कला

सिटामोल पाउँदैन गरीब जनता बिमारी हुँदा

गजल

वीरेन मालाकार ‘सहयात्री’

 १) गजल

मदन ल्हासा किन जान्थ्यो मायाले मात्र पुग्ने भए,

सर्वस्व त्यागेर किन भाग्थ्यो पैसाले मात्र पुग्ने भए।

यो संसारमा कोही पनि सतप्रतिशत खुशी हुँदैनन्,

मठमन्दिर किन धाउँथ्यो हौसलाले मात्र पुग्ने भए।

यहाँ पैसा र माया बढी भएर मात्तिनेको कमी छैन,

नसामा किन फस्थ्यो मीठो खानाले मात्र पुग्ने भए।

धनसम्पत्ति हुँदा नि मायाको अभावमा दुःखी छन्,

मरिहत्ते किन गथ्र्यो पैसा खजानाले मात्र पुग्ने भए।

पैसा कमाउन मायाको लिलामी गर्न तयार हुन्छन्,

शरीर किन बेच्थ्यो प्रेमकै जमानाले मात्र पुग्ने भए।

  २) गजल

यहाँ चोखो माया लगाउनेको तिरस्कार हुन्छ,

सहनै पर्छ ती मुटुले अनेकौ चोट प्रहार हुन्छ।

सिटामोल पाउँदैन गरीब जनता बिमारी हुँदा,

नेताहरू बिरामी हुँदा विदेशमा उपचार हुन्छ।

यहाँ छुट हुन्छन् जघन्य अपराध गर्नेहरूलाई,

निर्दोषलाई दोषी ठहर्‍याई कैद कारागार हुन्छ।

योग्यता हुनुपर्दछ, ठूलो पद प्राप्तिका लागि,

तर राजनीतिमा जेल बसेको नै आधार हुन्छ।

मतलब हुँदैनन् धनीका छोराछोरीहरू बिग्रेमा,

गरीबका छोराछोरीहरूको पूरै समाचार हुन्छ।

 ३) गजल

तिमीलाई सपनामा नदेखिएको कुनै रात भएन,

मायामा जस्तो होस नै उडाउने अरू मात भएन।

हिजो साथीहरूको लहैलहैमा बिग्रेर हिंड्दा नि,

यो स्थानमा पुर्‍याउने बुबाको जस्तो लात भएन।  

माया नपाएर बिग्रेका छोराछोरी धेरै देखेको छु,

आमाले गाला मुसारेको जस्तो कुनै हात भएन।

बुढेसकालका लागि नै हो सन्तान पनि चाहिने,

बुबाआमालाई लात हान्ने जस्तो कुजात भएन।

आखिर मरेर नै जानुपर्छ प्राण किनिन्न पैसाले,

दिन आएपछि मर्नुपर्छ मृत्युमा पक्षपात भएन।

४) गजल

कोही पनि मान्छे दिनरात संघर्ष नगरी महान हुँदैन,

हतौडा र छिनाको चोट नपरी पत्थर भगवान् हुँदैन।

गरीबी हटाउन कृषिमा वैज्ञानिक पद्धति अपनाउनु,

ठुलाठुला भाषणले मात्र गरीब र धनी समान हुँदैन।

स्वतन्त्र वातावरणमा श्रमिकलाई काम दिएर हेर्नुस्,

विदेशमा अठार घण्टा काम गर्दा पनि थकान हुँदैन।

पचास प्रतिशतभन्दा बढी हाम्रो अर्थतन्त्र धान्छ रेमिटेन्सले,

उहीं परिश्रमी श्रमिकहरूको यहाँ कुनै बखान हुँदैन।

छिमेकी राष्ट्रहरूले आफ्ना स्वार्थका सहयोग गर्छन्,

फाइदाका लागि गरेको कुनै सहयोग उपदान हुँदैन।

५) गजल

बाटोमा भेट्दा सधैं दाइ भन्थी मोरी,

भेटघाट गरौ भन्दा नाई भन्थी मोरी।

मेरै घर अगाडिको बाटो हिंड्ने गर्थी,

देख्नेबित्तिकै सिधै हाई भन्थी मोरी।

मस्केर परेला झुकाउँदा म लजाउँथे

मलाई सिधासाधा गाई भन्थी मोरी।

केही कुराहरू बुझ्न नै गाह्रो हुँदो रैछ,

सपनाको सहयात्री पाई भन्थी मोरी।

उनीको चाहनामा फरकपना थियो,

नेवार हुँदैन मन पर्छ राई भन्थी मोरी।

प्रकाशित: १६ भाद्र २०७९ ०७:१५ बिहीबार

अक्षर