कला

रिठ्ठाबोटे धामी

कथा

चन्द्र रानाहँछा

हुरुरुरु चलेको चैते हावाले आँगन वरिपरि भुँवरी खेलेर सुन्तला र बोहोरीका पातहरू उडाउँदै लगेपछि सिकुवाको खाटमा अडेसिएका रिठ्ठाबोटे धामीले दुवै आँखाका भृकुटी खुम्च्याए। मानसपटलमा जवानीका विस्मृत पानाहरू क्रमशः पल्टिंदै-पल्टिंदै आए-रात छर्लङ्गै पारेर हलेसी बजार भरेको, लामिदुवाली मेलामा जुहारी गाएर बाजी जितेको, साप्सु धापमा सोल्टिनीको हात समातेर अँध्यारोमा चोथ्रोघारीभित्र चितुवा जसरी सुटुक्क छिरेको र केही छिनपछि भिजेको कुखुराको हालतमा कान रातो पारेर निस्किेको, माने भञ्ज्याङमा खुकुरी नचाएको, पञ्चमीमा जारी तिरेको आदि सम्झिएर रोमान्चित हुँदाहुँदै अचानक उनको कन्सिरी तातियो-बराहपोखरी, टेम्के र साल्पा बजारमा ताले, तोकाया र दलबल सहित ढोल-ढ्याङ्ग्रो बजाएर चिन्ता बस्दै जाँदा वारिपारिका समकालीन धामीहरूसित बाटो छेकाछेक गरेको, दागा धराधर गरेको, रिसिया फलाक्दै शक्ति प्रदर्शन गरी बाण हानाहान गरेको सम्झिएर उनी एकखेप क्रोधले जले र तेर्स्याइराखेको आफ्नै कुँजे खुट्टालाई घृणाले थुके-थुक्का, जाँठा खुट्टा!

रिठ्ठाबोटेको देब्रे खुट्टा कुँजे थियो। उनलाई अर्कै शक्तिशाली बिजुवाले यस्तै धाम-भाकलमा जाँदाखेरि बाण हानेको रे उहिले र पछि त्यै धामीलाई चाहिं रिठ्ठाबोटेले चिन्ता थानमै ठहरै पारिदिए रे। त्यैकारण उनलाई कुनै धामीले नचिताए हुन्छ भनेर वारिपारि झ्याली पिटिएको थियो।

उनी उहिलेको घटनामा अपाङ्गिएको खुट्टा पसारेर पारितिर उनैलाई पर्खिरहेजस्ता मपारुङ, भुसुरी र टेम्के थुम्कीतर्फ नियाल्दै बगिगएका समयले छाडिगएका उदास सम्झनाहरूमा रुमलिंदै थिए। खला डिलमा घन्टी फूल र कागतीका झ्याङदेखि रमाउदै जुरली र भँगेराहरू तल्लो खण्ड काहुलो र मेरीको हाँगामा गई फुथ्रुकफुथ्रुक नाच्दै थिए। यतिखेरै आँगनमा अचानक देखापरेको मनकुमार विनयी भावमा पोखियो,‘तिप्पा, आप्पा सारो हुनुभो। गैदिनुपरो एक्छिन्।’

बाह्र बज्नै लागेको थियो। यसबेलासम्म धामी भोकै थिए। अघि दश बजेजस्तो छोरी बिम्लालाई ढिंडो मस्काउन अह्राको ‘सक्दिना’ भन्दै डोको टिपेर बिम्ला रानीवनतिर लागेपछि बुढाको पेटमा अन्न पसेको थिएन। त्यै पनि हार्न नसकेर उनी मनकुमारको बुई चढी खाली पेटै लागे पूर्वेलीलाई फुक्न। पूर्वेलीलाई पूर्वे र साप्सुले दुख दिएको रहेछ। जोखानाबाट पन्छाइदिए। थानी, शिकारी र तोरेम्पालाई समेत परपरै पारिदिए। चुक जस्तो जाँड छानेर पूर्वेल्नीले डबकाभरि राखिदिएकी थिई तर पिउन छाडिसकेका बुढाले डबका छोएनन्। त्यहाँ अन्य खाजा मिलेन। भरै मनकुमारले बोकेर घरमै पुर्‍याउन लाँदासम्म बिम्ला आइपुगेकी थिइनँ। बरु बिरामी छोरीलाई फुकाउन लान अटलशेरले पर्खिरहेको रहेछ। तुरुन्तै उसको बुई चढेर गएका धामीले त्यस दिन मात्रै गाउँभरि झन्डै दर्जन बिरामीलाई उकार गरेपछि साँझपख लालमानले बाकेर ल्याई उनलाई डङ्ग्रङै खाटमा थेचार्दियो।

यसरी एवं रितले गाउँभरि ओछ्यान लागेकाहरूलाई उकार गरेर निको पार्छन् उनी। ‘बिरामी भो गैदिनुस् न फुक्न’ भन्दा ‘भियाउँदिनँ, सक्दिनँ या फुक्दिनँ’ भन्दैनन् कहिल्यै। न आफ्नो विद्याको मूल्य नै तोक्छन् उनी कसैसँग। खालि फुक्छन् निःशुल्क। फुक्दै आए र फुकिरहलान् यसरी नै बाँचिन्जेल। यहीं मानेमा गाउँटोल, वारिपारि उनले पाएका उपमा थियो-धामी देउता।

हुन पनि चरम गरिबीको जोताराले बाँधिएका उनले डाँडापारि-पारिसम्म धाएर कति जोखाना हेरे। कति कचुर काटे। कति सेहें हानें। साप्सू वरपर मात्रै होइन, रावाखोला, सावाखोला, दिखुवा, पिखुवा आसपाससम्मै पुगेर झारफुक गरी, सातोसमेत बोलाइदिएर उनी निस्तै फर्किन्थे। त्यै पनि आजसम्म कति जना निको पारियो? कहिल्यै हिसाब राखेनन् उनले। कहाँ, कसले के या कति दियो? न सम्झना नै छ न केही दिन्छ भन्ने आशा नै।

बुढा बेलाबेला भन्थे। ‘मरेर लानु क्यै छैना है केटाह। छ हात जमिन ओगट्छ यो शरीरले। समैकालमा शरीरै मक्किएपछि ता त्यै जमिन पन् आफ्नो हुँदैना। त्यसो र, कसैलाई नदुखाङ्नु, दुःखोसित पन् नअतालिनु, फुर्ती पन् कोइले नगर्नु। आर्को कोई रोएको ठाङ्मा उभेर कैले पन् नहाँस्नु। अभागी छु पन् नभन्नु। भोगभाग सप्पैसुङ्ग हुन्छ बरु यसलाई समै अनुसार मुछ्न नजान्दा दुखो पाङ्ने ह मनुख्यले, जस्तै-म।

बुढाले अनुहार घुर्मैलो बनाएर भन्थे,‘छोरा ह, मनुख्य चोला, पर्सि के हला, यो संसार दुखो पन् ह, सुखो पन् ह। यो माहासागरमा मनुख्यले पौरिनु जान्दा उत्रिन्छ, नजान्दा डुबिन्छ।’

सिकुवा डिलमा अडेसिएर उनी घरि पारि रतन्छा र मबु गाउँ बिचबाट बग्ने बेलिया खोलाको दोभानतिर एकोहोरो टोलाउँथे त घरि आँगनमा चरिरहेका चल्ला टिपी लान आकाशदेखि झम्टिएका बेसारालाई धपाइराखेर हेर्थे परपर सेल्मे, महाभारत डाँडातिर। सायद त्यसक्षण यौवनकालीन स्मृतिका लहरहरूले मनको निस्सार बगरलाई सपक्कै ढाक्थे क्यार। उनका दुई वृद्धा आँखा निथ्रुक्कै रुझ्थे।

एकदिन-

गहकिलो छाती बनाएर मुख मिठ्याउँदै बुढाले मलाई आफ्ना कथा सुनाएथे, ‘केटा, अघि यो मेरो खुट्टा सगल्तो हुँदैखेरि म दङ्तेरी खालमै हिरो थें। तेरो बाउ बैदार, पूर्वेली, सुबाम्पा, धन्मुखी, डडक्मान, मन्दत, धनपाल र किर्तेम्पाहर्कै नाइके थिएँ म। कैले रुङ्कु छाँगै छाँगा फाल हान्दै माछा मार्न जान्थिङ्, कैले सुन्ताला बोकेर बेल्टार नुन खेप्थिङ्, अर्देश-पर्देश, मेला-पर्व, एऽऽहरेलो र पञ्चमी बजारमा मैले खुकुरी नचाङ्दा सैंयौं जाना धोती खुस्काङ्दै भागेको ओइले जस्तो लाग्छ।

त्यो ताका भारतको सिनिमामा देबानन्को क्यार खुब चर्चा थ्यो भने यो मेरुङ्, चखिया, स्याल्मे, माहाभारत र सिकुरी भञ्ज्याङ एरियामा म खुबै नामी थें। तँ पत्याङ्दैनास् हला भतिज! कैयौं हाट बजारमा उबेला तरुनीहरू झुन्डिएको खाँडीको दौराको टालो घुर्‍यान बारीतिर कतैकतै भेटिन्छ ओइलेपन्।’

कलिलो मस्तिष्कको फुच्चे म, गोठाला जाँदा वस्तु पल्लोपट्टि तुनीपाखातिर धपाइपठाएर बाँकी कथा सुन्न बुढाको घरकरेसामा रोकिन्थें। उनी विभिन्न कुलपित्रलाई चढाएका चल्लाहरूलाई मल्खु छरिदिएर लौराको सहारामा मेरो नजिकै आउँथे र पुलिक खन्दा निस्किएको चारकुने पातलो ढुंगा (जो आँगनको चारैकुनामा मिलाएर ओछ्याइएको थियो) मा बसेर आफ्नो जीर्ण घरतर्फ रुँग्न नजर लाउँदै भन्थे, ‘अघि यो घर काँ यस्तो थ्यो र! ठुलो धनकुटे घर पो थ्यो त। सखुवाको काठपात जोरेर बनाको।’

बुढा केही क्षण रोकिन्थे र थोरै आफूलाई सहज बनाएर बोल्थे, ‘यो सिकुवाको दलिनमा गोउँथलीको जोडा गुँड थ्यो। यो तल्लोपट्टि, त्यो माथ्लोपट्टि माउरीको दुइटा घार थ्यो। पछाडिपट्टिको रित्तो खोर देखिस् भतिज? त्याँ तेरो तिम्माले सालन्ने तीनचार माउ सुङ्गुर पाल्ने, यो आङ्ना (आँगन) ऊ...पर नाराङ्गीको फेदसम्मै फैलेको थ्यो। याँ टोलभरिको केटाकेटी भेला भार खेल्थ्यो। यो चौघेरामा स्याल मार्ने बाघजत्रै पाङ्ग्रे कुकुर बस्थ्यो। ए, त्यो बोक्सी काँडाले ढाकेको कान्लैभरि बारैमास फूल फूल्थ्यो।’

बुढा एखेप लामो गरी खोक्थे अनि आँखा चिम्लिन्थे। म यतापट्टि बहबिसको रुखछेउबाट तुनीपाखातिर चरिरहेका वस्तुहरू चियो गरेर बाँकी कथा सुन्न फेरि धामी नजिक जान्थें।

कथा सुरु हुन्थ्यो, ‘भतिज! सम्पत्ति भन्छस् भने कति ह कति, घरभित्र काँसातामा तेतिकै। ए ऽऽ पुरानु बनटको गरगहनाहरू, मति माला, हनुमान, श्रीराम, लछ्मन् र सीताको चित्र भाको महरहरू थुप्रो। ओइले सम्झिंदा कथा जस्तै लाग्छ, सुनिराख्नु है तँइलेपन्! सुखो भन्ने चिज अँजुलीभरिको पानी जस्तै रछ। अँजुली बलियो भएसम्म अडिराख्ने र खकुलो भए चुहेर सकिने।’

त्यसपछि उनले लामो निःस्वास छाडे। म भने पापा हेरिरहेको लाटाझैं भइरहें। उनले हत्केलामा निधार अडाएर फेरि मुख खोले,‘मलाई मेरै कति कुकर्मदेखि पछुतो छ र मैले उबेला त्यो काम नगरेको’भा...।’

बुढाको मुखाकृत ढाकेर ग्लानिका ज्वाला बल्न लागे।

‘कस्तो कुकर्म तिप्पा?’

मेरो अबोध प्रश्नको बिट मार्नतर्फ लागे बुढा, ‘आ...आबो मर्नेबेला ता भो, तँलाई भनेरै मर्छु भतिज, जुन कुरा मैले आजसम्म आफूभित्रै छिपाकोथें।’

उनले एकचोटि बसाइको आसन परिवर्तन गरेर मुख खोले, ‘अघितिर पूर्व जाने खुबै चलन थ्यो। तेरो कोपा गजुरमान बाबै, म र पान्थरतिरको दुइटा लिम्भू सुङ्सुङ्गै सिलघडी हुँदै नक्सलघडी पुगिङ। त्याँ औलो लागेर हामी सप्पै थला परिङ्। पछि अलिक टङ्ग्रिएपछि दुईटा लिम्भू समेत म गरेर हामी तीन जाना मेघालयतिर लागिङ् तर पासुङ मान्नुभएना। बुढा त्याँबाटै नेपालै फिर्छु भनेर बाटो लाग्नुभो। म पन् क्यै समय काम गरेर लिम्भूहरूलाई मेघालयमै छोडी कैलाखाततिर लागें। कैलाखातबाटो फेरि नागाल्यान, त्याँ काम गर्दै रहँदा-बस्दा त्याँकै थुप्रै खसिनीहरूसँग मेरो हिमचिम हुन थाल्यो। हना मलाई देखो कि जुनै पन् त्यस्सै पो लोभिजाने हौ।

बुढाको हिउँदे बारी जस्तो सुक्खा ओठ आफ्नै थुकले रसाउँदै आयो। थुकलाई लफ्रक्क जिब्रो निकालेर पुछपाछ पारी घुटुक्क निलेर उज्यालो भावमा अरू बक्न थाले बुढा,‘म पनि के कम्, नागाखालको आँखा छेलेर आफ्नो काम सकिहाल्थें तर पछि दशैंताका बिरामी भएर थलिएँ। एक जानाले मलाई निको हुन्जेलसम्म दबाईपानी, सम्भारचाकर गरो। ए ऽऽ भा, नभाको ओखतीमुलो, खोजिमिली अरूअरू ताकतिलो खानेकुरा ट्याम-ट्याममा अनि म ता हप्ता दिनमा टंग्रिहालें।’

बुढाले फेरि मजैले थुक निलेर आँखा चिम्लिंदै कहे, ‘कम्ता राम्रो होइना मोरी, सिनिमाको हिरोनीजस्तै। तेस्तो मिलेको जिउडाल ता यो उमेरसम्म देखेकै छुइना मैले। म ता कसोकसो उसैको मायाजालमा फस्तै पो गोएछु। अलिक पछि उसको माइती खलकले सुइँको पाको शंका भोएपछि म राति नै भाग्न खोजेको थें। चाल पाएछ उसले, छातीमा झुन्डिएर मलाई पन् लैजानू नेपाल भन्दै डाँको छोडेर रुन थालो। मैले ता क्यै सोच्नै सकिनाछु र रातारात भगाएर काकरिभितासम्म लेकोथें।’ यति भन्दै गर्दा बुढाको मुहारलाई  वियोगको बादलले ढाक्यो। एकछिन शून्यमा हराएर चिसो सुस्केरा छाड्दै कम्पित आवाज निकाले उनले, ‘कर्ममा लेखेको थिएनाछ छोरा। उसित मेरो उई रात तिंही नै बस स्ट्यासुनमा कसोकसो बिछुट भो।’

यति भनेर बुढाले आफ्ना रसाएका आँखा सरक्क पुछे।  

उत्सुकता पोखें मैंले,‘त्यसपछि?’

‘खोई काँ गो ऊ। मलाई पन् उसले खोज्नुसम्म खोजो हला नि। ओइले जस्तो उबेला फुन भा’पो कन्टाक गरेर भेट्नु।’

थप कौतुहल छु म, ‘अनि?’

‘धुइँपाताल खोज्दा पन् क्यै सिप नलागेपछि विरक्तिएर पाहाड निस्कें तर याँ आइपुग्दा ता, ए ऽऽ भतिज, भनिसक्नु छ र? पूरै हरिबिजोक, तेरो तिम्मा आछ्यान्मा लम्पसार, हैजाले वस्तुभाउ भुर्कुट मर्दै गरेको, छाना चुहिराछ उस्तै, खेतबारी बाँझै पल्टेको, उराठलाग्दो थ्यो घरको हालत।’ बुढाले एकचोटि आकाशमा घामलाई छेकिरहेको बादलतिर हेरे र बाले,‘लौ त्यो सबै ता बिस्तारो सुल्झिंदै जाला भनेर मन बुझाएँ तर मनै बुझाउन नसक्ने चैं अर्कै खबर थियो।’

‘कस्तो खबर?’

‘घर फिर्छु भनेर नक्सलघडीबाट छुटेको बाबै घर आइपुग्नु ता परको कुरा, काँ छ, के छ, खुटखबर छैना। म याँ आपछि सक्नेसम्म पत्तो लाङ्नु खोजें तर निकै वादमा घानेघुने खबर सुनिङ् बाबैलाई ता मधेसको चारकोसे जंगलछेउमा बास बस्दा बाघले पो खायो अरे।’

‘हो र तिप्पा?’

‘र त, आबो भनुङ्ना, बाघले ता तेसेरी खायो खाएना, था भोएना कान्छा तर बाबै कैले आएना। जे जस्तो भा पन् यो दुःखोको झल्कोले हाम्रो शाखासन्तानलाई सधैं पिरिराख्नेभो।’

उनले विरक्ति पोखे,‘हामीले ता मेलो पाइङ्ना भतिज! तिमरले चैं भरिसके आफ्नु बेपत्ता भाको कोपाको मरण पत्तो लाङ्नु है।’

भने मैले,‘हुन्छ।’

त्यसपछि पारि रुपुवा खोलाको शिरतिर टोलाएर धामी बुढाले कोट्याए बाँकी रहस्य, ‘मुग्लान भासिएको पासुङको ता लेखन्तै त्यस्तै हला। जन्म यता, मरण कता, हामी नै प्रष्ट भइङ्ना तर तेरो तिम्मालाई चैं मेरै सारिमाले लग्यो कान्छा।’

‘सारिमा भन्नाले के हो तिप्पा?’

मेरो कलिलो प्रश्नको बिट मारिदिए बुढाले-‘ह, तिमरले बुझ्नैपर्ने कुरा ह यो। राम्रोरी सन्, घरमा स्वास्नी, केटाकेटी हुँदाहुँदै अन्यत्र सम्बन्ध राखेमा परिवारलाई सारो पिर्छ, अनर्थै हुन्छ। मैले त्यै नकाम गरेकाले नै तेरो तिम्मालाई दैवले टिप्यो। त्यै ह सारिमा भनेको।’ बुढाले लामो निश्वास छाडे।

रिठ्ठाबोटे तिप्पाको भनाइमा वैज्ञानिक आधार थियो या थिएन तर उनी भने आफ्नो दाबीप्रति पूर्ण विश्वस्त थिए। भने,‘यसलाई मेरो सपनाको आद्य र नछुङ् विद्याले समेत प्रमाणित गरेको छ।’

घरछेउ चुवाको रुखमा काग कराउँदै थियो। पारि दोबेला गाउँमा मिल बजेको एकोहोरो पुकपुक आवाज कानमा थुरिरहेको थियो। यतिबेलै जस्केलोबाट एक हुल चल्लासहित घरभित्र छिरेर माउपोथीले जाँड छान्ने छ्याब्दु र बिहानको जुठो भाँडामा समला बजाउन थाल्यो। देखेर बुढाले रिसले मुर्मुरिंदै कुचाको झट्टी हाने,‘तँलाई स्यालको गुहु, चोखो खानु दिंदैनास?’

दिक्क मानेर गनगनिए उनी, ‘के गर्नु आफ्नु तागत छोइना, यसलाई पुर्वे र छुइमोका लागि नचढाको भा जानेको थें।’ बुढा पुनः पूर्व कथामा फर्किए-‘सिर्मती भनेको घरको मुल खाँबो ह। खाँबो उभिञ्जेल सबै हराभरा, खाँबै ढलेपछि सब सुहा। दीनदशै रछ छोरा मलाई ता, बुढिया खसेपछि नै मेरो यो खुट्टा बेकामे भो। त्यसपछि ता के भन्नु खै, सप्पै उजाडिएर गो। क्यै रहेना मसँग। पैतालिस सालको भुईचालोमा घरै भत्किएपछि ता झन्...।’

केही क्षण संवादहीन भयो वातावरण। बुढाको कान्तिहीन मुहारमा दुखका धर्साहरू भरिंदै आए। केही क्षणको वैराग्य स्तब्धता रोकिएजस्तो भएर पुनः बिथोलियो, ‘एसो गम्छु, उबेला यो आङ्नामा खेल्ने भुराभुरीहरू कताकता पुगो हला! ओइले मलाई ता आफ्नै घरको आङ्ना परदेश भो, आ ऽऽ आंनाको के कुरा, सिंगै घर मसानघाट भो। इष्टमित्र पन् बिमार हुँदा मात्तै आउँछ।’ भनेर बुढाले मात्रै गुनासो के पोखेका थिए नौजित आइपुग्यो-‘बाबै मेरो छोरा ढेबा टिपिनै आँट्यो, भरै चिन्ता बस्दिुनु परो।’

‘जान्न’ भन्नै सकेन उनले। तुरुन्तै ऋषिधन र डम्बरलाई ढयांग्रो लगायत सामासर्दाम बोकाएर चुवाडाँडाबाट उँधो लागेका धामी ढेबालाई जंगली र काँचो बायुको मुखबाट फर्काएर भोलिपल्टमात्रै फर्किए।

उनी साँच्चै देउतै थिए। गाउँलेले दिएको यो उपमा वास्तवमै सापेक्षित थियो। बोली खस्रो भए पनि उनको मन साप्सुको पानीझैं कञ्चन थियो तर अभागी रहेछन् बुढा। दैवले ढाके नामधारी डेढे छोरा दिए जस्तो गरेर उमेरमै खोसी लग्यो। तीन वटी छोरीमध्य दुइटी अर्कैको घर पोत्न गइसकेका थिए भने बेढङ्गी छोरी बिम्लाले मात्रै मुस्किलले बाउलाई पर्खिरहेकी थिई।

दशैं नजिकिंदो थियो। शरद ऋतुको सङ्घारमा सयपत्री, गोदावरी, मखमली लगायतका फूलहरूले बारीका भित्ताहरू क्रमशः सिंगारिंदै थिए। परिवेश मनमोहक थियो। घुर्‍यानतिर अम्बोक, सुन्तला र मेहेलहरु पाक्न लाग्दै थिए। बर्खा मास हट्दै गएपछिको आकाश धोएको रुमालझैं स्निग्ध र सफा देखिंदो थियो। टोलका केटाकेटीहरू मावल जाने, पिङ खेल्ने कुरा गर्दै रमाउँदै थिए। युवा तन्नेरीहरू गेम खेल्ने, मेला जाने कुरा गर्थे भने बुढापाकाहरू दशैंमा कसैकोमा राँगा काट्ने त कसैकोमा सुङ्गुर काट्ने चर्चा गर्दै मलाई यति धार्नी, उसलाई उति धार्नी भन्दै मासु बोल्दै थिए।

त्यो दिन पनि म सदाझैं पल्लोपट्टि उत्तिसेनी आहालमा पानी ख्वाउन वस्तु लाादै थिएँ। अचानक सिकुवाको चिसोमा एक फ्याङ्ला गुन्द्री ओछ्याएर खोक्दै पल्टिरहेका उनै धामी तिप्पालाई देखें। अनुहारभरि झिँगाको मेला थियो। छेउमा कोदो पिस्ने जाँतोभरि कुखुराको सुली चाङ लागेको। गग्रेटोदेखि जेंकु कुनासम्म पानी पोखिएको, अगेनामा आगो निभेको, एउटा चुला आधा फुटेको, चित्रे छाना मक्किएर खस्नै लागेको, चुहेको पानीले घरको भित्ताभरि लेउ जमेको एक किसिमको खण्डहर जस्तो घरको कहालीलाग्दो दृश्यावलोकन पछि छेउमा गएर सुस्तरी बोलाएँ-‘तिप्पा, ए तिप्पा!’

‘हुँ, आइया!’ भन्दै थोरै कोल्टो फरेर सोधे उनले, ‘कान्छा ह?’

‘हजुर तिप्पा, किन सुत्नुभाको? सञ्च हुनुभएन कि के हो?’

‘अँ,आबो जीउले निउ खोज्दैछ।

उनी उठ्न खोजे। मैले सहारा दिएर उठाएपछि उनले मुखाकृत बिगार्दै भने, ‘म आबो धेरै बाँच्दिना कान्छा, अलिकति झकायो कि कता हो कता भीरपहराको फेदबाट तेरो तिम्माले रुँदै बोलाए जस्तो लाग्छ। सपनामा पनि तेरो दाजै ढाकेले तान्दै ओरालोतिर लान्छ।’

त्यसपछि उनले अनुहार उज्यालो पार्दै भने,‘यो फुलपातीमा तिमरको राँगा काट्ने कुरा सुनेको थें?’

‘अँ तिप्पा, चाकर पर्‍याउनै मुस्किल भो।’

‘कलेजो राख्दिनु है एक बिसौली, धीतपुग्ने गरी खाएर मर्छु।’

‘हुन्छ नि तिप्पा, के कति पुग्छ, म आप्पालाई भन्छु।’

त्यसपछि म वस्तु लघारेर बर्खेतिर आएँ। बुढा लौरोको सहाराले बिस्तारै चिप्लेकिरा जस्तो घामतिर सर्दै थिए।

फूलपाती आउन नौ दिन बाँकी अगाडि रिठ्ठाबोटे धामी सारो भए। आँगनमा गाउँभरिका मान्छको बजार लाग्यो। भिडले सम्झाउँदै थियो, ‘कठै हाम्रो धामीदेउता, यो दुःखी ठाङ्मा तपाईले हाम्रो संसार सेवा गर्नुभो। अझै गर्नुपर्छ।  अझै धेरै पो बाँचिखानुपर्छ है। तपाईँलाई क्यै हुँदैना। बल गर्नुस्। सबैको मुखबाट पुकाराका शब्दवृिष्ट भए पनि कसैको आँखामा आँसुको अवशेषसम्म थिएन।

धामीको स्वास्थ्यस्थिति पलप्रतिपल बिग्रदै जानथाल्यो। वाक्य रहेको उनको पहेंलिंदो आँखामा हेरेर कोही भन्दै थिए,‘हाम्रो लागि तपाईं देउता हो। देउतासँग शक्ति हुन्छ। तपाई ता आबो आफ्नै शक्तिले उठ्नुपो पर्छ त। लौ केमा घिट्घिटो रह्यो यसोरी? कसको मायामोहमा अल्मलिनुभो नराम्ररी? फर्किनुस्-फर्किनुस्, तपाईको छोरा नभएर के भो, छोरा समानकै छोरीहरू छ, नातिनातिना छ, नातानाला र हामी आफन्ती छुङ्, मुख खोल्नुहोस्।’

फ्याङलो सुकुलमा अचेत लडिरहेका धामीको शरीर चिसिंदै गएका थिए। डुब्न लाग्दाको घाम जस्तो आँखाको नानी दायाँबायाँ चल्मलाउँदा अनुमान लगाउन सकिन्थ्यो कि उनले गहार मागिरहेछन् सबैसँग। रुँदै भनिरहेछ उनको आत्माले, ‘म जानु लागें। मलाई बिदा देऊ। म आबो फर्किन्दिना। मेरो शरीरलाई चोखो ठाङ्मा राखिदेऊ। राम्रोसँग मेरो काजकिरिया गरेर मलाई कुलमा पठाऊ।’  

टोलाइरहेको उनको आँखा एकचोटि चारैतिर घुमेर बन्द भयो।

लगभग दुई घन्टापछि-

घरदेखि अलिक तल हनमपासीको फेदमा रिठ्ठाबोटे धामीको लासलाई संस्कारेर फर्कने क्रममा कोही भन्दै थिए, ‘पापी रैछ बुढा, दशैंकै मखमा मर्‍यो।’

दश वर्षपछि आज-

समयले जवान बनाएको म गाउँमै छु। गाउँमा हनमपासिको फेदमा रिठ्ठाबाटे धामीको चिहान अहिले पहिरोले आधा तानेको अवस्थामा छ। घाम पहेंलिएपछि गाउँलेहरू त्यहाँ जान डराउँछन्।

उनीहरू भन्छन्, ‘रिठ्ठाबाटे काँचो वायु भएको छ। उसको चिहानछेउ जानै हुँदैन। छ्यास्छ्यास्ती लाग्छ।’

यहींनेर मेरो दृढ प्रश्न छ-‘बाँचुञ्जेलको धामीदेउता मृत्युपछि कसरी वायु हुनसक्छ? के यसको पुष्टि कसैले गर्न सक्छ? कुनै वैज्ञानिक आधार नभएको गाउँलेको यो तर्कप्रति मेरो घोर असहमति छ। हो, दुःख सिरानी लाएर जन्मिएका रिठ्ठाबोटे धामी दुःखै सिरानी लाएर बिते। उनी कुनै वायुसायु होइन, माटो भएका छन्, प्रकृति-पित्री भएका छन्।’

प्रकाशित: ९ भाद्र २०७९ ०७:५४ बिहीबार

अक्षर