कला

जनगायक जेबी टुहुरेका गीतमा विविधता

जेबी टुहुरे मूलतः वामपन्थी विचारधाराका वरिष्ठ गायक हुन्। ८ वर्षको उमेरदेखि गाउँगाउँमा गीत गाउन निस्केका उनले रेडियो नेपालमा भने २०१९ सालमा रेडियो नेपालको वार्षिक उत्सव कार्यक्रममा ‘ए नानी पुकुली’ गीत गाएर रेकर्ड गरे। यसैगरी २०२४ सालमा उनले अर्को गीत पनि रेकर्ड गरे। आफ्ना गुरु दधिराम आचार्यलाई सम्झिने जेबी टुहुरेले २०२५ सालमा कोअर्डिनेसन केन्द्रको सदस्यता लिएर नेपाल कम्युनिस्ट पार्टीको सदस्य बने। उनले गाएको बहुचर्चित ‘आमा दिदी बहिनी हो’ बोलको गीत धरानस्थित सैनिक विश्राम भवनमा २०३३ सालमा पहिलो पटक गाएर सुनाए। सोही गीत महेन्द्र बहुमुखी क्याम्पस, हात्तीसार, धरानमा नै सैयौं मानिसहरूका अगाडि गाएपछि चर्चामा चुलिए। २०३५ सालमा जेबी टुहुरे संकल्प परिवारसँग जोडिन पुगे। तत्कालीन माले पार्टीका अध्यक्ष मनमोहन अधिकारीको व्यक्तित्वबाट प्रभावित भएका टुहुरेले समाजका विपन्न वर्गका गीत गाएर प्रशस्ती कमाए। कतिपय गीत त आफ्नै जीवनसँग मेल खाने खालका पनि छन् भनी आफ्नो संघर्षपूर्ण जीवनका कहालीलाग्दा कथाहरू सुनाउँथे। समाजमा परिवर्तन गर्नका लागि नै मैले गीत गाएको हुँ। पञ्चायतकालीन अवस्थामा जनताका शोषण, अन्याय विरुद्धका गीत गाउनु आपैmमा क्रान्तिकारी कदम थियो, जनगायक हामीमाँझ सुनाइरहन्थे। राजनीतिक पार्टीका नेताको मन्तव्यभन्दा कलाकर्मीको गीत संगीतद्वारा जनमानसको मन पग्लिने भएका कारण आपूmले गायन कला रोजेको बताउँथे जेबी टुहुरे।  

उनले समाज परिवर्तनका लागि विविध थरी गीत गाए। प्रतिबन्धित अवस्थामा गायक बनेका उनको स्वर पृथक थियो। रेडियो नेपालमा त्यसबेला उनका गीत प्रसारण हुँदैनथे। तर जनजनमा उनले ख्याति कमाइसकेका थिए। गरिब, विपन्न परिवारका मानिसहरू जेबी टुहुरेका गीत सुन्न पाए दङ्ग पर्थे। मानिसहरूको हुलमा पसेर पनि गीत सुनाउने स्वभावका कारण उनी जनजनमा लोकप्रिय थिए। कम्युनिस्टका गीत सुन्नुहुँदैन, जात जान्छ भन्नेहरूको पनि कमी थिएन त्यसबेला। जेबी टुहुरेले पूर्वी पहाडका बस्तीबस्तीहरूमा पुगेर परिवर्तनका गीत सुनाए। मैले गाएका गीतहरू सुनेर हुर्केका व्यक्तिहरू पछि वामपन्थी विचारधारामा लागेका पनि हुनसक्छन् भन्ने उनको तर्क थियो। पश्चिमी भूभागभन्दा नेपालको पूर्वी भूखण्ड गीतसंगीतका लागि उर्वरभूमि मानिन्छ। यसो हुनुको मूल कारण सामाजिक चेतना नै हो। पश्चिम नेपालमा त्यसबेला औंलामा गनिने सीमित गायकगायिका मात्र जन्मेका थिए। जनकविकेशरी धर्मराज थापा, उनकी छोरी ज्ञानु राणा, सरोज गोपाल, झलकमान गन्धर्व, प्रेमप्रकाश मल्ल, रामचन्द्र लामिछाने, चन्द्रकला शाह, मधुबाबु थापा, महाशंकर देवकोटा, परिमल स्नेही, नन्दकृष्ण जोशी, गोविन्द आचार्य, जङ्गबहादुर गन्धर्व, हरिदेवी कोइराला, सावित्री शाह, लोकबहादुर क्षत्री, नारायण रायमाझी, जीवन शर्मा, कृष्णसुधा ढुंगाना, बमबहादुर कार्की, तीर्थ गन्धर्व, डिबी महेशलगायतका गायकगायिका उदाएका थिए। यी कलाकारले माया, सद्भाव र प्रकृति–संस्कृतिका गीतहरू प्रशस्तै गाए तर जनक्रान्तिका गीतहरू गाएको सुन्निएन। अपवादका रूपमा २०४० सालपछि देउडा गीतसंगीतका धरोहर मानिएका नन्दकृष्ण जोशीले भने देउडा गीतका अलावा पटकपटक क्रान्तिका गीतहरू गाएर आन्दोलनकारी शक्तिलाई ऊर्जा थपेको देखिन्छ।

पश्चिमी नेपालको भन्दा पूर्वी नेपालको माटोले धेरैथरी गायकगायिकाहरू जन्मायो। जनगायनको फाँटमा जेबी टुहुरे, रामेश, रायन, माधव प्रधान, विजय सुब्बा, मधु गुरुङ, राजेश थापा, खेम नेपाली आदिलाई जन्म दियो। यसैगरी समाजमा सबैथरी गीत गाएर नेपाली माटोको बास्नालाई स्वदेश तथा विदेशमा पु¥याउनमा पूर्वी नेपालका धेरैथरी गायकगायिकाको नाम भुल्न सकिँदैन। लक्ष्मी जोशी, दीप श्रेष्ठ, गणेश रसिक, हिरण्य भोजपुरी, बुद्धवीर लामा, कविता आले, शम्भु राई, कुवेर राई, सूर्य थुलुङ, मानसिंह थुलुङ, रवीन शर्मा, भीषण मुकारुङ, राजेश पायल राई, शान्तिराम राई, लोचन भट्टराई, अशोक देवान, धिरज राई, टंक केसी, कल्याणकुमार कार्की, कृष्णबिक्रम थापा, हरिबहादुर रावत, लाक्पा शेर्पा, कुन्ती मोक्तान, मदनदीप विम, सत्यकला राई, प्रकाश श्रेष्ठ, टीका भण्डारी, खेम गुरुङ, नवीन खड्का, पुस्तका खड्का, कमलीकान्त भेटवाललगायतका पुराना र नयाँ पिँढीका स्वरजीवीलाई पूर्वी नेपालको माटोले आशीर्वाद दिएको पाइन्छ। माथि उल्लिखित कतिपय कलाकारहरू त वामपन्थी विचारधारा पनि बोकेको पाइन्छ। तर जनगायक जेबी टुहुरे, रामेश–रायनले एकलव्यभैmँ क्रान्तिका गीत, जनवादी गीत नै गाएर समाज परिवर्तन गर्न ठूलो योगदान दिएको पाइन्छ।  

‘आमा दिदी बहिनी हो

कति बस्छौ दासी भै

सुखको सधैँ प्यासी बनेर’  

यो गीत टुहुरेको सबैभन्दा लोकप्रिय गीत हो। जुनसुकै वर्ग, पेसा र वयका स्रोतहरूले यो गीत गाएको सुनिन्छ। २०४६ र २०६२/६३ सालको जनआन्दोलन सफल पार्न उक्त गीतलगायत ‘गाउँगाउँबाट उठ, बस्ती बस्तीबाट उठ, यो देशको मुहार फेर्नलाई उठ’ र सुदूरपश्चिम र कर्णाली प्रदेशको देउडा लयमा आधारित ‘झ्याम्म झ्याम्म’ गीतले मेची महाकालीका लाखौं परिवर्तनकारी शक्तिलाई गोलबद्ध गरी एकताको आवाज उठाएको त जगजाहेर नै छ।  

जेबी टुहुरेले गाएका गीतमा समाज परिवर्तनका अलावा मानवीय संवेदना प्रशस्तै बोकेको पाइन्छ। साथै पृथक खालको उनको स्वर र जीवनस्तर सुहाउँदो गीतले मध्यम र निम्नमध्यम वर्गीय समाजका नागरिकलाई पनि सम्बोधन गरिएको पाइन्छ। सुनूँ सुनूँ लाग्ने खालका यी गीतले ग्रामीण समुदायमा बसोबास गर्ने, कुटो कोदालो चलाई जीवन निर्वाह गर्ने, भारी बोक्ने, एक ठाउँबाट अर्को ठाउँमा गाँस, बास र कपासका लागि बसाइँ सर्ने, छोराछोरी हुर्काउन र पढाउन साहुको ऋण काढ्नुपर्नेजस्ता दुर्दान्त कथा बोकेको पाइन्छ।  

बसाइँ हिँड्नेको ताँतीले, बस्नेको मन रुवाउँदछ।  

लाखौंको लागि उजाड छ यो देश मुट्ठीभरलाई स्वर्ग छ।  

शब्द– लव प्रधान, स्वर तथा संगीत– जेबी टुहुरे

उक्त गीतले केवल नेपाली समाजका विपन्न वर्गलाई मात्र नभएर दक्षिण एसियाली मुलुकमा बसोबास गर्ने लाखौं मानिसको जीवनलाई पनि छोएको देखिन्छ।  

आमा तिम्रो माया कञ्चन पानीजस्तो  

आमा तिम्रो मुटु मायाको खानीजस्तो...।  

शब्द ः अशोक राई, संगीत– हेमराज राई, स्वर– जेबी टुहुरे

आमा र छोराछोरीबीचको रगतको नाता कति गहिरो हुन्छ भन्ने अर्थ खोजेको पाइन्छ गीतमा ः  

छोराहरू हो छोरीहरू हो  

वीर छोरा छोरी हो...।  

रचना– बम देवान  

कहिल्यै नमर्ने यो गीत बाबु, आमा–छोराछोरीको सम्बन्धमा मात्र सीमित छैन। यो गीतले त नेपाली माटोको अटुट माया कहिल्यै नटुट्ने गरी जोडिदिएको पाइन्छ।

बरु मेरो छाती छेड्ला जनता रोप्ने भालाले  

तर मलाई किन्न सक्दैनौ छ आनाको छालाले  

रचना– मञ्जुल, संगीत– शम्भु राई  

शब्द अलि कडा देखिए तापनि वस्तुपरक गीत हो यो। जुन गीतलाई नरम ढङ्गले गाएर टुहुरेले सबैथरी श्रमजीवी श्रोतालाई न्याय दिलाएका छन्।  

दुःखको बोझ बिसाउन चौतारी बनाऊ है  

एक्लै होइन हजारौं मिलेर लौ न

दुःखलाई पन्छाउन (लौन लौन एक भई जुटौं न)  

शब्द, संगीत र स्वर– जेबी टुहुरे

सामाजिक एकता कायम राख्नुपर्छ भन्ने सन्देश बोकेको यो गीत आपैmमा अर्थपूर्ण छ। पढ्दा सरल शब्द लाग्ने यो गीतले नेपाली समाज परिवर्तन गर्नका लागि भए गरेका क्रान्ति र आन्दोलनहरू सबैजना मिलेर मात्र सम्भव भएको भन्ने दृष्टान्त दिएको पाइन्छ।  

पानी चल्दैन रे तर रगत चल्दछ  

कहिलेसम्म यस्तो ढोंगी जगत् चल्दछ।  

रचना– खेम नेपाली, स्वर– जेबी टुहुरे

नेपाली समाजको विकास नहुनुको कारक तŒव जातीय भेदभाव पनि हो। जातीय भेदभावले समाजमा यति गहिरो जरा गाडेको छ कि जसको उन्मूलन नेपाली समाजबाट नै हुनु आवश्यक छ। पूर्वी नेपालमा भन्दा पश्चिमी नेपालमा जातीयताको बिउबिजन बढी मौलाएको पाइन्छ। दलित बस्तीका छोराछोरीमाथि अन्याय, अत्याचार र शोषण कथित् उपल्लो जातिले गर्न नछोड्ने प्रचलन नहटेसम्म कुरीतिलाई मिल्काउन सकिँदैन। जग्गाजमिनमा काम गर्न हुने, घर निर्माण, पाटी पौवा, धारापँधेरो बनाउन मिल्ने तर तिनै वर्गले छोएको पानी पिउन नमिल्ने ! न्यायको कस्तो सिद्धान्त हो यो ? गीतकारले ढंगिलो पाराले उतारेका शब्दलाई मिठो शैलीले स्वरमा बास बस्न दिएर जेबी टुहुरे दाइले श्रोतालाई न्याय गरेका छन्।  

मृत्यु पनि मान्छेपिच्छे फरक हुँदो रै’छ  

देशभक्त छोरो मर्दा देशै रुँदो रै’छ।  

रचना– अनिल पौडेल, स्वर तथा संगीत– जेबी टुहुरे

हरेक प्राणीले मृत्यु स्वीकार्नु नै पर्छ। मृत्यु पनि प्राणीपिच्छे फरक–फरक हुँदो रहेछ। विगत ४० वर्षयताको आफ्नो देशको अवस्थालाई फर्केर हेर्ने हो भने मानिसमा मृत्युका धेरै कारण देखिएका छन्। कोही विविध रोगका कारण मरे, कुनै सडक दुर्घटनाका कारण मृत्युवरण गर्न पुगे। १० वर्षे द्वन्द्वताका १७ हजार मानिसको अकालमा ज्यान गुम्यो। २०७२ वैशाख १२ मा आएको महाभूकम्पमा परी झन्डै ७ हजार मानिसले प्राण त्याग गरे। इतिहासदेखि वर्तमानसम्मका परिघटनालाई लिएर गीतमा आफ्नो भावना पोखेका गीतकारको भाव पक्ष बुझेर नै गायकले उक्त गीत रोजेका रहेछन्। जीवनको अन्तिम क्षणमा यो गीतले हृदय छुन्छ। नेपाली कांग्रेसका नेता, समाजवादी चिन्तक एवम् दार्शनिक व्यक्तित्व प्रदीप गिरिको हालैको दुःखद् निधनले पनि मेरो हृदय झस्कायो, जसरी जनगायक जेबी टुहुरेको गत साल भाद्र १० गतेको दुःखद् निधन हुँदा हामी सबै झस्केका थियौँ। मानवरहित देश हुन सक्दैन। मानवलाई दैविक दुर्घटना परी मृत्युवरण रोज्न नपरोस् भन्ने आशय बोकेको यो गीतमा डुबेर गाएका छन् जेबी टुहुरे दाइले।  

यी गीतका अलावा जेबी टुहुरेले जीवनमा आइपर्ने हरेक किसिमका गीतहरू गाएर समाजलाई नयाँ सन्देश दिएको पाइन्छ। झन्डै पाँच दर्जनभन्दा बढी गीतमा आफ्नो पृथक स्वरद्वारा लाखौं श्रोतालाई न्याय दिलाएका जेबी टुहुरे नेपाली समाजका इमानदार र देशभक्त गायक हुन्। पूर्वी नेपालको भूबनोट, रहनसहन, सांस्कृतिक सम्पदा, राजनीतिक घटना, आर्थिक अवस्था, बढ्दो बेरोजगारी अवस्था, युवाहरू विदेश पलायन भएपछिको गाउँ रित्तो हुँदाको पीडा, देशमा बढ्दै गएको भ्रष्टाचार आदिका बारे पूर्वेली शैलीमा गीत गाउने अभैm पनि धोको थियो उनको। अकालमा मृत्युले तान्यो। त्यो दुःखद् खबर एक वर्षपछि पनि बिर्सिनसक्नु भएको छ। ‘रातको अनिँदो’, ‘जुनीभरि मुटु पोल्ने’, ‘संक्रान्ति माने डाँडा है पारि’, ‘माघको जाडो’, ‘जान्न म त गोरखा भर्ती’, ‘अनिकाल लाग्यो भन्छन्’, ‘के दिऊँ दाइजो’, ‘सबै मलाई चोर भन्छन्’, ‘गुन्यु चोलो पटुकी’, ‘सुरिलो हजुर’, ‘आँधी खोलैले’, ‘पिरलोले जीवै सुकायो’, ‘पुर्खाले सोचे’, ‘है नि बालाऊ’ (धामी गीत), ‘चौंरी चर्ने ठाउँमा’ लगायतका विभिन्न गीतकारका शब्द र विभिन्न संगीतकारका संगीतमा जेबी टुहुरेले स्वर भरेर नेपाली जनमानसलाई गीति उपहार दिए। उनले लगाएको गुन केवल वामपन्थीहरूले मात्र नभएर प्रजातन्त्रवादीहरूले पनि बुझ्दैआएका छन्। जसको उदाहरण २०६६ सालमा देउडा समाजले टुहुरेलाई राजधानीमा अभिनन्दन गर्दा प्रमुख अतिथि हालका प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाले खुसी हुँदै अँगालो हालेका थिए। टुहुरे दाइको सम्मानमा उपस्थित सबै जनाले उठेर ताली पिटेका थिए।  

जेबी टुहुरेको व्यक्तित्व र कृतित्वलाई बचाइराख्न नेपाल खड्गी सेवा समिति र उनी जन्मेको भूमिको नामबाट रहन गएको संस्था धरान संगीत प्रतिष्ठानले असल कर्म गर्दै छ। जेबी टुहुरेका विद्यार्थी, संगीतकार तथा गायक राजेश थापाले जेबी टुहुरे फाउन्डेसन स्थापना गर्न सुनसरीमा निकै मेहनत गरे। अरू सहयोगी हातहरूले पनि जेबी टुहुरे दाइप्रति सम्मान गरेको देखिन्छ।

टुहुरेलाई यो उचाइमा पुर्‍याउन भाउजू सतीदेवीको ठूलो हात रहेको छ। हरेक पुरुषको व्यक्तित्वमा निखार ल्याउन, उचाइ बढाउन नेपाली समाजमा महिलाको हात रहने गर्दछ। सानो अवस्थामा एकजना छोरा भ्रमण, ४ जना छोरीहरू शोभा, भूमिका, श्रमिका र निर्भिकालाई हुर्काउन, बढाउन, पटकपटक कारागारमा थुनिएका पति जेबी टुहुरेको रेखदेख गर्न पनि सतीदेवीको नित्य कर्म थियो प्रतिबन्धित कालमा। हाल ओखतीको सेवनका सहारामा जीवन गुजारा गरिरहनुभएकी ७९ वर्षे सतीदेवी र परिवारलाई सरकारले सकारात्मक नजरले हेरिदिए अझ राम्रो हुने थियो। 

प्रकाशित: ११ भाद्र २०७९ ०२:१४ शनिबार

जेबी टुहुरे