कला

इन्द्रजात्राको समावेशी आवरण

नेपालभाषा (नेवारी भाषा) मा ‘जात्राको’ अर्थ दुइटा हुन्छ। एउटा अर्थ मौलिकता र जीवन्तताका मनाइने परम्परागत र ऐतिहासिक पर्व हुन्छ। यस अर्थमा मात्र जात्रालाई ‘जात्रा’ भन्न सकिन्छ भने अर्काे पाटो बेइज्जत गर्ने नियतले गरिने कार्यलाई पनि जात्रा भन्ने गरिन्छ।

‘यँयाः’ जात्रालाई अहिले आएर सरकारी भाषामा इन्द्रजात्रा भन्ने गरिन्छ। जुन सरासत गलत हो। त्यस्तै यःसिंलाई लिङ्गो भन्न थालिसकियो। यो सरासर गलत हो। यो भनेको हामीले कुनै व्यक्तिलाई माइला भनेर सम्बोधन गर्नुपर्ने ठाउँमा माइकल भन्दा जति अर्थहीन र असान्दर्भिक छ, त्यति नै ‘यँयाः’ लाई इन्द्रजात्रा र यःसिंलाई लिङ्गो भन्नु असान्दर्भिक तथा अर्थहीन छ।

त्यस्तै ‘यँयाः’को बेला निकालिने पुलुकिसिलाई सेतो हात्ती भन्ने, दीप्याखंलाई देवी नाच भन्ने, वंघः आजुलाई आकाश भैरव भन्ने सवःभकुलाई हल्चोक आकाश भैरवजस्ता केही उदाहरण छन्। जुन शब्द तथा नामले यँयाःलाई बेइज्जत गर्ने हिसाबले प्रयोग गरेका शब्दावलीजस्तो लाग्दछ।

परम्परागत रूपमा चलिआएको जात्रालाई समयअनुकूल ढाल्दै लगेको खण्डमा त्यो जात्रा सदा जीवित तथा मौलिक रहिरहन्छ। नत्र त्यो जात्रा विलय तथा लोप भएर जान सक्छ। सजिलोका नाममा क्षणिक र सीमित व्यक्तिहरूको रमाइलोका लागि जात्रालाई परिमार्जित गरिन्छ भने कालान्तरमा गएर त्यो जात्राको महत्त्व तथा मौलिकता हराएर जान सक्छ ।

आजकाल यःसिंलाई नालाबाट रत्नपार्कसम्म ल्याउँदा क्रेनले तानेर ल्याइयो। जुन सरासर गलत हो। कुमारी, भैरव र गणेशको रथ तान्दा पहिला रथमा हेरचाह गर्ने छुटै गुठीका सीमित व्यक्तिहरू मात्र बस्दथे तर अहिले जथाभावी भेषभूषा लगाएर रथ नै नदेख्ने गरी मान्छे बस्ने परम्परा भएको छ। साथै विशेष प्रकारको भेषभूषा तथा टोपी लगाएर महानायःले हस्ते भनेपछि मात्र हाइस्ते भनेर रथ तान्नुपर्नेमा जथाभावी भेषभूषामा गलत प्रवृत्तिका व्यक्तिले रथमाथि चढेर शक्ति र समूहको बल देखाएर स्वघोषित महानायःको रूपमा हस्ते भन्न जाने गरेको देखिन्छ।

१० वर्ष अगाडिसम्म कुमारीको रथ महिलापुरुष दुवैले ताने पनि कुनै विरोध थिएन तर २०६९ सालदेखि कुमारीको रथलाई नानीचायाःको दिन महिलाहरूले मात्र तान्नुपर्ने केटाहरूले तान्न हुन्न भन्ने चलन ल्याइयो तर कारण बुझ्दा नानीचायाःको अर्थ महिलासँग सम्बन्धित छ। त्यसैले सो एक दिनका लागि महिलाले रथ तान्ने व्यवस्था गरियो। तर १०० वर्षपछि नानीचायायको दिनमा महिलाले मात्र तान्नुपर्छ भनी इतिहासमा पढाउने काम हुन जान्छ भने वास्तवमा त त्यो बिल्कुलै सत्य होइन।

यँयाः जात्राका दिन उपाकु जात्रा भनी मरेको व्यक्तिका नाममा काठमाडौंको निश्चित क्षेत्र तथा बाटो भएर मन्दिर तथा बाटोभरि बत्ती चढाउँदै जाने जात्रा हो तर विडम्बना यही जात्रामा पनि आफ्नो आँगन चोक तथा गल्लीहरूमा डोरीले तानेर छेकेर नचाहिने ठाउँहरूमा पनि घुमाउने नराम्रो प्रविधिको विकास भएको छ। जुन तत्काल बन्द हुनुपर्नेमा झन् विकृति बढिरहेको छ। पोहोर साल कराँतेका भूपू राष्ट्रिय खेलाडी छोरी डंगोलले आफ्नो भाइको मृत्युको सम्झनामा उपाकु घुम्न जानुभएको तर घुम्न नसकिएर आधा मात्र घुमेर घर फर्कें भनी गुनासो गर्नुभयो।

जहाँसम्म २१ औं शताव्दीमा महिला र पुरुष भनेर भेदभाव गर्नु राम्रो होइन जस्तो लाग्छ। त्यस्तै पूर्णिमाको भोलिपल्टको दिनमा श्वेतभैरवमा हाथुहायकेगु कार्यक्रम गरी रक्सी र जाँड श्वेतभैरवको प्रसादका रूपमा पहिलापहिला महिला र पुरुष दुवैले पिउन सकिन्थ्यो। त्यसबेला यो बार यो गते यो तिथिमा पुरुषको पालो, यो बार तथा तिथिमा महिलाको पालो भनेर छुट्याएको थिएन। तर अहिले महिलाका लागि भनेर दिन तोक्ने कार्य गरियो। यो ठीक कि बेठीक भन्ने कुरा भविष्यका लागि नै छोड्न कल्याण होला। तर २१ औं शताब्दीमा जात्रामा पनि आरक्षण तथा कोटा महिलाका लागि व्यवस्था गर्नु कतै जात्राको नाममा महिला दिदीबहिनीहरूलाई गिज्याइरहेको त होइन ? भनी प्रश्न चिह्न बेलाबेलामा उठ्ने गरेका छन्।

अहिलेको नयाँ जमानामा महिला पुरुषको अधिकार बराबर छ। यो नेपालको संविधानले दिएको नैसर्गिक अधिकार पनि हो। महिलाहरूले रथ तान्ने तथा श्वेतभैरवमा हाथुहायकेगु बेला महिलाहरूका लागि दिन तोक्नु कति उपयुक्त छ भनी सोध्दा खिचापोखरीका गोविन्दलाल तण्डुकारले भन्नुभयो कि यो आधुनिक जमानामा जात्राको बेला महिलाहरूका निम्ति दिन तोक्नु भनेको जात्रामा पनि आरक्षणको व्यवस्था भएकोजस्तो भयो। यो सरासत गलत हो। त्यस्तै पत्रकार प्रेरणा शाक्यलाई सोही प्रश्न राख्दा उहाँले थोरै विरोध गरेर भन्नुभयो, ‘म पनि महिला हुँ तर महिलाले रथ तान्ने भनेको हाम्रो परम्परा, रीतिरिवाज, रहनसहनको विपरीत हो। रथ तान्ने बेलाको महिलाहरूको उत्ताउलो फोटो आफूसँग छ। फोटो आफूसँग भएर पनि लुकाएर राख्नुपर्ने अवस्था छ।’

त्यस्तै कामनपा-२४ का भूपू वडासदस्य लक्ष्मी महर्जनलाई महिलाले रथ तान्नु र हाथुहायकेगु बेला जाँडरक्सी खानका लागि क्रमशः नानीचायाःको दिन र पूर्णिमाको भोलिपल्टको दिन तोक्नु, कति उचित छ भनी प्रश्न राख्दा उहाँले भन्नुभयो कि म पनि एकजना महिला हुँ तर यो सरासर गलत काम हो। हुन त मलाई पनि एकपल्ट जबरजस्ती रथ तान्न लगाइएको र रथमा चढाइएको छ। यसमा मेरो पूर्ण विमति छ। यो सरासर हामीहरूले हाम्रा पुर्खालाई गिज्याइरहेको छ।

नानीचायाःको दिन महिला समूहद्वारा रथ तान्ने समितिका संयोजक नानीहीरा महर्जनलाई महिला दिदीबहिनीहरूले मात्र नानीचायाःका दिन रथ तान्नेबारे कुरा राख्दा यो पहिलादेखिको परम्परा होइन, २०६९ सालदेखि मात्र महिलाहरूलाई रथ तान्ने जिम्मा दिएको हो। त्यहाँदेखि उहाँको नेतृत्वमा रथ तान्ने काम आजको मितिसम्म चलिरहेको छ।

साथै सोही कारणले गर्दा महिलाहरूले रथ तान्न पाएकाले महिला दिदीबहिनी साह्रै खुसी भएको जानकारी दिनुभयो। साथै ९ वर्षअगाडि रथ तान्ने बेलामा एकजना महिलाको खुट्टामा रथको पाङ्ग्राले किचेर घाइते भएकाले रथ तान्ने बेला सुरक्षाको व्यवस्था गरी फेरि दुर्घटना नहोस् भनी व्यवस्थित रूपमा रथ तान्ने गरेको जानकारी दिनुभयो।

कराँतेका भूपू राष्ट्रिय खेलाडी छोरी डंगोल, जो प्रत्यक्ष रूपमा श्वेतभैरवको हाथुहायकेगु तथा कुमारीको रथ तान्ने कार्यमा सक्रिय व्यक्तित्व हुनुहुन्छ, उहाँले महिलाका लागि हाथुहायेकेगु दिन र रथ तान्नका लागि महिला दिदीबहिनीहरूलाई दिन तोक्नु राम्रो हो तर श्वेतभैरवको हाथुहायेकेगु दिन ट्यापे महिला दिदीबहिनीहरूले जथाभावी लुगा लगाएर उत्ताउलोपन देखाएर प्रसाद खान आउने कुरालाई पूर्णतः रोक्ने काम भइरहेको जानकारी दिनुभयो। साथै रथ तान्ने दिनमा अप्रत्यक्ष रूपमा ज्यापुनी दिदीबहिनीहरूले मात्र तान्नु पर्दछ। अन्य जातका महिला दिदीबहिनीहरूलाई तान्न दिनुहुन्न भन्ने सङ्कुचित अघोषित धारणा छ। यो सरासर भेदभाव हो।

यो नयाँ युगमा महिला-पुरुष बराबर हुन्। महिला र पुरुषबीचमा भेदभाव हुनुभएन। हामी नेपाली सभ्य र भलादमी पाराले यँयाः जात्रा मनाऔँ। समय अनुकूल जात्रालाई परिर्वतन गर्नुपर्छ तर तिनका मौलिकता र जीवन्ततालाई मार्नुभएन। यँयाः जात्रालाई अझ व्यवस्थित गर्न एउटा छुट्टै सबै गुठियारहरू अट्न सक्ने एउटा समिति खडा गरेर सो समितिले मात्र जात्राको समन्वयकर्ताको भूमिकामा मात्र सीमित हुनुपर्छ साथै सरकारले पनि अभिभावकका रूपमा भूमिका खेलेको खण्डमा मात्र जात्राको अस्तित्व हुन्छ। त्यसैले हाम्रो जात्रा हाम्रो पहिचान हो। यसलाई बचाउनु हामी सबैको दायित्व हो। 

प्रकाशित: २५ भाद्र २०७९ ०२:४४ शनिबार

इन्द्रजात्राको समावेशी आवरण मौलिकता र जीवन्तता