कला

आदिम धुनहरू

कविता

दीपक समीप

सुनाउँदिनँ म

तिमीलाई

मेरा नगाइएका गीतहरू

सुने भने मूर्छा पर्न सक्छन्

तिम्रा अहंहरू।

भो नपढ तिमी

मेरो नलेखिएको कविता

पढ्यौ भने दृष्टिविहीन हुन सक्छन्

तिम्रा मस्तिष्कका ईष्र्यालु नानीहरू।

नपल्टाऊ तिमी

मेरा अक्षरविहीन

पुस्तकका पानाहरू

सजिलै पल्टिएनन् पाना भने

थुक लगाउनुपर्छ औंलामा

जुन

तिमीलाई विर्य जस्तै दिगमिग लाग्न सक्छ।

नहेर भो मलाई

देख्यौ भने मेरो बिफर रूप

ऐठन हुन सक्छ तिम्रो मुटुमा

बटारिएर आन्द्राभुँडी

तिमीलाई कामुक वान्ता आउन सक्छ।

तसर्थ

लेखिन मैले

तिमीलाई कुनै प्रेमपत्र

स्विकार्यौ भने

हत्या हुन्छ एउटा सुन्दर गुलाफको।

प्रकाशित: २२ भाद्र २०७९ ०४:२७ बुधबार

अक्षर