कला

मलाई जीवन मनपर्छ

कविता

सुनिता गिरी

फूलहरू मुर्झाएको नदेखाउनु

मलाई-

कोपिला फक्रिरहेको मनपर्छ।

ताराहरू अस्ताएको नदेखाउनु

मलाई-

उदाइरहेको जून मनपर्छ

गइरहेको कुर्कुच्चाको होइन

मलाई-

आइरहेको पाइतलाको अगाध माया लाग्छ।

बिर्सिएको मधुर प्रेमको होइन

मलाई-

सम्झिरहने पीडाको माया लाग्छ।

न तिमीलाई थाहा छ

न मलाई थाहा छ

यो जीवनको अन्त्य

यो प्रेमको गहिराइ

सधैं सम्झिरहूँ

साचिरहूँजस्तो सम्झनालाई

न तिमी छेक्न सक्छौ

न म रोक्न सक्छु

पहिरो झरिरहेको दृश्य नदेखाउनु

मलाई-

मलाई बन्दै गरेको बस्ती मनपर्छ

रोइरहेको मानिसको आँसु नदेखाउनु

मलाई-

मुस्कुराइरहेको बालक मनपर्छ

बिछोडको कहानी नसुनाउनु

मेरो छेउमा-

वियोगको गीत नबजाउनु

मलाई-

खालि प्रीतको धुन मनपर्छ

मलाई-

खालि नवीन सृष्टि मनपर्छ।

अँध्यारोमा लाँदै नलैजानु

मलाई-

उज्यालो मनपर्छ

ओरालोतिर नडोयाउनु

मलाई-

मलाई उकालो मनपर्छ।

मृत्यु–मृत्यु नभन्नु

मलाई-

अनन्त आयु मनपर्छ

जीवन मनपर्छ।

प्रकाशित: १० भाद्र २०७९ ०६:५७ शुक्रबार

अक्षर