किन हो झन्-झन।
चिन्दैन मान्छे साइनो र रूपले पद पैसा नभए,
आफन्त खोज्ने चलन नै छैन संस्कार हराए।
बाँडेर खाने चलन गयो मान्छे त रोगी भो,
समाजमा बस्ने सामाजिक हैन ऊ एक्लो भोगी भो।
५) गीत
फुटिसक्यो बाँसुरी त्यो बजिरा’छ धुन,
निर्दोष कोही भेटिएनन् दोषी हुँदा जून।
चर्को लाग्छ तिम्रो माया बगरमा फुल्दा,
तिर्खाएको बालुवालाई नदीले नै भुल्दा।
मेरो आवाज पहराले संगीत भरिदियो,
फर्किएर हेरिनौ त मेरो गल्ती थियो?
रसाएर पहराले थोपा जल झार्छ,
मलाई भने यही मायाले सधैं प्यासी पार्छ।
हेर्न खोजें क्षितिजमा उस्तै दिन-रात,
मलाई मात्र किन हुन्छ सधैं अन्तरघात।
प्रकाशित: २९ भाद्र २०७९ ०५:५४ बुधबार