कला

सोमबारदेखि धरानमा नाटक खुवालुङ मञ्चन हुने

धरान सभागृहमा खुवालुङ नाटक मञ्चन हुनेबारे जानकारी दिदै लेखक, निर्देशक र कलाकारहरुको टोली। तस्बिर: रोहित/नागरिक <div><br></div>

काठमाण्डौंमा सफलतापुर्वक ४२ पटक मञ्चन भएको नाटक खुवालुङ सोमबारदेखि धरानमा पनि मञ्चन हुने भएको छ।  

कलाकारसहित धरान आएर लेखक राजन मुकारुङ र निर्देशक किरण चाम्लिङ नाटक खुवालुङ मञ्चनको तयारीमा जुटेका छन्। धरान ८ स्थित सभागृहलाई थिएटरकोरुप दिएर नाटक मञ्चनको तयारी भइरहेको छ। धरानमा व्यवस्थित थिएटर हल नहुदा सभागृहमा नै रंगकर्मीहरुले नाटक मञ्चन गर्नुपर्ने बाध्यता छ। 

निर्देशक चाम्लिङका अनुसार भदौ २७ गतेदेखि असोज ५ गतेसम्म खुवालुङ मञ्चन हुनेछ। दैनिक बेलुकी साढे ५ बजे नाटक मञ्चन हुनेछ। तर, शुक्रबार, शनिबार र आइतबार भने दिउँसो १ बजे र बेलुकी साढे ५ बजे मञ्चन हुने पनि उनले बताए। ‘काठमाण्डौंमा सफलतापुर्वक मञ्चन भयो। अहिले धरानमा पनि नाटक गर्ने तयारीमा छौं, खुशी लागिरहेको छ,’उनले भने।  

लेखक मुकारुङले साँस्कृतिक सम्पदा जगर्ने गर्ने दायित्व राज्यको भएकोले जिम्मेवार हुनुपर्ने बताए। साथै, उनले जसको सम्पदा हो, त्यो समुदाय पनि अझ बढी जागरुक हुनुपर्छं भन्ने ध्येयले खुवालुङ नाटक बनाएको बताए। ‘नेपाली कला, सँस्कृति माया गर्ने सबैलाई निम्तो दिन्छुँ। खुवालुङ नाटक केवल खुवालुङ जोगाउनको लागि मात्र होइन,’ उनले भने,‘यो देशमा धेरै साँस्कृतिक सम्पदाहरु छन्। प्रत्येक जाति, प्रत्येक भाषी, समुदायसँग आफ्नै सभ्यताका कथाहरु छन्, इतिहासहरु छन्। ती सबै खुवालुङहरुको साँस्कृतिक महत्वलाई हामी सबैले साझारुपमा बचाएर ल्याउनुपर्छ भन्ने मुल ध्येय हो।’

धरानमा किरात राई यायोक्खा सुनसरीको सहकार्य तथा सहयोगमा मञ्चन हुन लागेको हो। यायोक्खा अध्यक्ष राजेन्द्र राईले किरातीहरुको आदिम दस्तावेजहरु लिखितरुपमा नभएकोले खुवालुङ नाटक दस्तावेजीकरण, इतिहास निर्माणको रचनात्मक काम भएको बताए।

प्रकाशित: २६ भाद्र २०७९ १२:३१ आइतबार