कला

लजाएको

लघुकथा

लक्ष्मण अर्याल

मैले एकाबिहानै झिसमिसेमा उसलाई बाटामा भेटें। वरपरका घरका झ्याल-ढोकाका कापबाट बत्तीको प्रकाश बाहिर चियाउन थालिसकेको थियो। बिउँझिसकेको शहरले चहलपहल भने पाइसकेको थिएन।

उसले सानी सुमनालाई डोर्‍याइरहेको थियो। सुमना उसकी छोरी थिइन तर छोरीजस्तै थिई। ऊ सानी कुकुर्नी थिई। सुमना सडक छेउमा सुँघ्दै थिई। एकाएक उसले पेट हल्का बनाइदिई। उसले मलाई देख्यो। मैले उसलाई देखें। सायद सुमनाले हामीतिर ध्यान दिइन। उसले मुखको दायाँपट्टिको प्वाल तन्काएर सानो हाँसो च्यात्यो। ऊ लजाउला भनेर म भने हाँसिन।

उसलाई क्याम्पसबाट फर्किंदा दश बजेतिर फेरि भेटें बाटामा। ऊ केरा खाइरहको थियो। बाटाको सौभाग्य कहाँ हुन्थ्यो र केराको ज्यूनार गर्न। उसले केरा भने बोक्रैसित खाएन।

दिउँसो दुई बजेतिर उसले मलाई फोन गर्‍यो र भन्यो, ‘एउटा कार्यक्रम छ। जाऊँ, मलाई एक्लै जान झ्याउ लागिरहेछ।’

ऊ मेरो साथी हो। आग्रह नटेर्ने हिम्मत मसित थिएन।

हामी दुवै उसैको महँगो गाडीमा बसेर हुइँकियौं। बाटामा जंगलको किनाराले पानीको खाली बोतल पनि पायो। ऊ फेरि पनि लजाउला भनेर मैले केही बोल्ने हिम्मत झिकिन। उसले एउटा कार्यक्रमको भव्य हलमा मलाई पुर्‍यायो। ऊ जानेबित्तिकै सबैले उसको स्वागतमा ताली पिटे। ऊ त्यो कार्यक्रमको प्रमुख अतिथि रहेछ। ऊ मञ्चमा चढ्यो। म दर्शकदीर्घाबाटै उसैलाई चियाइरहें।

भव्य उपस्थितिमा कार्यक्रम चलिरहेको थियो। भाषणवाजहरू भाषण गरिरहेका थिए। बजिरहेका तालीहरूसँगै म भने कहिले सकिएलाको ध्याउन्नामा थिएँ।

अन्तमा प्रमुख अतिथिको बोल्ने पालो आयो। औपचारिकताको बन्धनबाट मुक्तिका लागि तड्पिरहेको मेरो उत्साह पुक्क मोटाएको कसैले भेउ पाएनन्। उसले बोलिरहेको यति मात्र मैले ख्याल गर्न सकें,‘यो पृथ्वी अनि वातावरण स्वच्छ, सफा राख्नु हामी सबैको कर्तव्य हो। कर्तव्यविमुखताको स्थितिबाट हामी सभ्यताको उकालो उक्लिन सक्दैनौं। परिवर्तन आफूबाटै सुरु गर्नुपर्छ।’

उसले भाषण तुर्‍यो। मैले तालीको गडगडाहटको पनि हेक्का गरिन किनकि मेरो ध्यान भड्किसकेको थियो।

ऊ वातावरणविद् हो भन्नेचाहिं मलाई थाह थियो तर धरोधर्म त्यो दिन विश्व वातावरण दिवस हो भन्ने कुरा भने कार्यक्रम पुगेर मात्र मैले बुझेको थिएँ।  

प्रकाशित: २२ भाद्र २०७९ ०६:२२ बुधबार

अक्षर