कला

सपना

कथा

भरत आचार्य

अचानक वर्षौपछि भेट भयो। मैले ठ्याक्कै चिनिहालें। हर हाउभाउ बिलकुल उस्तै  कद र मोटाइ  नजानिंदो बढेको। लाग्थ्यो, केही दिनअघि मात्रै सँगै थियौं। तर हामी बेखबर भएको वर्षौं वर्ष  भैसकेको थियो। लगभग बिर्सिसकेको भन्दा पनि हुन्छ। म बिहेको निम्तो मान्न गएको आफन्तभन्दा पनि चिनजानको नाताले। उनी  त्यही बिहे घरको एकदम नजिककी नातेदार पर्ने रहेछिन्।

मलाई पछि मात्र थाहा भयो, ठूलो राणा/शाही खानदानकी थिइन् उनी। त्यहाँको ठाँटबाँट नै एकदम भिन्न। एकछिन नियालिरहें। सुटेडबुटेड एवं कुलघरानाका मान्छेहरू आउँदै उनीलाई दर्शन टक्रयाउँदै छोटो भलाकुसारी गरी फर्किन्थे। एकादुई वयोवृद्धलाई भने उनी आफैंले झुकेर दर्शन टक्रयाउँथिन् आशीर्वाद लिन्थिन्।

मलाई निश्चितता गर्न उनको बोली पनि सुन्नु थियो। केहीबेर बोलेको सुन्न पनि नजिकैबाट नियालिरहेको थिएँ। उनको अरूसँग छोटो बोलचालको क्रम चलिरह्यो।

मेरो त खास त्यति नजिक चिनजानका मान्छे पनि खासै थिएनन्। अरू जस्तै देखिन घण्टौंदेखि एक गिलास बियर लिएर बसिरहेको थिएँ। किशोरकिशोरीहरू नाचगानमा थिए भने युवा, युवती र वयस्कहरू समूह-समूहमा खानामा व्यस्त थिए।

म भने नाचगान हेरेको जस्तो गरेर उनलाई नजिकैबाट नियालिरहेथें। उनको हातमा पनि पेय पदार्थकै गिलास थियो। उनीसँगै रहेकी लगभग उनकै उमेरकी एक महिला पनि थिइन्। उनको हाउभाउ र खुवाइ पनि अलि चर्कै थियो। म नजिकै गएँ र गिलासै सहित दुई हातले नमस्कार अभिवादन गर्दै भने  हजुर सपना..?

उनले अभिवादन फर्काउँदै भनिन्, ‘हजुर, सपना राणा नै हुँ।’ मलाई अलि असहज भयो। कतै म झुक्किएको त हैन। तैपनि अलि खुल्दै भनें, ‘राणापछि हुनुभएको कि?’ 

‘पहिल्यै राणा भए त पछि कहाँ राणा भैन्थ्यो र? सपना शाही राणा। मलाई कसरी चिनिस्यो?’ निकै उत्सुकताका साथ सोधिन्।

मैले सहजताका साथ फिस्स हाँस्दै भनें, ‘म नझुक्किएको भए हामी सहपाठी हौं। पोखरामा नै ७ कक्षासम्म पढ्नुभएको हो नि ?’

मैले सबै एकैचोटिमा भनें। उनी एकछिन त स्तब्ध जस्तै भइन्। मेरो परिचय दिनै परेन। तर अलि रिसाए जस्तो गरिन्,  ‘त्यतिबेलादेखि यहीं भएको मान्छे मलाई  चिनेर पनि किन नबोलाएको?  अनि  कति चाँडै फुलेको कपाल। यसो कलर-सलर लाउनु पर्दैन? अनि किन त्यति साह्रै झुकेर नमस्कार  गर्नपर्‍या। कस्तो टाढा बनाएको मलाई? साँच्चैको बाउन बाजे भएछौ।

उही पहिलाकै पारा निकालिहालिन्। हेर हाँसो त बिलकुल उस्तै छ बाहुन बजेको भनेर देब्रे हातले गिलास समातेर दाहिने हातले मेरो पाखुरामा चिमोट्न भियाइहालिन्। मेरो गिलास छचल्कियो, उनले सरी भन्दै आँखा झिम्क्याइन। ल अलि उता गार्डेनतिर गएर गफ गरौं बाहुन बाजे भनेर फेरि घुच्याइन्। मलाई भने कता अरूले हेरिरहेछन् कि जस्तो लाग्यो। केही बोलिन।

-त्यता हिँड्दै गर। म हल्का स्न्याक्स लिएर आउँछु। माछामासु त खान्छौ होला नि बाजे?

मैले स्वीकृतिको टाउको हल्लाएँ। गार्डेनको ठाउँठाउँमा सानो टेबल जस्तो र जोडा कुर्ची थिए अलि मधुरो लाइट समय त्यस्तै साँझको आठ बजिसकेको हुँदो हो।

उनले भनेकै ठाउँमा गएर बसें। लगत्तै उनले त्यहीं खटिएका सहयोगीलाई लगाएर पेय पदार्थ र केही हल्का स्न्याक्स लिएर आइन्। अलि परका कुर्सी र टेबल पनि भरिइसकेकाले त्यति असहज जस्तो पनि लागेन। आमनेसामने भएर बस्यौं।

उनी जति खुलेकी थिइन् म त्यत्ति खुल्न सकेको थिइन्। उनले घरी तिमीलाई यो मनपर्छ भन्छिन् घरी यो मनपर्छ भन्दै खानेकुराको  टुक्रा उठाँउदै दिदैं गर्थिन्। मैले जे दिए पनि  ‘हजुर-हजुर’ भन्दै खाइदिन्थे। मलाई सिफारिस गरेको चिज उनले नि  खान्थिन् ‘अँ,यो मीठो रहेछ भन्दै’।

उनले मलाई पहिलाकै जस्तै  छुच्चो बाहुन बाजे भन्दै आँखा झिम्क्याउने चिम्टने गर्थिन्। म भने उनलाई हजुर तपाईंकै सम्बोधन गरिरहन्थे।

उनले जिस्क्याउँदै भनिन्, ‘बाजे, एकदुई गिलास बियर थप त। तिमी त निकै कायर पो भएछौ। कति हजुरहजुर लाइराख्या मलाई।’

म उस्तै त छु नि। तिमी पो बरु बूढो देखिएछौ बाई। बाहुन बाजे अलि झ्यामझुम खानुपर्छ। हेर एक घण्टादेखि लिएको बियर दुई इञ्च पनि घटेको छैन। मैले खासै खाँदिन। एक्लो भइन्छ भनेर मात्र यसो एक आधा गिलास बियर लिने हो यस्तै पार्टीसार्टीमा। अघिपछि त लिँदै लिन्न भनें। त्यो त राम्रो हो तर पनि बेलामौकामा त लिनुपर्छ क्या बाजे भनेर उकास्न थालिन्।

‘पारिवारिक चासो  दुवैको थ्यो, उनले नि सोधिन्। मैले आफ्नो पारिवारिक व्यहोरा जस्ताको तस्तै भनें। उनको पनि एउटा मात्रै छोरी भएको रहेछ। क्यानडामा रहेछिन्। उतै जन्मेहुर्केको हुनाले उतै बस्ने मनसाय गरिछ्न्। उही इञ्जिनियरिङ गर्दै रहिछ्न्। आइए पढ्दापढ्दै १८ वर्षमै बिहे भएको बताइन्। काठमाडौमा प्रशस्त पैतृक सम्पत्ति, पहिला मोटरगाडीको व्यवसाय पनि रहेछ। द्वन्द्वकालमा गाह्रो भएकाले यताको  व्यवसाय र केही पैतृक सम्पत्ति पनि बेचेर  क्यानडातिरै सारेका रहेछ्न्। २० वर्षपछि त्यहाँ बस्न मन नलागेर काठमाडौ नै फर्केको बताइन्।

त्यति कुरा हुँदा १० बजिसकेको हुँदो हो। हाम्रो कुरा हुँदै गर्दा उनलाई बिचबिचमा  उनका साथी नातेदार भेट्न आउँथे। प्रायः शाही राणा परिवारकै हुन्थे। मलाई  पनि चिनाउँथिन् मेरो स्कुल पढ्दाको  बाउन साथी भनेर। तर मेरो असली नाम कसैलाई नि भनिनन्।

उनीहरूले शाही पारामा अभिवादन गर्थे। मैले भने चिनाएका जतिलाई दुई हात जोडेरै  नमस्कार  गर्थें। धुमधाम नाचगान चलिरहेथ्यो। आउने भन्दा फर्कने बढी थिए। भिडभाड अलि पातलो हुँदै गैरहेको  थियो। मैले घरीघरी मोबाइलमा घडी हेरेको देखेर ‘कति आत्तिएको बाजे’ भनेर फेरि व्यंग्य हानिहालिन्। यो उमेरमा पनि। सँगै निस्कने हो नआत्तिऊ। म पुर्‍याइदिन्छु तिमीलाई  मलाई  अलिकति फेरो पर्छ क्यै फरक पर्दैन। मैले मोटरसाइकल छ। म गैहाल्छु नि! पर्दैन भो भने।

मोटरसाइकलमा भोलि म  तिम्रै डेरामा पुर्‍याइदिन लाउँछु। अलिअलि खाएका पनि छौ। चेकिङमा पर्‍यौ भने बाजेको इज्जत नै जान्छ नि बाबै! अँ साँच्चै तिमीले फेसबुक/ट्वीटर नि  चलाउन्नौ क्या हो। मैले कति सर्च गरें तिम्रो  नाम भएका बाहुन  बाजे रहेछ्न्। मैले त पत्तै लाउन सकिन भनिन्।

मैले पनि मनमनै भनें, ‘तिम्लेभन्दा बढी धुइँपत्ताल लाएँ होला बाबै!’

चलाउँछु चलाउन त ब्लगहरूमा पनि लेख्छु। किताबहरू पनि निकालिसकेको छु। अर्को भेट्मा दिनेछु। ल डाटा अन गर्नु। म रिकेस्ट पठाउँछु। नाम अंग्रेजीमा कि नेपालीमा छ भनेर सोधें। उनले स्पेलिङ सहित अंग्रेजीमा ‘सपना’ छ भनेर भनिन्।

उनले भनेको नाम  त अलरेडीहामी फ्रेन्ड  भैसकेका रहेछौं। अचम्म लाग्यो। यो त अलरेडी फ्रेन्ड छ  के अचम्म हो भने। उनले उत्सुकता जनाउँदै भनिन्, ‘हो र यो त मेरै आइडी हो। यो प्रोफाइल फोटो छोरीको राखेकी हुँ  तर सबैले तेरै हो भन्छ्न्! कि तिम्ले  छद्य्म नाममा आइडी खोलेका छौ? सरकारको जिम्मेवारी पदमा रहेकाले  खुलेर लेख्न असहज हुने हुनाले मैले छद्म नाम नै राखेको छु। कृति पनि त्यही नाममा छाप्ने गरेको छु।’

तर हामी वर्षौंअघि जोडिएका रहेछौ पनि। मेरो स्कुले साथी साथै प्रशंसककै अगाडि रहेछु। कस्तो संयोग हो यो। साँच्चै तिमीले नै गिज्याउँदा राखिदिएको असाध्य प्यारो नाम  ‘बाउन साथी’ भन्ने लेखक पनि मैं हुँ। जो तिमीले मेरा हरेक लेखरचना नबिराई पढ्छ्यौ र प्रायः पहिलो टिप्पणी पनि तिम्रै हुन्छ।

उनले फेरि धित मरुञ्जेल चिमोटिन। दुवै नि:शब्द भयौं। पछि उनले कुनकुन पेय पदार्थ कति थपिदिइन्! ख्याल पनि भएन। एकुन्  चुस्की खाँदै उनले थाहा नपाउने गरी पोख्दै गएँ। तैपनि थोपथोपाले घैला भरिएझैं रिनिनिन्न पारिसकेको थियो। समय कति चाँडो घर्के छ ख्यालै भएन। संगीतको धुनमा केही युवायुवती झुमिरहेका थिए। एकदुई गार्डेनतिर चुरोट उडाइरहेका थिए। मैले अब त  उठौं भनेर धेरै पटक भनें तर अँह उनी मान्ने  हैनन्।

खै! तिम्रो मोटरसाइकलको चाबी देउ बाजे, कता  साइडमा पार्किङ छ, नं कति हो भन त। मैले जति आनाकानी गरे पनि जित्ने अवस्था थिएन। उनी पहिलेदेखि नै जिद्दी  खालकी थिइन्। त्यो  बानी  बीसको उन्नाइस भएकै रहेन्छ। मैले हठ गर्न सकिनँ।

खुरुक्क चाबी र बिल बुक गल्ती गरेको चालकले ट्राफिकलाई  बुझाएझैं गरी बुझाए। कति ज्ञानी बाउन बाजे भनेर गालामा चिमटिन् फेरि। कोही सहयोगी बोलाएर जिम्मा लगाइन् चाबी बिल बुक। उसले हवस् हवस्’ भनेर तीनचार पाइला पछि हटेर गयो।

तिमी सानैदेखि अति नै  ज्ञानी हौ के बाजे तर सानामा यस्तो डरपोक थिएनौ  मेरो लागि  कत्राकत्रा बोटमा चढेर अम्बा, सुन्तला रोजेकै टिपेर दिन्थ्यौ।

अनि त्यो पँधेरामाथिको तिँजुको रूख  कत्रो थियो है! त्यत्रो रुखमा  जिद्धी गरेर चढाएँ तिम्लाई आफूले तिँजु खानको स्वार्थले।

अहिले त सम्झँदा नि आङ नै सिरिङ्ङ हुन्छ। धत् बाजे ! कहिले कहिले कुरा सम्झियो। तिमीले बिर्सियौ होला। मैले त क्यानडा हुँदा नि सयौं पटक सपना देखें होला। उही किशोरावस्थाको तिमीलाई।

‘ए बाजे, केही त बोल न हो’ भन्दै उही पुरानो शैली दोहर्‍याइन्।

फिस्स हाँसेर भनें, ‘बोल्ने मौका पनि पाउनुपर्‍यो नि।’

हो त बाजे  मै मात्र बोलिरहेकी छु। मेरो कुरा सक्किए सि तिम्रो पालो है त  तर  मेरो कुरा यो बसाइँमा सकिएला जस्तो छैन। तिम्रो पालोका लागि अर्को बसाइँ निश्चित गर्नुपर्‍यो। आज, तिमी मैले जहाँ लगे त्यहीं जाने छौ र  मैले जे भन्छु त्यही मान्ने छौ। मेरो प्यारो ‘बाउन साथी’। म चुपचाप फिस्स हाँसिरहें।

प्रकाशित: २६ भाद्र २०७९ ०४:१९ आइतबार

अक्षर