तारा केसी
घरबाट निस्कने बेलामा बुढाबुढीले भने,‘बुहारी, हामी केही दिन छोरीको घरमा जाँदैछौ। नातिको खुब नियाँस्रो लाग्यो।’
बुहारीले भनिन्,‘हुन्छ बुबामुमा, मन लागुन्जेल बसेर आइस्यो। घरको चिन्ता लिनु पर्दैन। आखिर छोरी पनि त हजुरहरूकै सन्तान हो नि।’
छोरी, जुवाइ र नातिको मायाले बुढाबुढी गरूङ्गो झोला बोकेर छोरीको घरतर्फ लागे।हजुरबाहजुरआमासँग २ बर्से नाति पनि खुब झ्याम्मिन थाल्यो। सुरुका दिनहरू खुब रमाइलोसित बित्यो।
एक हप्तापछि,
नातिसँग खेल्दाखेल्दै भान्साकोठाबाट आएको आवाजमा बुढाबुढीको कान ठोकिन पुग्यो। जुवाइ छोरीसित भन्दै थिए, ‘अँ तिम्रा बाआमा कहिले जान्छन्? कि छोराबुहारीसित झगडा गरेर आएका हुन्? जाने त कुरै गर्दैनन् त?’
छोरी नाजवाफ भई। बुढाबुढीको मन दुख्यो। बेलुका जुवाइको कुरा फेरि त्यसरी नै ठोकिन आयो जसरी दिउँसो आएको थिए।
-सरू,मेरो पर्स हरायो। यसरी घरबाट पर्स र पैसा हराएको थिएन। अब पैसा पनि हराउन थाल्यो होइन।
रातभरि अनिदो बसेका बुढाबुढीले बिहानै छोरीसित भने, ‘हामी त आज घर फर्किन लागेका, बाको ओषधि छुटेछ।’
प्रकाशित: २० भाद्र २०७९ ०७:१० सोमबार