कला

आमाको प्रश्न?

कविता

मेरा सन्तानहरूमा

मेरो रगत सल्बलाइरहेछ

मेरै रातो रगत सिञ्चित भएर

एक भ्रूण

-हात,

-गोडा,

-टाउको,

-आँखा,

-मुख एकएक गर्दै

पाठेघरको सानो आयतनभित्र

बनिरहेको छ एक-पूर्ण मानवाकृति।

मेरो रातो रगतमा गर्वको भाव

हाँस्दैहाँस्दै सल्बलाइरहेछ

मेरा सन्तानहरूसँगै!

मलाई स्वीकार छैन

मेरा सन्तानहरूबाट टाढा हुन

हरेक रजस्वला हुँदाको

सात दिन/पाँच दिनसम्मको

नाकनिक र छुवाछुत

सुत्केरी हुँदा एघार दिनसम्मको अपवित्र

यस्तो नियम कस्ले बनायो

–किन बनायो?

मेरो शरीरमा रातो रगत बगेको निहुँमा

के यो नियम बनाउनेको शरीरमा

कालो या नीलो रगत बग्छ र?

त्यसैले जानाजान

मलाई कदापि मञ्जुर छैन

पापी हुन

पाप कटनी गर्न

कुनै भगवान् वा

ऋषिसँग क्षमा माग्न!

भगवान् वा

ऋषिलाई सम्मान गर्छु

तर यो यो विभेद बनाउने

मान्छेको सोच बहिष्कार गर्छु!

भगवानले नारीको

सम्मान दिएका थिए

पार्वती, लक्ष्मी,सरस्वती, काली

आदि देवीको स्थान उच्च छ

नारीलाई सृष्टिकर्ताको रूपमा

ममताकी खानीको रूपमा

दैविक कालमा देवीको स्थान दिइन्थ्यो

म आमा

मेरै रगतको आहालमा पौडिंदै जन्मिएका

मेरै धोतीको फेरमा लुटपुटिंदै

मेरै दशधारा दूध चुसेर

काखमा हुर्के/बढेका

मेरा छोराहरू पवित्र!

आखिर म कसरी भएँ अपवित्र?

प्रकाशित: १६ भाद्र २०७९ ०४:४४ बिहीबार

अक्षर