कला

लता केसीका तीन लघुकथा

लघुकथा

लता केसी

१) कर्म

‘ओई हरिलठ्ठु! ममाथि बञ्चरो चलाउनु हुन्न भनेर तँलाई कसैले सिकाएन?’ बडेमा रूखले दुखेसो पोख्यो। उसले यताउति पल्याकपुलुक हेर्‍यो। कोही देखेन। फेरि आफ्नै गतिमा काम गरिरह्यो।

‘हरे, यो व्यधाको बुद्धि हेर न! हाम्रो बासप्रति यसलाई के चिन्ता?’ गुँडबाटै चरी चिरचिर गर्‍यो।’ तर, ऊ आफ्नै धुनमा थियो। कसैलाई सुनेन।

उसको पेट बोल्यो, ‘आजलाई भारी पुग्यो। यसलाई बेच् अनि भोकको ज्वाला शान्त गर्।’

आफूलाई पुग्ने दाउराको भारी बोक्यो। ऊ गन्तव्यतिर हिंड्यो।

यसरी नै दाउरेको गुजारा हुन्थ्यो। पसीनाले पेट र परिवार पाल्नु नियति बनेको थियो। प्रविधिको विकाससँगै इन्धनका अन्य स्रोतले बजार लिन थालेपछि उसको व्यापार संकटमा पर्न थाल्यो। ऊ चिन्तित भयो। उसलाई ती काटिएका रूख र पशुपंक्षीहरूले गिज्याएझैं लाग्यो।

‘अब हाम्रो श्रापले तँ भोकै मर्नेछस्।’ भनेको सुन्यो। पापको प्रायश्चित गर्नुपर्‍यो’ भन्ने सोच्यो। बञ्चरो समात्ने आफ्नै हात काटेर छियाछिया बनायो। देख्नेहरूले उसलाई  रोकेनन् बरु सबैले ‘दाउरे बौलायो’ भन्न थाले। ऊ त्यो गाउँमा बसेन।

केही समयपछि गाउँभरि हल्ला चल्यो,‘दाउरे त वन जंगल संरक्षण समितिमा चौकीदार छ रे!’

२) उपदेश

एक त राति छिटै खाएर सुत्नुपर्ने अनि ६ बजे सखारै कक्षामा पुग्नुपर्ने मेरो दिनचर्या थियो। बिहानीको ३ वटा कक्षा लिएपछि आन्द्रा क्याउक्याउ कराउँथ्यो। तेस्रो घण्टी कहिले सकिन्छ? म खाजा खान आतुर हुन्थें। घण्टी बज्नासाथ केही नसोची नै आज पनि दौडेर खाजा खाने पसलमा पुगें।

ऊ आइपुग्यो। मैले ठाडै सोधें, ‘आज किन ढिलो गरेर आयौ?’

ऊ फिस्स हाँस्यो। मेरो जवाफ दिएन बरु सधैझैं ऊ भन्न थाल्यो, ‘कसैले केही सहयोग गर्‍यो वा गुन लगायो भने हामीले उसलाई धन्यवाद भन्नुपर्छ। यसो गर्दा हामी बीचमा सम्बन्ध मिठास बन्छ।’

मैले पनि उसका कुरा सुनें तर जवाफ फर्काइन। मलाई यसबेला कुराभन्दा भोक तीव्र थियो।

‘पहिलो कक्षामा के पढाइ भयो? मेरो कक्षा छुटेर केही गुमाएँ कि?’ भन्दै प्रश्न तेर्स्यायो। मैले उसलाई चित्तबुझ्दो जवाफ दिएँ।

उसले हतारमा भएकाले ‘खाजा खाने पैसा बोक्न बिर्सिएँ’ भन्यो। उसको उदर पूजा नि गरिदिएँ। छुट्टिने बेलामा उसले अनुरोध बिसायो, ‘आज अन्तै काम छ। म कक्षामा जान्न। नोट्स सहयोग गर है।’

ऊ आफ्नो बाटो लाग्यो। म कक्षातिर लागें। हिंड्दै गर्दा दिमागमा प्रश्न सलबलायो, ‘अरूलाई सधैं धन्यवाद भन्न सिकाउने ऊ आज आफ्नो पालोमा चाहिं किन चुकेको होला?’

३) बोधक

‘सानैदेखि म प्राकृतिक सौन्दर्यमा रमाउँथे रे!’ मेरी आमाले मलाई सधैझैं भन्नुहुन्थ्यो। यस्तो सुन्दा म आमाको काखमा लुटपुटिन्थें। जब म ठूली भएँ तब मेरो  बिहे भयो। किन हो कुन्नि? घरमा म एक्लै भएको अनुभूति गर्थें। समय बिताउन  मैले आफ्नो घरमा फूलबारी बनाएकी थिएँ। देख्नेहरू सबै ‘आहा क्या मजा’ भन्थे। मेरो प्राय समय बगैंचामा बित्थ्यो।

एकदिन म सुन्दर फूलहरू चुमिरहेकी थिएँ। एकजना अपरिचित आए। आफूलाई पनि फूलहरूसँग खेल्न मन लाग्ने बताए। उनको कुरा मलाई मनपर्‍यो। उनले ‘म सधैं आउछुँ नि है’ भनेर आग्रह गरे।

मैले सहमतिको टाउको हल्लाएँ। त्यसपछि उनी र म सधैं बगैंचाको स्याहारमा जुट्न थाल्यौ। हामीले खोजे जस्तै प्रकृति र परिवेश रंगीचंगी भयो। हामी दुवै आनन्दको सास फेर्न थाल्यौं। घरका सदस्यले शंका गरेर को हो भनेर सोध्थे। म बगैंचाको माली भनेर जवाफ दिन्थें।

बिस्तारै हाम्रो जीवनमा पनि प्रकृतिले सौन्दर्य छर्न थाल्यो। घरमा दिन नमिल्ने हुनाले मैले उनलाई मनमा बास दिएँ। हाम्रो सानो संसार खूबै फुल्यो, रंगियो पनि। केही दिनपछि उनी आउने क्रम पातलिन थाल्यो। मैले उनलाई कारण सोधे तर उनी चित्त नबुझ्ने तर्क अघि सार्थे।

मलाई लाग्थ्यो, ‘आखिर मान्छे’ मनको मालिक न हो, खुसी हुन अझ सुन्दर फूलहरू पाए होलान्।’  

बिस्तारै उनी आउन छाडे। म ओइलाउन थाले। मेरो बगैंचाका फूलहरू पनि म जस्तै ओइलाउन थाले। यो देखेर म भित्रभित्रै रोएँ, कहालिएँ।

मेरो मनले मनलाई सोध्यो, ‘साथ दिन नसक्नेले किन मनमा यात्रा गरेको होला?’

केही दिनपछि म सम्भालिएँ। मन बहलाउन बगैंचामा गएँ। ओइलाएर झर्न लागेको  एउटा फूलले मलाई सोध्यो, ‘नयाँ माली आउनुअघि तिमी हाम्रो माली थियौ त, होइन र!’

प्रकाशित: १० भाद्र २०७९ ०५:२८ शुक्रबार

अक्षर