कला

घर

लघुकथा

रञ्जुश्री पराजुली

ऊ यस्तो सोच्थ्यो, ‘काठमाडौँमा एउटा घर जोड्न नस्क्नेले के मै हुँ भनेर फुर्ती गर्नु। जे जस्तो काम गरेर भए पनि एउटा घर जोड्नुपर्छ। त्यति गर्न नसक्नेले के नाक ठाडो पार्नु।’

चार वर्ष अगाडि मात्र गाउँबाट राजधानी  झरेको हर्खेको फुर्ती चर्को थियो। हुन पनि हो दुई वर्षमा उसले काठमाडौँमा आधा रोपनी जग्गामा तीनतले घर ठड्याइसकेको थियो। अरू दुई ठाउँमा चार-चार आना जग्गा पनि जोरेको थियो। मालिकको नगरकोटको एक ठाउँमा चालीस रोपनी, रानी वनमा पन्ध्र रोपनी जग्गा किन्दा दलाली गरेबापत त्यो जोरेको थियो। त्यसैले आफूलाई पक्का व्यापारीको दर्जामा राखेको थियो।

उसको मालिक चानचुने नेता थिएन। पार्टीको माथिल्लो तहको ठूलो मालिक थियो। मालिकका सन्तान दरसन्तान सबै कुनै न कुनै अफिसको माथिल्लो दर्जाको हाकिम थिए। ऊ भ्याईनभ्याई ती सबैको जे जस्तो काम पनि गरिदिन्थ्यो। मनमनमा ऊ आफूलाई ती नेताको चम्चा भन्थ्यो। 

कहिलेकाहीं कोठामा थकित भएर पसारिएको बेला ‘चम्चाले पहिले आफू खन्छ अनि मात्र त्यो जुठो चम्चाले मालिक खान्छ। त्यसैले पहिले त मेरो पो पेट भरिनुपर्‍यो’ भन्ने सोच्थ्यो अनि अब कता हात हालेर  गुलियो चाटौ’ भनेर विचार गर्थ्यो।

ठुलाठालु भनी कहलाइएकाहरू पनि शहर पस्दा ऊ जस्तै अवस्थाका रित्तो खल्ती आएका  थिए रे। राजनीतिमा लागेपछि तर चाटन पाएका रे अनि आफू मात्र नभै नातागोता सबैलाई तर चाट्ने कलामा दक्ष बनाएका रे।

यस्तै सोचेर उसले आफ्ना पनि भाइ, बैनी,जुवाइँ आदिलाई लेराएर तर चाट्ने कलामा दक्ष बनायो। चाहे तीन आना होस्, चाहे चार आनामा होस् सबैले सिमेन्टीको पक्की घर जोरेका थिए। साँघुरो बाटो भएर के भो अनि फोहोर फाल्न त ढोका बाहिर भैहाल्छ नि कुकुर पालेर सभ्य बन्नु परिहाल्यो। कुकुरलाई आची गराउन घर बाहिर ठाउँ छदै छ भन्ने सोच उनीहरूको थियो।

काठमाडौँ घरै घरको बस्ती बनेको छ। धारामा पानी नआए जुलुस, हिलो भए जुलुस, मोटरले छोए जुलुस,पेट्रोल र ग्याँस आदि नभए जुलुस। यस्तो बाँच्न सजिलो राजधानीमा सबैले एउटा आघुनिक घर बनाउन त परिहाल्यो  नि। त्यसैले उसका सबै परिवार नातागोता यहाँ आएर पक्की  घर बनाएर बसेका छन्।

प्रकाशित: ९ भाद्र २०७९ ०५:४८ बिहीबार

अक्षर