कला

सुविन भट्टराईको ‘इजोरिया’ सार्वजनिक

उपन्यासकार सुविन भट्टराईको नयाँ उपन्यास ‘इजोरिया’ लोकार्पण गरिएको छ। किताब जात्राका अवसरमा काठमाडौंको प्रज्ञाप्रतिष्ठान, डबलीमा शुक्रबार आयोजित विशेष कार्यक्रममा पाठकका हातबाट ‘इजोरिया’ लोकार्पण गरियो।

कार्यक्रममा सहभागी दर्शकलाई आआफूले लिएका पुस्तक प्रदर्शन गर्न लगाएर पुस्तक सार्वजनिक गरिएको हो। फरक किसिमले पुस्तक लोकार्पण गर्न यस्तो शैली अपनाइएको प्रकाशक फाइनप्रिन्टले जनाएको छ। कार्यक्रममा लेखक भट्टराईसँग कवि अस्मिता गौतमले अन्तरसंवाद समेत गरिन्। साथै उक्त अवसरमा गायिका समृद्धि राईले साङ्गीतिक प्रस्तुति समेत दिएकी थिइन्।

कार्यक्रममा लेखक भट्टराईले आफ्नो उपन्यास ‘इजोरिया’ बहुआयामिक कथा रहेको बताए। पारिवारका सदस्यबीच देखिएको प्रेम, घृणा र द्वन्द्वलाई आफूले विषयका रूपमा लिएको उनको भनाइ छ। उपन्यास ‘समर लभ’ र ‘साया’बाट चर्चा कमाएका लेखक भट्टराईले पछिल्लो समय आफ्नो लेखनमा थप विविधता ल्याइरहेको प्रकाशक फाइनप्रिन्टका अजित बरालले बताए। 

प्रकाशित: २५ भाद्र २०७९ ०१:१५ शनिबार

अक्षर