कला

तरीका

लघुकथा

खगेन्द्र बस्याल

१) तरीका

कुशे औंशीको दिन बाबुको मुख हेर्न भनेर उनका सबै छोराछोरी जम्मा भएका थिए। बिहानको खाना खाइसकेपछि सबैका अगाडि महँगा कपडाहरू र एक किलो मिष्ठान्न रहेको बट्टा हातमा राखेर मुख हेरेकी उनकी छोरीले घमण्डका साथ सोधी, ‘बा, अरू छोराछोरीले केके दिएर तपाईंको मुख हेरे?’

उनले भने, ‘त्यो कुरा किन चाहियो? सबैले माया दर्शाएर मुख हेरेका छौ। यसैमा म धेरै खुशी छु।’

बाबुको इच्छा विपरीत उनीले कर गरेर भनिन्,‘तैपनि भन्नु न यहाँ बाहिरका कोही पनि छैनौं। मलाई थाहा पाउन मन लाग्यो।’

छोरीले निकै कर गरेर सोधेपछि उनले भने, ‘मलाई साइलाको मुख हेर्ने तरिका भने निकै  मन पग्लियो।’

त्यो सुनेर अरू छोराछोरीले आश्चर्य चकित भई आपसमा मुखामुख गरे।

उनीले सोधिन्, ‘साइला भाइले के दियो र तपाईंको मन पग्लियो। सबैभन्दा महँगा कपडा र धेरै मिठाई हातमा राखेर मैले मुख हेरेको होइन र!’

त्यो सुनेर उनले गम्भीर हुँदै  भने, ‘तिमीले दिएका महँगा कपडा मलाई के काम। म बूढो मान्छेलाई घर छोडेर कतै जानु छैन। अनि विभिन्न रोगका कारण मिठाई खान नहुने भएको कुरा तिमीलाई थाहा छँदैछ।’

अलि लज्जित भई उनीले फेरि सोधिन्, ‘साइला भाइले के गयो र तपाईंको मन खुशीले पग्लियो त्यो त बताउनुस्।’

उनले सबैलाई हेर्दै भने, ‘ऊ हिजै आयो। म बस्ने कोठा सफा मात्रै गरेन। मेरा सबै कपडा धोइदियो। मलाई सेवा गर्न बसेको केटालाई हामीले मात्रै मुख हेरेर हुँदैन। तैले पनि आफ्ना बाको मुख हेरेर आइज भनी उसलाई कपडा र फलफूल रहेको झोला दियो। ऊ खुशी हुँदै गयो। बिहानै उठेर हामीले संगै पञ्चायन देवताको पूजा गर्‍यौं। केहीबेरपछि उसले मेरा पाउ धोएर त्यो जलले आफ्नो आँखा स्पर्श गयो। मलाई वर्ष दिनलाई आवश्यक पर्ने  औषधी पनि ल्याइदिएको छ।’

बाबुको यो कुरा सुनेर अरू उनका छोराछोरी लाजले निहुरिए। साइलाले भने बाबुको अमृत वचन सुनेर अनुहार उज्यालो बनाइरहेको थियो।

केहीबेरपछि उनले लाजले निहुरिएका छोराछोरीप्रति लक्षित गर्दै भने, ‘माया गरेर मात्रै हुँदैन। तरिका पनि जान्नुपर्छ लागेर यो भनेको हुँ। त्यसो त मेरो नजरमा तिमीहरू सबै बराबर छौ। कम्तीमा कुसे औशी र दशैंमा केही लिएर होइन, मन उज्यालो पारेर आउन भने नबिर्स है। डाँडामाथिको घाम हुँ। तिमीहरूले मुख हेर्ने अवसर सधै कहाँ पाउँछौ र!

२) गहना

तीजमा माइततर्फ जानै लाग्दा उनको छोराले सोध्यो, ‘आमा,तपाईंको गहना छैन र!’

उनले आँखाबाट मोती खसाल्दै भनिन्, ‘छ नि,समय आएपछि देखाउने छु।’

उसले भन्यो, ‘आज अरूले लाएको देख्नु भएन र!’

उनले भनिन्, ‘ती सबै नक्कली गहना हुन्। मलाई सक्कली गहना देखाउने रहर छ। जुन देखेर सवै खुशी होऊन्। आज जसले गहना भनेर लाएका छन्,त्योबाट लगाउने मात्रै खुशी छ। मलाई त्यस्ता गहना लगाउने पटक्कै मन छैन।’

उसले भन्यो, ‘उसो भए तपाईंको अर्थमा सकली गहना कुन हो त?’

उनले भनिन्, ‘त्यो तिमीहरू नै हौ तर गर्वसाथ समाजमा देखाउनलायक मेरा गहना भइसकेका छैनौ। तिमीहरू यसरी बिना सुन्दर सपना मोबाइलको किरा भएर रमायौ भने मेरो गहना हेर्ने दिन अधूरै हुनेछ बुझ्यौ नि!’

३) सल्लाह

उनले छोरीको नयाँ घरमा गएर आफ्नै तारिफ गर्दै भनिन्, ‘मैले छोरीलाई माया दिन कुनै कुरा बाँकी राखिन।’

सम्धिनीले भनिन्, ‘यति धेरै माया गरेको अन्यत्र देखिकी थिइन्।’

उनी मक्ख पर्दै भनिन्, ‘छिमेकीले आमा कस्तो हुनुपर्छ भनेर मलाई उदाहरण दिने गर्दछन्।’

सम्धिनीले भनिन्, ‘तर त्यो माया नूनबिनाको तरकारी जस्तो भएको यताका छिमेकीले चर्चा गर्न थालिसके नि।’

उनले झसंग हुँदै सोधिन्, ‘मेरो मायामा के पुगेको रहेनछ र!’

सम्धिनीले भनिन्, ‘तपाईंले माया मात्रै दिनुभएछ तर असल संस्कार दिन भुसुक्कै बिर्सनु भएछ नि, जसको कारण हामीले पाइलापाइला समस्या भोगिरहेका छौं। तपाईंको बिहे हुन बाँकी छोरीलाई मायासंगै असल संस्कार पनि दिन नबिर्सनु होला है।’

४) दृष्टि

उनीले तीजमा माइतीघर आउँदा फलफूल,मिठाईका साथै बाआमा,दाजुभाइ र कान्छी बहिनीलाई राम्रा कपडा पनि ल्याइन्।

यो देखेर बाबुले भने, ‘यो के गरेकी छोरी,तीजमा माइत आउँदा यसरी कपडा ल्याउने होइन नि!’

उनीले भनिन्, ‘माया गर्ने अधिकार दुवैलाई बराबर हुँदैन र!’

बाबुले भने, ‘त्यो त हो तर छिमेकीले के भन्लान्।’

उनीले भनिन्, ‘मैले ल्याएको भन्दिनँ क्यारे अनि पुरानो चलनमा पनि परिवर्तनको खाँचो छैन र!’

उनले भने, ‘के चलन?’

उनीले भनिन्, ‘छोरी भनेको लिन खोज्ने मात्रै होइन। सक्नेले दिन खोज्दा गल्ती हुँदैन नि!’

उनले भने, ‘उसो भए ल्याएका कपडाहरू तिमी फर्केको केही दिनपछि मात्रै लगाउने छौं है।’

उनीले  भनिन्,‘आजै लगाउनुपर्छ। सबै राम्रो देखिए पो म खुलेर नाच्न सक्छु।’

 ५) तीज

रामप्रसादका चारवटी छोरी थिए। तीमध्ये कान्छी बेग्लै स्वभावकी थिई। तीजमा अरू जन्मघर आए तर ऊ आइन।

जेठी छोरीले बाबूतिर दृष्टि लगाउँदै आमालाई भनी, ‘कान्छी बहिनी अझै आइन। बोलाउनुभएको होइन र!’

आमाले उत्तर दिन नपाउँदै  बाबुले बीचमा कुरा काटेर भने, ‘तीजमा माइत आउन पनि बोलाउनुपर्छ र! घरकाले नपठाएर आइन होला। मेरा लागि तिमीहरू सबै बराबर हौ।’

उसले भनी, ‘ऊ नआउँदा अलि खल्लो लागेर हो। हामी सबै संगै हुने बेला पनि हो यो।’

उसकी आमाले छोरीको अँध्यारो मुख देखेर भनिन्, ‘किन अँध्यारो मुख लगाउँछेस्। मेरो कुरा सुनेपछि तेरो मुख उज्यालोमा परिणत हुनेछ।’

उसले अचम्मको भावले सोधी, ‘भन्नुस् न,मलाई सुन्न हतार भयो।’

उनले भनिन्, ‘ऊ पनि माइत गएकी छ नि!’

उसले भनी, ‘बाआमा,दाजुभाइ सबै यहीं हुनुहुन्छ। कुन माइत गई  त ऊ। तपाईंले त अचम्मको कुरा सुनाउनुभयो।’

उनले भनिन्, ‘हाम्रो घरमा डेरा लिएर बस्ने रमेशलाई दाइ बनाएर कान्छीले तिहारमा टिको लगाइदिने गरेको तिमीहरूले देखेकै थियौ। उनका ऊबाहेक अरू कुनै दिदीबहिनी रहेनछन्। तिहारमा टिका लगाइदिएपछि तीजमा नगए दाइ भन्न सुहाएन नि भनेकी थिई कान्छीले। कति बुद्धिमानी छ है तिमीहरूकी बहिनी!’

प्रकाशित: १८ भाद्र २०७९ ०५:१८ शनिबार

अक्षर