कला

सिर्जना संवादमा डा. अमर गिरी

जनसाहित्यिक मञ्च, नेपालको आयोजनामा २०७९ भाद्र १८ गते काठमाडौंको जोरपाटीमा सिर्जना संवाद कार्यक्रम सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष डा. पुष्करराज भट्टको अध्यक्षता एवं महासचिव बालमुकुन्द कार्कीको सञ्चालनमा सम्पन्न कार्यक्रममा रामचन्द्र खतिवडाले स्वागत मन्तव्य राखेका थिए।

यो सिर्जना संवादको पहिलो कार्यक्रम हो। यस पटकको कार्यक्रममा वरिष्ठ कवि एवं समालोचक डा. अमर गिरीलाई प्रस्तुत गरिएको थियो। चार दशक अघिदेखि नेपाली साहित्य क्षेत्रमा सक्रिय रहेका कविताका चार कृतिका साथै संस्कृति सम्बन्धी पुस्तक प्रकाशित छन्। डा. गिरी चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष, नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व प्राज्ञ परिषद् सदस्य एवं प्रगतिशील लेखक संघका पूर्व अध्यक्ष हुन्।

उनी हाल भाषा आयोगका सदस्यका रूपमा कार्यरत छन्। गोठीमा डा.गिरीले बाह्र कविता प्रस्तुत गर्नुका साथै आफ्नो लेखनयात्रा एवं कविता सम्बन्धी दृृष्टिकोण प्रस्तुत गरेका थिए।

कार्यक्रममा सहभागीका तर्फबाट दीपसागर पन्त, रघुनाथ कडरिया, विश्वनाथ प्याकुरेल, उद्धव प्याकुरेल, डम्मरुबल्लभ गडतौला, हेमन्तप्रकाश दाहालले जिज्ञासा राखेको थियो भने सो जिज्ञासामा डा. गिरीले आफ्ना दृष्टिकोण राखेका थिए।

कार्यक्रममा विश्वनाथ प्याकुरेल एवं गोपाल बरालले शुभकामना मन्तव्य दिएका थिए। सिर्जनात्मक प्रस्तुतिका साथै अन्तरक्रियामूलक कार्यक्रम भएकाले सहभागीले चाखपूर्वक भाग लिएका थिए। कार्यक्रममा पचास जना जतिले भाग लिएका थिए।

प्रकाशित: २० भाद्र २०७९ ०७:३९ सोमबार

अक्षर