कला

मिठो खानेकुरा

लघुकथा

रञ्जुश्री पराजुली

ऊ  एक्ली आमा थिई। साथमा दुईटा भन्टयाङभुन्टुङ  छोराछोरी थिए। शहरमा पैसा फलाउने सपना बोकेर उसको लोग्ने बुढी र सानो छोरो डोर्‍याउँदै शहर पस्यो। साहुसँग पचास हजार लिएको ऋण ब्याज बढेर दुई लाख भएको थाहा पाएपछि भएको छाप्रो र अलिकता जमिनले त्यो ऋण चुक्ता गरेर शहर पसेको हो।

त्यो बेला छोरा तीन वर्षको थियो। गाउँघरका चिनेजानेका शहरतिर आएका जति ऋणपान गरेर  खाडीतिर उँट गोठालो बन्न पुगेका थिए। आफ्नो मीत  देवीबहादुरको सहयोगमा ऊ पनि उता कमाएर उतै तिर्ने सर्तमा खाडी देशको चर्को धुपमा सेकिन पुग्यो।

दुर्भाग्य पुगेको छ महिनामा नै ऊ काठको बाकसमा बन्द भएर देश फर्कियो।

लोग्ने जाँदा चमेली तीन महिनाकी गर्भवती थिई। लोग्ने बाकसमा बन्द भएर आएकै दिन छोरी जन्मिई। नवजात छोरी मन्दिरमा लगेर छोडिदिन धेरै प्रयास गरी तर मातृत्वले त्यसो गर्न दिएन। दुई टुहुरा लिएर एउटी एक्ली आमाको सानो कोठामा भाडा समयमा नै तिर्नुपर्ने र घरको काम सबै गरिदिनुपर्ने सर्तमा आश्रय लिई। छोरालाई स्कुल पठाउने बेला भैसके पनि  भर्ना गरिदिन सकेकी थिइन। घरघरै चुलोचौको,सरसफाइ आदि गरेर बच्चाहरूको पेट भर्दै थिई।

उसका बच्चाहरू कहिलेकाहीं कराएर आमासँगै काम गर्ने ठाउँमा जान्थे। दयालुहरूले रहलपहल र वासीतासी खानेकुरा दिन्थे। जति दिनको बासी भए पनि उनीहरू पचाउँथे।

एकदिन कोलोनीकै एउटा काम गर्ने घरमा मालिक्निीले ‘तीजको बेला नातागोता र साथीभाइले मिठाई ल्याएका थिए। कति खानु। यो पनि कसैले ल्याइदिएको दर हो। हामीले खान नै भ्याएनौ भनेर आज तिज बितेको पनि एक हप्ता भैसक्यो।

तिमीहरूको केटाकेटी त जति बासी पनि पचाउन सक्छन्। हामी हाम्रा केटाकेटी त सक्दैनौ। त्यसैले यो बाँकी मिठाई तिमीहरू खाओ है। यो ठूलो पसलको असल मिठाई हो’ भन्दै  एक प्याकेटभरि नै दिइन्।

उसले बाहिर रुखको छहारीमा आफ्ना छोराछोरीलाई राखेर ‘आज मिठाई खान पायौ। धेरै छ। सबै नसक। भोलि पनि खानुपर्छ। झगडा नगरी कन खाओ है’ भन्दै आफू काम गर्न भित्र लागी।

त्यो सबै मालिकको छोरा रमेशले देखिरहेको थियो। ऊ रमाउँदै बाहिर आएर उनीहरूसँग मिलेर ‘तिमीहरूसँग बसेर खाँदा पो मीठो हुन्छ। म पनि खान्छु। भित्र एक्लै ममीले खा भन्दा त मलाई केही पनि खान मन लाग्दैन’ भन्दै बासी मिठाई खादै रमाएर आमालाई ‘ममी मैले काम गर्ने दिदीका छोराछोरीसँग बसेर बासी मिठाई खाएँ। कस्तो मीठो भयो’ भन्यो।

‘लौन नि! तिमीले बासी खाएको! अब तिमी विरामी हुन्छौ। हैजा लाग्छ’ भन्दै  छोरालाई डाक्टरकहाँ जँचाउन लैजान बुढालाई फोन घुमाउन थालिन्।

प्रकाशित: १६ भाद्र २०७९ ०६:४२ बिहीबार

अक्षर